बागलुङ, १४ बैशाख– संघियतामा गएपछि अन्यौल भएका बिकास निर्माणलाई तीव्रता दिनका लागि जिल्ला समन्वय समितिले अगुवाई थालेको छ । समितिले जिल्लाबाट प्रतिनिधित्व गरेका सांसद र सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख समेतको सामुहिक अन्तरक्रिया राखेर यो अभियानलाई सार्वजनिक गरेको हो । ‘पूर्वाधार एवं समग्र बिकासका सम्बन्धमा सबै तह र तप्काबाट गर्न सकिने बिषयमा छलफल गरेर दिर्घकालिन योजना बनाउन पहल गर्दैछौं’ समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने,‘यो अभियानले ५ बर्षपछि जिल्लाको उचाई कता पु¥याउने भन्नेमा हामी एक हुन सक्नेछौं ।’ प्रारम्भिक रुपमा बिकासका लागि केही सूचकहरु सहित क्षेत्र पहिचान गराएर प्रस्तुत गरिएको उनले बताए ।
सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई र पर्यटन लगायतका क्षेत्रमा संभावित योजना तथा अगाडि बढेका केही योजनालाई समेत दिर्घकालिन रुपमा संचालन गर्न सकिने गरी छलफल अगाडि बढाइएको ढुंगानाले जानकारी दिए । उक्त अवसरमा संघिय सांसदहरु देवेन्द्र पौडेल, सूर्य पाठक र मनकुमारी केसी तथा प्रदेश सांसद कोपिला बोहोराले बोलेका थिए । कार्यक्रममा पौडेलले बिकासमा एकरुपता ल्याउन केन्द्र देखि वडा तहसम्मको छलफल र सहकार्यलाई अगाडि बढाएको बताए । कार्यक्रममा पाठकले प्रदेश र स्थानीय तहमा अधिकार धेरै आईसकेकोले नीतिगत रुपमा प्रष्ट बनाउने काममा सांसदले बढी अगुवाई गर्ने र कामै गर्ने सन्दर्भमा स्थानीय तहकै भूमिका बढी हुने बताए ।
सरकारले राष्ट्रिय गौरवका आयोजना, केन्द्रीय आयोजना तथा क्षेत्रीय योजनाको बिभाजन गरिदिएको छ । साथै ती योजनामा कसले कति लगानी गर्ने वा प्राथमिकता दिने भन्ने समेत खुलाइएकोले सोही अनुसारकै माग ल्याउन सांसदहरुले स्थानीय तहलाई आग्रह पनि गरेका थिए । ‘आफ्नो अधिकारमै रमाउन सकियो भने बिकासले गति लिनेछ’ पाठकले भने, ‘हामीले गर्न सकिने र बोल्ने ठाउँ बाँकी राख्दैनौं ।’ दुइ जिल्ला जोड्ने सडक तथा जलविद्युत आयोजना लगायतमा सांसदले पहल गर्ने बताए । जिल्ला समन्वय समितिले लामो छलफल र अध्ययन पछि सडक, विद्युत, पुल, पर्यटन, शिक्षा, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य र उद्योग तथा व्यपार वृद्धिका लागि ८५ वटा सूचक बनाएपछि प्रमुख राजेन्द्र ढुंगानाले प्रस्तुतीकरण गरेका थिए । ती योजनालाई केन्द्र र प्रदेश तहबाट सम्बोधन भएमा समृद्द बागलुङका लागि ठूलो फड्को मार्न सकिने पनि बताए ।
साथै उनले स्थानीय तहबाट गर्न सकिने सबै काम र अनुगमनको कामलाई प्रभावकारी बनाउन अगुवाई गर्ने प्रतिवद्धता पनि जनाएका थिए । उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगर पालिकाका प्रमुख ईन्द्रराज पौडेल, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रे र ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले नगरको वृहत योजना बनाएर काम गर्न लागेको र केन्द्रबाट सम्बोधन हुनुपर्ने केही योजनामा सांसद मार्फत अगाडि बढाएको बताए । त्यस्तै काठेखोला गापाका प्रमुख अमर थापा, ताराखोला गाउँपालिका प्रमुख प्रकाश घर्ती मगर, बडिगाढ गाउँपालिका प्रमुख मेयरसिंह पाईजा, बरेङ गापाका प्रमुख कृष्णप्रसाद शर्मा, तमानखोला गापाका प्रमुख जोकलाल बुढा र निसीखोला गापाका प्रमुख तारानाथ पौडेलले गाउँपालिकाहरुमा सिमित साधन र श्रोतबाट धेरै काम गर्नुपर्दा पूर्वाधारमा अगाडि बढ्न कठिन भएको गुनासो समेत राखेका थिए । उनीहरुले भौगोलिक कठिनाईले बिकासमा परेको बाधा बारे पनि प्रष्ट पारेका थिए । उक्त अवसरमा दिगो बिकासका लागि सबै गाउँ र नगरपालिकाले पर्यटन गुरुयोजना निर्माण गर्न काम थाल्नेगरी छलफल भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, उपाध्यक्ष बिष्णुप्रसाद भुषालको स्वागत र बरिष्ठ सामाजिक विकास अधिकृत भेषराज शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleफोटो पत्रकारिता दिवशमा प्रभातफेरी
Next Article १४ वैशाख २०७५, ढोरपाटन दैनिक