जिल्लाको सदरमुकाम रहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेला–बेला खानेपानीका कारण चर्चामा आउने गरेको छ । कहिले खानेपानीमा भएको आपुर्ति बन्दको कारण त कहिले नयाँ योजनाहरु सार्वजनिक गरेर चर्चामा आउने गरेको संस्था यतिबेला खानेपानीमा मिसिएको भल बाढीका कारण चर्चामा आएको छ । नगरपालिकाको बजार क्षेत्रमा बितरण गरीएको खानेपानीमा भल बाढी मिसिएका कारण एक दिन बर्षा हुँदा खानेपानी तिन दिनसम्म फोहोर मैलासहित आउने गरेको चर्चा बजारमा चलिरहेको छ । खानेपानी तथा सरसफाई संस्थाले केही दिन अगाडि मात्रै सार्वजनिक गरेको काठेखोलाको पानी लिफ्टिङ सिस्टमबाट तानेर नगरबासीलाई सहज खानेपानीको प्रत्याभुत गर्ने योजना सार्वजनिक गरेको दुई साता पनि बित्न नपाउँदै बजारबासीले उपभोग गर्दै आएको पानीमा बर्षाको पानीका कारण मिसीएको ढलले नगर खानेपानीको कामप्रति शंका उव्जाएको हो ।
बेला–बेलामा पानीको शुद्धिकरणको लागि भन्दै प्रबिधियुक्त सामानहरुको जडान तथा परिक्षण समेत गर्ने गरेको संस्थाले खानेपानीको संकलन ट्याङकीमा जडान गर्नुपर्ने शुद्धिकरण प्रबिधि नगरेका कारण एकातर्फ पानीको शुद्धतामा समस्या छभने अर्कोतर्फ पानीको स्रोत तथा मुहानको उचित व्यवस्थापन नभएका कारण पनि सामान्य बर्षातको समयमा समेत भल बाढीको पानी सिधै नगरको खानेपानीमा मिसिने गरेको छ । एक दिनको बर्षाका कारण मिसिएको बाढीको पानीले तिन दिनसम्म प्रदुषित र धमिलो बनाएको पानी आम उपभोक्ताले कसरी प्रयोग गर्ने ? यो नगर खानेपानी तथा सरसफाई संस्थाको लागि गहिरो प्रश्न हो । धमिलो, फोहोर मिसीएको वा शुद्ध जस्तोसुकै पानी धारामा आएपनि आखिर नगरबासीले मिटरमा उठेको बिलका आधारमा सेवा शुल्क भुक्तानी गर्नुपर्ने बाध्यता कायम छ । अर्कोतर्फ दिनमा कठिनले दुई घण्टा धारामा आउने पानी अशुद्ध र प्रयोग गर्न नसकिने अवस्थामा आयो भने आम उपभोक्ताले कुन पानीको प्रयोग गर्ने ? खानेपानी मानव जीवनको अत्यावश्यक छ । खानेपानी जस्तो अत्यावश्क बस्तुको आपुर्तिमा भएका केही सानातिना कमजोरीका कारण आम उपभोक्ताको शुद्ध पानी पिउन पाउने अधिकार कुण्ठित मात्रै भएको हुँदैन सोही पानीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकुलता समेत सिर्जना हुन सक्छ ।
यदि धारामा आएको धमिलो अर्थात् प्रदुषित पानी पिएका कारण कोही पनि उपभोक्ता महामरीको शिकार भयोभने त्यसको जिम्मा कस्ले लिने ? खानेपानीमा भैरहेका कमीकमजोरी एकातर्फ छन् । अर्कोतर्फ लामो समयसम्म पानी खानेपानी संस्थाले लार्पवाही गरिरहँदा चुपचाप बस्ने उपभोक्ता हितका र अधिकारका क्षेत्रमा आवाज उठाउने संस्था तथा सरोकारवाला कहाँ छन् । शुद्ध खानेपानी पाउनु आम नागरिकको अधिकार हो । त्यसमा पनि मिटरमा उठेको बिल भुक्तान गर्ने उपभोक्ताले भुक्तानीको आधारमा पानीको शुद्धता पाउनु पर्छ । संस्थाभित्र रहेका एकाध समस्या एउटा पाटो होला तर आम उपभोक्ताको हितलाई ध्यानमा राखेर खानेपानी उपलव्ध गराउँदै आएको संस्थाले पनि अब आफ्ना कमी कमजोरीलाई सुधार गर्न आवश्यक छ । पानी संकलन ट्याङ्की तथा मुहानलाई बाहिरको बाढीको पानी पस्नबाट रोकेर शुद्ध मुलको पानी पिउन पाउने वातावारण सिर्जना गर्नमा लागौं ।
Previous Articleकिन लगाईन्छ सिन्डिकेट ?
Next Article २०७५ वैशाख १९ गते बुधबारको राशिफल