बागलुङ, १७ बैशाख– हरेक बर्ष प्रदान गरिंदै आइएको नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट म्याग्दीका एक पत्रकार पुरस्कृत भएका छन् । लामो समयदेखि म्याग्दीमा बसेर पत्रकारिता गरेका धु्रबसागर शर्मालाई १५ हजार १ सय ५५ रुपैयाँको उक्त पुरस्कार प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आईतबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेका थिए । जेष्ठता, निरन्तरता र क्रियाशिलताको आधारमा पत्रकारिता गर्दै आएकाहरुलाई यो पुरस्कार प्रदान गर्ने चलन छ । नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले आफ्ना माता नन्दकली र बाबु हरिलाल गौतमको स्मृतिमा २०६६ सालमा पुरस्कार स्थापना गराएका थिए ।
२ लाख रुपैयाँको अक्षयकोषबाट संचालित पुरस्कारको छनौट र व्यवस्थापनको काम नेपाल पत्रकार महासंघ बागलुङ शाखाले गर्दै आएको छ । पहिलो बर्ष महासंघकै पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी उक्त पुरस्कारबाट पुरस्कृत भएका थिए । त्यस्तै क्रमशः म्याग्दीका घनश्याम खड्का, पर्वतमा दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, बागलुङका ज्ञानेन्द्र गौतम तथा कोपिला कँडेल यसअघि पुरस्कृत भैसकेका छन् ।
हिमालय टाईम्सहुँदै रासससम्म समाचार संप्रेषण गरेका शर्मा अहिले पनि क्रियाशिल छन् । पुरस्कार बितरण समारोहमा संरक्षक गौतमले पुरस्कारलाई प्रदेश तहसम्म पु¥याउने उद्घोष गरेका थिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षता सचिव राम थापा अविरलको संचालन र कोषाध्यक्ष बिजय रानाको स्वागतमा सम्पन्न कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, सांसदहरु डा. सूर्य पाठक र सावित्रा राना, पुरस्कारका संरक्षक हरिनारायण गौतम, छनौट समितिका सदस्य राजेशचन्द्र राजभण्डारी लगायतले बोलेका थिए ।
नन्दहरि सिर्जनशिल पुरस्कार म्याग्दीका पत्रकार शर्मालाई
Previous Articleस्थलगत वन व्यवस्थापन कार्यक्रम
Next Article चन्दाबाट दश किमी सडक निर्माण