बागलुङ, ९ बैशाख–चर्चित गायक तथा मोडल प्रकाश सपुतलाई जन्म गाउँ बागलुङमा एक समारोहको आयोजना गरी स्थानियले सम्मान गरेका छन् । जिल्लाको साविक धम्जा गाविस (हाल काठेखोला गाउँपालिका–३) मा जन्मिएका सपुतलाई स्थानीय युवाहरु आवद्ध पशुपति युवा क्लब र आमा समूहले सामुहिक रुपमा सम्मान गरेका हुन् ।
धम्जामा जन्मिएर गाउँको पहिचान र परिचयलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा पु¥याउन सफल भएकाले सिङ्गो गाउँबासीका तर्फबाट सम्मान गरिएको स्थानीय मनोज थापाले बताए । कलाकार सपुतलाई पशुपति क्लबका पूर्व अध्यक्ष युवा नेता हिराबहादुर केसीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । ‘नजिकको तिर्थ हेला भन्छन्, यो गाउँमा जन्मिएर छोटो समयमै फरक फरक प्रकृतिका गित मार्फत देशमै सफल कलाकारको रुपमा सपुतले आँफुलाई स्थापित गर्नुभएको छ,’ थापाले भने, ‘हामीले उहाँको योगदानको कदर स्वरुप सम्मान गरेका हौ, यो सम्मानले गाउँ नविर्सन र थप हौसला लिएर अघि बढ्न प्रेरित गर्नेछ भन्ने हामीले बिश्वास लिएका छौ ।’ सम्मानपछि बोल्दै क्लबका पूर्व अध्यक्ष तथा युवा नेता केसीले बहुमुखी प्रतिभाका धनी कलाकार सपुत गाउँको मात्र नभएर देशकै निधि भएको बताए ।
‘सपुत नयाँ पुराना दुवै पुस्तालाई रुचाउने गित सिर्जना गर्न र गाउन माहिर छन्,’ केसीले थपे, ‘जहिल्यै फरक सोच्ने गर्न सक्ने क्षमता सपुतमा छ, जसबाट देशले आगामी दिनमा अझ बढी सिर्जनशिलता सहितको गित संगित प्राप्त गर्नेछ ।’ गायक सपुतले आफ्नै जन्मगाउँको सम्मानले थप गम्भिर बनाएको प्रतिक्रिया दिए । ‘उच्च शिक्षा अध्ययनका लागि शहर छिरेपछि संर्घषको दिन शुरु भयो, यो सम्मानले फर्निचरमा काम गर्दा देखीका धेरै बिगत सम्झाएको छ,’ उनले भने, ‘यो सम्मानबाट प्राप्त उत्साहबाट म अझ राम्रा सिर्जना ल्याउन प्रयास गर्नेछु ।’ गाउँमै आफ्ना छोरा सम्मानित भएको दृश्यले सपुतका आमा र बुवा मञ्चमै भक्कानिएका थिए । सम्मान कार्यक्रममा स्थानीय सामाजिक अगुवा, ज्येष्ठ नागरिक लगायतले पनि शुभेच्छा र सम्मान व्यक्त गरेका थिए ।