बागलुङ, १८ बैशाख– जिल्ला सदमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयलाई एक जना पुर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा सञ्चालित बालविकास केन्द्रको सहयोगको लागि भन्दै पुर्वविद्यार्थी निर्देश राजभण्डारीले आर्थिक सहयोग गरेका हुन् । आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा आयोजित एक कार्यक्रमका बीच राजभण्डारीले २५ हजार रुपैयाँ नगद सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यामन्दिरका पुर्वविद्यार्थी समेत रहेका भण्डारीले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाको खाजा, शैक्षिक सामग्री, कक्षाकोठा व्यवस्थापनमा खर्च हुने गरी विद्यालयलाई सहयोग गरेको बताए ।
जन्मदिनको अवसरमा गर्न सकिने थुप्रै खर्चका उपायहरु हुँदा हुँदै पनि आफुले पढेको बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको सहयोगार्थ आफुले जन्मदिन मनाउँदा खर्च हुने रकम विद्यालयलाई सहयोग गरेको बताए । रकम हस्तान्तरणको लागि विद्यायमा आयोजना गरिएको कार्यक्रममा विद्यालय सुधार अभियानका अभियन्ता पुर्वविद्यार्थीद्वय मुकेशचन्द्र राजभण्डारी र सुवास राजभण्डारी, पुर्वविद्यार्थी राजेन्द्र आचार्य, दिपक प्रधान, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।
भवन निर्माण समितीका संयोजक लालचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले गरेका थिए । कार्यक्रममा बोल्दै पुर्ब विद्यार्थीहरुले विद्यालयको शैक्षिक जग बलियो बनाउनका लागि पुर्व विद्यार्थीको सहकार्यमा अभियान थालिने बताएका थिए ।
Previous Articleबागलुङमा सातौं राष्ट्रपति रनिङ शिल्ड जारी
Next Article १८ वैशाख २०७५, ढोरपाटन दैनिक