शिवशरण ज्ञवाली
नवमै वर्ष मकै नै छर्न बारी हो जोतेको
आउँछौं भने आऊ है साथी स्वागत छ रोपेको !
प्राध्यापक संघको क्लान्डेरमा अरु त त्यस्तै हो नववर्ष र दशैंतिहारका पूर्वसन्ध्यामा गरिने शुभकामना कार्यक्रमहरुले सधै आफ्नो स्थान सुरक्षित गरेका हुन्छन् । यसपालि पनि त्यस्तै कार्यक्रम आयोजित थियो, २०७५ को पूर्वसन्ध्यामा । मैले यसपालि शुभकामना आदानप्रदान कार्यक्रममा झ्याउरे लयमा तयार गरेको आफ्नै गीत सुनाउने जर्मेको गरेको थिएँ । यो गीत बी.ए., बी.एड. स्नातक दोस्रो वर्षका विद्यार्थीहरुलाई कविता काव्य पढाएको परिणाम थियो । त्यसकारण गीत पनि सोही तहका विद्यार्थीहरुप्रति नै समर्पित गरेको थिएँ । बिडम्बना ! कार्यक्रममा सुनाउन खोज्दा गीतले लय नै समात्न सकेन । लय नसमातेको गीतबाट संगीत निस्कने कुरै भएन । धेरै ठाउँ लय बिग्रिएकाले गीतले पनि लय नसमातेको पो हो कि ? अन्ततः एउटा असफल गायनले मलाई नै लज्जित पारेर गयो । त्यही गीतका दुई पंक्ति हुन्, यी ।
‘भुँइमान्छे’हरुलाई पनि निम्ताहरु आइरहन्छन्, विविध कार्यक्रमका । कहिले दशैंका अवसरमा त कहिले नववर्षका अवसरमा । अझ जलपान समेतका निम्ता आउँदा मन त्यसै त्ससै फुरुङ्ग हुन्छ र घुटुक्क थुक निल्छु, वातावरणको कल्पनामा तरङ्गित हुँदै । यसपालि पनि यस्ता निम्ताहरु हातभरि अटाउने गरी आए । प्रिय मित्रले आयोजित कार्यक्रममा स्वागत मन्तव्य नै राखिदिन आग्रह गरे । म एकोहोरो मान्छे, एउटा बाहेक दुइटा काम नगर्ने । साथीहरु लतारेकै छन्, त्यसकारण शिक्षा र पत्रकारिताबाट मलाई आर्थिक दुनियाँमा जबरजस्ती तानिरहेका छन् । म कताकता तानिएको छु । साथीहरु कार्यसमितिमै छस् भन्छन् म छैन भन्छु । म जान्दिन केही पनि, अर्थतन्त्रको । बोलाउँछन् जान्छु, विरोधाभाषी कुरा राखिदिन्छु, त्यहाँ पनि । त्यहाँ पनि त्यस्तै कुरा गरे । म परिणाम खोज्छु, प्रक्रियामा कम रुचि छ । रुचि नहुँदानहुँदै पनि स्वागत गर्नैपर्ने । गरे । विरोधाभाषी दुई चार शब्द पनि बोले । निकै ठूलो काम गरे जस्तो लाग्यो । ऐना हेर्दा त अनुहारै प्रसन्न ! कारण होला, बोल्न पाइयो नि त । आफ्ना गफ अरुलाई सुनाउन पाइयो नि त भनेर होला, अनुहारमा खुशी आएको । दंग हुन्छु, अन्तिममा बजेका तालीहरु सुनेर । ताली बजाउन अभ्यस्त भइसकेका छन्, दर्शकदीर्घामा बस्नेहरु भन्ने नै बिर्सिन्छु ।
जाने नजाने निर्णयका बीचमा अन्य कार्यक्रममा भने नजाने निष्कर्षमा पुगें । ‘भुँइमान्छे’हरु कार्यक्रममा जानुको अर्थ हो, अरुको शोभा बनिदिनु । त्यस्तो शोभा बन्दाबन्दा म थाकिसकेको थिएँ । जलपानको कल्पना मात्रै गर्दा पनि मुख मिठो हुन्छ तर जलपानको माध्यमले अरुको शोभा बनिदिनुपर्दा भने वाक्क लाग्छ । पत्रकारितामा एउटा शब्द छ, ‘वाचडग’ भन्ने । यसैलाई नेपालीमा पहेरदार भनिन्छ । को कसका पहेरेदार ? थाहा छैन खै ? सबै सबैका पहेरदार हुन् कि ! जेहोस् पत्रकारिता सिर्जनाको कर्म हो । विद्वानहरुको कार्यक्षेत्र हो । त्यसकारण भनिएको होला, हतारिएको साहित्य भनेर । पत्रकारिता स्वयं वाचडग रे ! पहिलापहिला कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको रे, आजकल सबैको । हुन पनि पत्रकारिता क्षेत्र अगाडि नै देखिएको छ, आजकल । सुअवसरहरु पार्ने र मानिसहरुले जुटाउने काम यस क्षेत्रले अलिक बढी गर्छ । शायद नारायणीको वेगमा हुत्निुपर्ने यसको दायित्व भएर पो हो कि ?
हालसालै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन ग्रहणको लम्बेतान शृङ्खलाप्रति दिक्दारी व्यक्त गरेको समाचार आउँदा उनले मेरो मनकै कुरा गरेजस्तो लाग्यो । आसन ग्रहण गराइएकाहरु र नगराइनेहरु बीच विभेद हुने हुँदा खिन्नता आउने नेपालको तर्क थियो । ‘हाइप्रोफाइल’का उनले उठाएको विषयले कानुनी रुप पो लिन्छ कि ? हेर्दै जाऊँ न । त्यसो भयो भने म हैसियत नभएको ‘बबुरो’को पनि जय हुने थियो । न मनमा आशा लाग्थ्यो न मनका कुरा गर्ने सँगैको साथीलाई कसैले खोसेर अगाडिको कुर्सीमा विराजमान गराइदिने थियो । यसो विचार गर्छु, औपचारिक कार्यक्रममा गरिने लम्बेतान आसन ग्रहण त नेपाली संस्कार होइन कि जस्तो लाग्छ । पूर्वीय संस्कारले एक जनालाई बाहेक अरुलाई आसन ग्रहण गराएको मैले देख्दिन । यज्ञयज्ञादिमा व्यासलाई बाहेक अरुलाई आसन ग्रहण आज पनि गराइदैन तर आज त अनगिन्ती व्यासहरु विराजमान छन् । जसरी समयमै कार्यक्रम सुरु नगरेर समयको बर्बादी गरिन्छ, त्यसैगरी आसनग्रहणको श्रृङ्खलाले समयको बर्बादीमात्रै होइन, मानिसहरुका बीचको सुमधुरपन र आत्मीयता समेत चैट गराइदिन्छ । अझ के सुनिन्छ भने आसनग्रहणमा पनि रोलक्रम मिल्नुपर्छ रे ! आसनग्रहण गराउँदा यदि रोलक्रम मिलेन अथवा आसनग्रहणनै गराइएन भने त मानिसहरु रिसाएरै कार्यक्रम छाडेर हिड्छन् रे ! कति साँगुरो भएछ कुन्नि नेपाली मन ? नभए नेपालीहरुको दिल त उदार नै मानिन्थ्यो । त्यसै यो उखान कहाँ बने होला र, ‘दायाँ हातले दिएको बाँया हातले थाहा पाउनुहुँदैन ।’ आसन ग्रहणको रोलक्रमको योग्यता भने प्रायशः ‘शक्ति’ बन्ने गरेको छ, हाम्रोमा । तर शक्तिभक्ति भने नेपालीहरुको छाड्नै नसक्ने पुरातन चलन हो । देवीदेवताको भक्ति पनि त्यसैको उदाहरण हो । आज पनि को व्यक्ति कति शक्तिशाली छ भन्ने आधारमा यो क्रम निर्धारण गरिएको हुन्छ । यसबाट आशे मानसिकताको विकास भएको छ । हामी ‘चाकडी चाप्लुसी’तिर बढी लागेका छौँ भन्ने पुष्टि पनि यसबाट हुन्छ । अझ आलभोलि सधै तिहार छ शक्तिमान्हरुका लागि ? कसले कति दुःख गरेर उन्दो ती मालाहरु ? विकल्प के त ? छ नि हाम्रै मौलिक शैलीको विकल्प । जो प्रमुख अतिथि हो, उसैलाई मात्र आसन ग्रहण गराउने । अरुलाई नामोच्चारणका साथ सम्झना गर्ने । त्यसो गरे पुग्छ नि ! न कसैका मनमा विभेदको तुष रोपिने न कसैको रोलक्रम मिलेन भन्ने झन्झट आउने न साथीसँग विछोड हुने ।
हुनतः यो एउटा सहायक कारण हो, नववर्षका कार्यक्रममा सहभागी नहुनको । तर प्रमुख कारण अर्कै छ । सबै क्षेत्रमा श्रमजीविहरुको सम्मान छैन । कुनै कुनै क्षेत्रमा न्युनतम् पारिश्रमिक प्राप्तिका लागि पनि श्रमिकहरु संघर्षशील छन् । अहिले कम्युनिष्टको सरकार छ, सबैतिर । श्रमजीविका बारेमा सबैभन्दा ठूला नारा उनीहरु दिन्छन् । तर कुरैमा मात्र हो कि जस्तो लाग्छ, भाषणमा मात्रै सीमित भएको महसुस हुन्छ । पत्रकारिताका संस्थाहरुबाट निम्ता आएकाले म विषयलाई त्यही सन्दर्भमा उठाउन चाहन्छु । पत्रकारिता सजिलो पेशा होइन, अरु निदाएका बेला त्यहाँका श्रमजीविहरु जाग्नुपर्छ । अरु उठेका बेला सुत्न पाइन्छ भन्ने पनि हुँदैन । श्रमको पनि सीमा हुँदैन । सधै पारिश्रमिक पाइन्छ नि भनेर ढुक्क हुन पनि सकिदैन । नपाइन पनि सक्छ । पेशाको सुरक्षाको ग्यारेन्टी पनि हुँदैन । सम्पादकीय स्वतन्त्रताको लागि संघर्ष भइनै रहन्छ । नियन्त्रण र सन्तुलनमा ख्याल गरिएन भने आपत्ति आइलाग्न बेर लाग्दैन । मोफसलको त अझै कुरै नगरे भो । सम्पादक, भाषा सम्पादक, संवाददाता, लेखक, टाइपिष्ट सबै आफै बन्नु पनि पर्न सक्छ । मेहनत धेरै प्राप्ति थोरै हुन्छ । प्रकाशक र सम्पादकको नाम एउटाको हुन्छ काम अर्कोले गर्छ ।
तर बिडम्बना मित्रहरुले कार्यक्रम आयोजना गर्नुहुन्छ । सुकिलामुकिलाहरु नै आएर पत्रकारिताका बारेमा व्याख्यान दिन्छन् । त्यस्ता व्याख्यान सुन्दा हाँसो पनि लाग्छ, रिस पनि उठ्छ । तिनका व्याख्यान के कति पानीमा छन् भन्ने हेर्नु नपर्ने ? श्रमजीविहरुले सुन्नुपर्ने । के श्रमजीविका कुरा सुनाए हुँदैन ? ठूलाबडाहरुलाई । मन्चमा तिनै ईश्वरले चुमेका श्रमिक हातहरुको सहभागिता गराए हुँदैन ? लेख्ने शैली निर्माण कतिको गाह्रो हुन्छ ? समाचार लेख्दा सुरक्षा के कस्तो छ ? लोभलालच र धम्की आउँछन् कि आउँदैनन् ? श्रम गर्दा गाँस काट्नु परेको छ कि छैन ? समयको बर्बादी भएको छ कि छैन ? विज्ञापन उठाउँदा कत्तिको अप्ठ्यारो छ ? यी र यस्ता सयौं कुराहरुका बारेमा अन्तक्र्रिया गरे हुन्न ? त्यसो गर्ने हो भने शायद काम गर्दाका दुखेसाहरु पोख्न त पाइन्थ्यो । खोइ श्रमजीविहरुको सम्मान ? के उनीहरु भनेका दर्शकदीर्घामा बसेर ठूलाले जे भने पनि सुनिदिनुपर्ने मानिस हुन् ? निशुल्क स्तम्भ लेखिदिनेहरुका अप्ठ्यारा सोध्नु नपर्ने ? यी र यस्ता अनगिन्ती प्रश्नहरु मेरो दिमागमा फन्फनिए पछि जलपानको निम्ता सुन्दा मुख मिठो भए पनि आइन्दा यस्ता कार्यक्रममा म नजाने निष्कर्षमा पुगें । जय श्रमिक !