बागलुङ, वैशाख १२ -जिल्लाको ताराखोलामा रहेको नेपाल माध्यामिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिवश खत्रीले दुई जना अनाथ बालकको अभिभावकत्व ग्रहण गरेका छन् । खत्रीले ताराखोला–४ बिसौनाका दुई बालकलाई विद्यालयमा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन् । ८ बर्ष पहिला बाबुु भारत भासिएर नफर्केपछि आमा समेत अर्कैसँग हिँडेपछि बेसहारा बनेका बिसौनाका विवेक विक र विनोद विकलाई विद्यालयमा भर्ना गर्दै खत्रीले अभिभावकत्व ग्रहण गरेको बिद्यालयले जनाएको छ । विवेकलाई पुर्ण छात्रा बृत्तिमा पठनपाठन गराउने र विनोदको एक बर्षको सबै खर्च व्यक्तिगत रुपमा व्यहोर्ने गरी आफुले अनाथ बालकलाई विद्यालय भर्ना गरेको खत्रीले बताए । बाबुआमाले छोडर हिँडेपछि बेसहारा बनेका बालकहरु बिद्यालय छोड्ने मनसायमा पुगेका थिए ।
विद्यार्थी नेता समेत रहेका खत्रीले सबै खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेकाले उनीहरु नियमित विद्यालय आउने आशा गरिएको विद्यालयका शिक्षक विवेक परियारले जानकारी दिए । बाबु आमाले छोडेका कारण बेसहारा बनेका बालकहरु हाल आफन्तको घरमा शरण लिएर बस्दै आएका छन् । अनाथ बालकहरुको अभिभावकत्व ग्रहण गर्दै खत्रीले एक बर्षसम्म तत्कालिन समस्या समाधानको लागि सबै खर्च व्यहोर्ने र त्यसपछि पारिवारिक आफन्तको शरणमा रहेका उनीहरुलाई परिवारिक रुपमा बलियो बनाउन पहल गरिने बताए । ‘हामी सामाजिक कार्यकर्ताले अनाथ र असहायको रेखदेख गर्नुपर्छ’ खत्रीले भने– ‘हरेक सचेत नागरिकले एक÷एक जना अनाथ तथा बिपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने होभने देशभरका सबै बालबालिकाले पढ्ने वातावरण पाउँछन् ।’ सामाजिक काम र विद्यार्थीको राजनीति गर्दा अनाथ र बिपन्नको सहयोग गर्न सिकेको भन्दै खत्रीले अनाथ बालकलाई कुनैपनि हालतमा शिक्षाको अवसरबाट बञ्चित हुन नदिने बताए ।
Previous Articleराष्ट्रपति रनिङ शिल्ड बैशाख १७ देखि हुने
Next Article १२ वैशाख २०७५, ढोरपाटन दैनिक