यस वर्षपनि देशभर बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियान शुरु भएको छ । हरेक वर्ष नयाँ शैक्षिक सत्र शुरु भएसंगै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान शुरु हुन्छ । सिमित समयको लागि संचालन गर्ने यस्ता अभियानको उपलब्धी भने सोचेजस्तो देखिदैन । विद्यालय भर्ना नहुने भनेका अशिक्षा र गरिबीको चपेटाबाट गुज्रिरहेका बालबालिकाहरु हुन् । जुन वर्गको लागि लक्षित गरिने यस्ता अभियान वास्तवमै उनीहरुसम्म पुगेको छ कि छैनन् भनेर गरिएका अध्ययन त्यति सुखद देखिदैन । शहरी क्षेत्रका होटल तथा रेष्टुराँ क्षेत्रमा अझैपनि बालमजदुरको प्रयोग भईरहेको छ । सडक बालबालिकाहरु पनि उत्तिकै मात्रामा बढ्दै गएका छन् । भौतिक संरचना निर्माणसंगै इट्टा भट्टामा अझैपनि बालबालिकाले कडा श्रम गरिरहेका छन् । यी त भए शहरमा देखिने बालबालिकाको दुरावस्थाको दृश्य । जिल्लाका विकट क्षेत्रमा थुप्रै बालबालिकाहरु छन् जसले विद्यालयको मुख समेत देख्न पाएका छैनन् । यसले के पुष्टि गर्छ भने शहरका सुकुम्बासी र ग्रामिण क्षेत्रका विकटमा भर्ना अभियान पुग्न सकेको छैन । लक्षित वर्गमा भर्ना अभियान पुग्दैन भने हरेक वर्ष संचालन गर्नुको कुनै औचित्य छैन ।
विगतमा जिल्ला शिक्षा कार्यालयले भर्ना अभियान संचालन गर्दै आएपनि चुनावसंगै यो अभियान स्थानिय तहमा पुगेको छ । अब केही होला भन्ने आशा गर्न सकिन्छ । तर, परिणाम कस्तो आउँछ भनेर हेर्न बाँकी नै छ । विगतमा बालबालिकालाई विद्यालयमा भर्ना नगरिएको पनि हैन तर टिकाउनै मुश्किल हुँदा धेरैले बीचमा नै पढाई छोड्ने गरेका छन् । परिवारबाट हुने सहयोग, आर्थिक अभावकै कारण बालबालिकालाई विद्यालयमा टिकाउन नसकिने कारणहरु हुन् । एक दिन भर्ना गरेर, पाठ्यपुस्तक र पोशाक दिएर बालबालिकालाई विद्यालयमा टिकाउन सकिदैन । उनीहरुलाई टिकाउनको लागि सरकारी तथा गैरसरकारी निकायले प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्छ । सडकमा हुर्किरहेका बालबालिकाको मानसिकता पठनपाठन एक्कासी रुची जाग्दैन । उनीहरुमा पठन संस्कृतिको विकास गराउनको लागि मनोवैज्ञानिक रुपले सक्षम बनाउनु पर्छ । त्यसतर्फ हामीले ध्यान दियौ किन दिएनौ एकपटक सोचौ त । तामझामका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरिए पनि विद्यालय भर्ना हुने उमेरका कति बालबालिका छन् भन्ने तथ्यांक छैन । सही तथ्यांक बिना बनाईने कार्यक्रम त्यती प्रभावकारी हुँदैन ।
अर्काेतर्फ भर्ना गराइएका बालबालिकालाई विद्यालयमा टिकाइ राख्नु प्रमुख चुनौती रहेको छ । शतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना गराउन तथा भर्ना भएकालाई टिकाइ राख्न शिक्षक, अभिभावक तथा जनप्रतिनिधीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । अब विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन तथा विद्यालय छाड्नेलाई रोक्नका लागि संचालन गरिएको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउनु पर्छ । केपी ओली नेतृत्वको सरकारले सर्वसाधारण समेतले अभिभावकत्व ग्रहण गरेर बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान शुरु गरेको छ । जसको अहिले निकै चर्चा भईरहेको छ । अशिक्षा र गरिबीका कारण अहिले पनि हाम्रै घरछेउका बालबालिकाहरु विद्यालय जानबाट बन्चित बनेका छन् । उनीहरुलाई विद्यालयसम्म पु¥याउने दायित्व पनि आम नागरिकको हो । हामीले गर्ने फजुल खर्चलाई बचाउने होभने पनि गरिबी र परिवारिक वातावरणका कारण विद्यालय जान नसकेका बालबालिकालाई विद्यालयमा पढाउन सकिन्छ । यति गर्न सके सबैभन्दा ठूलो धर्म अरु केही हुँदैन ।
Previous Article२०७५ वैशाख १० गते सोमबारको राशिफल
Next Article अंग्रेजीको रटान कि गुणस्तरिय शिक्षा ?