बागलुङ, १३ बैशाख–प्रतिनिधि सभाका सदस्य डा. सूर्य पाठकले बागलुङको दक्षिणको विकासको लागि सडकलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । जैमिनी नगरपालिकालाई पुर्ण खोपयुक्त नगरपालिका घोषणा गर्न आयोजना गरिएको समारोहलाई बुधबार कुश्मीशेरामा सम्बोधन गदै पाठकले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पाठकले जिल्लाको सदरमुकामदेखि जैमिनी नगरको केन्द्र कुश्मीशेरा बजारहुँदै शान्तिपुर सडकखण्ड र कुश्मीशेराको जैमिनीधामदेखी दमेकमा रहेको पर्यटकीय क्षेत्र गाजाको दहसम्मको सडकलाई स्तरोन्नती गर्न मन्त्रालय स्तरमा पहल भैरहेको बताए ।
जिल्ला सदरमुकामदेखि भौगोलिक दुरीका हिसाबले निकै टाढा रहेका स्थानिय तह समेत सुगम भैसकेको अवश्थामा जैमिनी नगरपालिका दुर्गम रहेको भन्दै पाठकले पुर्व शासकहरुका कारण जैमिनीको विकास हुन नसकेको बताए । पुर्वशासकहरु स्वार्थको राजनीती गर्दा जैमिनीको विकासमा ध्यान दिन नसकेको भन्दै पाठकले अब त्यो बाटो तोडेर अगाडि बढ्ने बताए । स्वास्थ्य क्षेत्रमा जैमिनीको आशाको केन्द्रको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चौध बर्षदेखि दरबन्दीमा रहेका स्टार्फ नर्स सम्पर्कबिहिन भएको प्रति लक्षित गर्दै पाठकले दरबन्दीमा रहेर काममा नआउने कर्मचारीलाई कानुन अनुसारको कार्वाही गर्न मन्त्रालय स्तरमा छलफल भैरहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा १ को ‘ख’ का सदस्य कृष्ण थापाले प्रदेश सभाको कार्ययोजनामा रहेको पुर्ण खोप कार्यक्रमलाई सार्थक बनाउन सहयोग गरेको भन्दै जैमिनी नगरपालिकालाई धन्यबाद ज्ञापन गरे ।
खोपको नाममा विकसित मुलुकहरुले परिक्षण गरिरहेको चर्चा आम सर्वसाधारणमा चल्ने गरेको भन्दै थापाले यसतर्फ सरोकारवाला सचेत बनेर सरकारको कार्यक्रमलाई सघाउनु पर्नेमा जोड दिए । जैमिनी नगरभित्रका १५ देखि २३ महिना उमेर समुहका ४ सय ५० जना बालबालिकाले सबैखाले खोपको मात्रा पुरा गरेपछि बुधबार जैमिनी नगरपालिकालाई पुर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नेपाल सरकारको कार्यक्रम अन्र्तगत सबै प्रक्रिया पुरा गरेर नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराका प्रमुख डा. बिजय शर्माले बताए । नगरभित्रका वडाहरुलाई पहिलो चरणमा वडास्तरमा पुर्ण खोपयुक्त घोषणा गरेको नगरपालिकाले बुधबार वडा नं १ कुश्मीशेरासहित नगरलाई पुर्ण खोपयुक्त घोषणा गरेको हो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका स्रोतव्यक्ति बिरेन्द्र जैसवाल, प्राथमिक स्वास्थय केन्द्र कुश्मीशेराका डा. अर्जुन पौडेल, नेपाली कांग्रेस जैमिनी नगर संयोजक काँसीराम आचार्य, नगर कार्यपालिका सदस्य डिलकुमारी श्रीष, शान्ति माध्यमिक बिद्यायका प्रद्यानाध्यापक यमबहादुर जिसी लगायतले बोलेका थिए ।
आठ वटा स्वास्थय चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको जैमिनी नगरपालिकाले सबै वडाका महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई पुर्ण खोपयुक्त घोषणा गर्न महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरेको थियो । बुधबारकै घोषणा कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका सबै कर्मचारीलाई सम्मान गरिएको थियो । जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलको अध्यक्षता, वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको स्वागत र प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट गोविन्द आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न साँस्कृतिक समुहले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
जैमिनी नगरपालिका पुर्ण खोपयुक्त घोषणा
Previous Articleसहकारी अभिलेख हस्तान्तरण गरियो
Next Article १३ वैशाख २०७५, ढोरपाटन दैनिक