काठमाडौँ, २० बैशाख – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे आज पनि ठोस सहमति जुटाउन सकेका छैनन् । आज करिब एक घण्टा ‘वान टु वान’ वार्ता गरेको ओली-दाहालले ‘फाइनल टच’ दिन नसकेका हुन् ।
यसअघि वान टु वान वार्ता तीन घण्टासम्म हुने गरेपनि आज भने एक घण्टा मात्र भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच करिब एक घण्टा भएको छलफल सकारात्मक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपी, कुनै ठोस सहमती भने भएको छैन ।दुई नेताबीच पार्टी एकता घोषणा मिति लगायतका विषयमा केन्द्रित रहेर आज निर्णायक वार्ता हुने भनिएको थियो । हिजो मात्रै माओवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले आज ‘फाइनल’ कुरा हुने बताएका थिए । पार्टी एकताका विषयमा धेरै कुरा मिलिसकेको र नमिलेका कुरा आज मिल्ने बताएका थिए ।
केही दिनअघि प्रचण्डले आउँदो शनिबार पार्टी एकताको मिति घोषणा हुने बताएका थिए । त्यसअघि शनिबार (२२ गते) नै एकता हुने चर्चा पनि चलेको थियो । बैशाख ९ गते राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा प्रचण्डले घोषणा गरेको दिन ‘ड्याम्मै’ पार्टी एकता हुने बताएका थिए । यसबीचमा मे दिवसमा पार्टी एकता गर्ने प्रयास गरेपनि हुन सकेन । अब मार्क्स जयन्तीको दिन (२२ गते) पनि एकता हुने संभावना टरेको स्रोतले जनाएको छ । यही वैशाख ९ गते हुने भनिएको एकता धकेलिएयता ओली र प्रचण्डबीच पाँचपटक निरन्तर छलफल भइसकेको छ । दुई दलबीच एकीकृत पार्टीमा हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी छ । यी विषय नटुगिंदा एकता प्रक्रिया लम्बिदै गएको छ । गएको असोज १७ गते एमाले–माओवादीले चुनावी गठबन्धन गर्दै एकता गर्ने घोषणा गरेका थिए ।