सुन्दर कुमार थकाली
जोमसोम, २० बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको पुर्व तैयारीको क्रममा नेपाल स्थित भारतीय दुतावासका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र नयाँ दिल्लीबाट नेपाल आएका भारतीय अधिकारीको एक टोलीले बुधवार मुक्तिनाथक्षेत्रको नीरिक्षण गरेका छन । भारतीय वायुसेवा निगम र नेपाल आर्मीको २ वटा हेलिकप्टरमा बिहान ९ बजे टोली मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेको हो ।
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको सन्दर्भमा पुर्व तैयारी गर्ने र सुरक्षा प्रबन्धको चाँजोपाजो मिलाउने उद्देश्यले टोली मुस्ताङको मुक्तिनाथ पुगेको हो । सो अवसरमा भारतीय अधिकारीको टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, प्रहरी नायव उपरिक्षक रामहरी पाण्डे, जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङ, नेपाली सेनाका मेजर अरुण कार्की, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ, उपाध्यक्ष ढिकी गुरुङ आदिले टोलीलाई मुक्तिनाथमा स्वागत गरेका थिए ।
मोदी भ्रमणको पुर्व तयारी तथा मुक्तिनाथको नीरिक्षण भ्रमणमा खटिएको टोलीमा नेपाल स्थित भारतीय कार्यवाहक राजदुत अजय कुमार, दुतावासका सेकेन्ड सेक्रेटरी प्रनम गणेश, आई एसपिजी एसवन्त जलेवा, परराष्ट्र मन्त्रालयका चिफ प्रोटेकल दिपक अधिकारी सहित १२ जना प्रतिनिधि टोली मुक्तिनाथ पुगेको हो । टोलीमा भारतिय राजदुतावासका वरिष्ठ डक्टर डा.जयकुमार ठाकुर र बिर अस्पतालका वरिष्ठ डा. भुपेन्द्र वस्नेत सहभागी छन् ।
मुक्तिनाथ मन्दिरको अतिविशिष्ट कक्षमा प्रजिअ शिशिर पोडेलको उपस्थितीमा ३ वटै सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधि र नीरिक्षणमा आएका टोलीबीच आसन्न मोदी भ्रमणको सुरक्षा अवस्थाबारे छलफल भएको छ । सो अवसरमा प्रहरी नायव उपरिक्षक रामहरी पाण्डे तथा प्रजिअ पौडेलले जिल्लाको शान्ति सुरक्षाको अवस्था र मोदी भ्रमणलाई सफल बनाउन सुरक्षा रणनितीबारे टोलीलाई जानकारी गराए । प्रधामन्त्री नरेन्द्र मोदीको भ्रमण शिलशिलामा सुरक्षालाई प्रभावकारी तुल्याउन मुक्तिनाथको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा शसस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जानकारी गराईएको छ ।
त्यस्तै टोलीले मोदी सरकारको मुक्तिनाथ दर्शनको व्यवस्थापनबारे मन्दिरका पुजारी कृष्णप्रसाद सुबेदीसंग जानकारी लिएको छ । पुजारी सम्मिलित छलफलमा प्रधानमन्त्री मोदीले मुक्तिनाथमा २५ मिनेट दर्शन गर्ने जनाईएको छ । भ्रमण टोलीले केही समय बिताएर फर्कने कार्यक्रम रहेको छ । मुक्तिनाथमा मोदीले मन्दिर साक्षात दर्शन गर्ने व्यवस्था गरिने छ ।
३८ सय मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिरमा हाईअल्टिच्युटको संम्भावना रहेकाले मेडिकल टिम चुस्त राख्न नीरिक्षण टोलीका डा. जयकुमार ठाकुर र भुपेन्द्र वस्नेतले सुझाव दिएका छन् । उनीहरुले भ्रमण टोलीका सदस्यलाई स्वास्थ्य समस्या हुन सक्ने जनाउदै अक्सिजन तथा मेडिकल टिमनै राखिनुपर्ने वताए । सरकारले मोदी भ्रमणको पुर्व तैयारी गरिरहेका बेला मुक्तिनाथ मन्दिरको तत्काल गर्न सकिने सुधार तथा व्यवस्थापनका बारेमा छलफल भएको छ । प्रजिअ पौडेलले बुधवार नै मुक्तिनाथ मन्दिरको आवश्यक भौतिक सुधारका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
मोदी भ्रमणका बेला ३ वटा ठुला हेलिक्पटर अवतरण गर्नुपर्ने भएकाले थप हेलिप्याड निमार्ण गर्न स्थानीयतहलाई निर्देशन दिएका छन् । त्यस्तै, मोदी भ्रमणका लागि मन्दिर गेट बाहिर स्वागत गेट, दिप प्रज्वलन आदिको व्यवस्था गरिने प्रजिअ शिशिर पौडेलले जानकारी दिए । मोदी भ्रमणबारे नागरिक स्तरमा समेत छलफल भएको छ ।छलफलमा जोमसोम नागरिक उड्यन कार्यालयका प्रतिनिधि, कालिगण्डकी करिडोरको कार्यालयका प्रतिनिधि, नीलगिरी बहुउद्देश्य सहकारी संस्था, सुरक्षा निकायका प्रतिनिधिलाई जिम्मेवारी अनुसारको भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् । मोदी भ्रमणको समयमा ३ दिन सडक समय तालिका समेत स्थगित गर्न प्रजिअ पौडेलले निर्देशन दिए ।
मोदीको आसन्न भ्रमणका लागि उच्च सुरक्षा टोली मुक्तिनाथमा
Previous Articleएकताबारे सहमति जुटाउन सकेनन् ओली र प्रचण्डले
Next Article कस्तो छ चार नम्बर प्रदेशको बजेट ?