म्याग्दी, १० बैशाख– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडक संजालको सहज सुविधा नहुँदा ६ नं. वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयबासीलाई सास्ती भएको हो ।
पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हँुदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताइन् । “चुनावमा सिंहदरबार गाउँ–गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिँदा भारत गएजस्तो भएको छ” –पुर्जाले भनिन्, “कार्यालयमा पुग्दा दरबन्दी अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाइका साथै आर्थिक कारोबारका लागि पुनः सदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।” नांगी सडक मर्मतको उपभोक्ता समितिकी पदाधिकारी रहेकी पुर्जाले गाउँपालिकामा पुगेर सेवा लिन र घर फर्कन तीन दिन समय लागेको बताइन् ।
४ सय २० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगे पनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन ।
महभिर र बेनीदेखि पर्वतको जलजला गाउँपालिकाहुँदै राम्चेमा सडक पुगे पनि कच्ची र जीर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन । करीब २० किलोमिटर दूरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जीर्ण र अप्ठ्यारो हुँदा ट्र्याक्टर बाहेकका सवारी साधन चल्दैनन् । “कच्ची अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ”, राम्चेका फसबहादुर गर्बुजाले भने, “गाउँपालिकाको केन्द्रमा पुग्न २० देखि २५ हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।” विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, गाउँपालिकाको सेवा लिन सर्वसाधारणदेखि बैठक, सभा तथा कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले समेत निकै नै सास्ती व्यहोर्नु परेको छ ।
Previous Article९ वैशाख २०७५, ढोरपाटन दैनिक
Next Article २०७५ वैशाख १० गते सोमबारको राशिफल