बागलुङ, १३ बैशाख– चैत २५ गतेबाट संचालन गरिने भनिए पनि वर्षाका कारण स्थगित भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख १७ गतेदेखि संचालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको मंगलबार बसेको बैठकले प्रतियोगिता बैशाख १७ देखि १९ गतेसम्म संचालन गर्ने निर्णय गरेको समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि यसअघि नै बिभिन्न उप–समिती समेत गठन भैसकेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष परियारले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका १ सय ४ सामुदायिक बिद्यालय र २८ संस्थागत बिद्यालयलाई सहभागिताको लागि पत्राचार गरिएको र नामदर्ता गराउन बाँकी रहेका विद्यालयहरुले पुनः नाम दर्ता गराउन सक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउनका लागि आर्थिक, खेल मैदान, रेफ्री, अतिथी सत्कार, स्वयमसेवक, प्राथमिक स्वास्थय उपचार, भलिबल, कब्बडी लगायतका बिभिन्न उप–समितीहरु गठन गरीएको अध्यक्ष परियारले बताए ।
प्रतियोगिता संचालन गर्न ११ लाख ५१ हजार १ सय १० रुपैयाँ खर्च हुने समितिले आँकलन गरेको छ । गत बर्षसम्म कक्षा १० सम्मका बिद्यार्थी मात्रै सहभागी हुन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखी कक्षा १२ सम्मका १८ बर्ष उमेर नपुगेका बिद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको समितीले जनाएको छ ।