शिकार गरिसकेपछि आरक्षको नियम अनुसार शिकारीले सिङ र छाला मात्र लैजान पाउनेछन्। शिकारका क्रममा पोथीलाई शिकार गर्न पाइँदैन। साथै घेरा हालेर, पानी खाँदै गर्दा, सूर्योदय र सूर्यास्त पछि शिकार गर्न नपाइने जस्ता नियम छ। टेन्डर प्रक्रियाअनुसार शिकार गर्न लाग्ने राजस्व बर्षेनि भिन्नभिन्न हुन सक्ने जानकारी सुवेदीले दिए। यस वर्षका लागि नाउरको शिकारका लागि एक लाख ५९ हजार रुपैयाँ र झारलका लागि एक लाख १५ हजार १ सय ११ रुपैयाँ राजस्व तोकिएको छ।
शिकार पर्यटन
नेपालको एक मात्र शिकार आरक्ष भएका कारण पनि यसको छुट्टै किसिमको पर्यटकीय आकर्षण रहेको नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एशोसिएसन (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल बताउँछन्। यहाँको पर्यटन प्रबर्धनका साथै वास्तविकताको अध्ययन गर्न पर्यटन बोर्डको प्रबर्धन एवम् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा चैतको तेस्रो साता पर्यटन व्यवसायी, सञ्चारकर्मी र जनप्रतिनिधिसहितको टोलीबाट उक्त क्षेत्रको अवलोकन भ्रमण भयो। ‘विकासको लाभ लिनसक्ने गरी स्थानीयवासीको जीवनस्तर उकास्न अपरिहार्य भएको छ’ पोखरेलले भने, ‘यसतर्फ राज्यको ध्यान गम्भीर रुपमा आकृष्ट हुनुपर्छ।’ यहाँ होटल लगायतका पूर्वाधार निर्माणका लागि लगानी गर्ने उचित वातावरण सरकारले बनाइदिनुपर्ने पोखरेलको भनाई छ।
आरक्षको नालीबेली
ढोरपाटन शिकार आरक्ष कार्यालयका क्याप्टेन विक्रम बस्नेतका अनुसार यसको क्षेत्रफल १ हजार ३ सय २५ वर्ग किलोमिटर छ । विसं २०४० (सन् १९८३) मा स्थापित यस आरक्षले २०४४ (सन् १९८७) मा मात्र सरकारी मान्यता प्राप्त गरेको थियो। उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा जस्ता हिमाल रहेको यो आरक्ष समुद्री सतहबाट दुई हजार ८५० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा अवस्थित छ। भदौ महिनाको अन्त्यसम्ममै वर्षात् मौसम रहने यस क्षेत्रमा हिउँदमा अत्यन्त चिसो हुने, खोलामा हिउँ जम्ने र जोडसँग हावा चल्ने स्थानीयवासी जीतबहादुर विक बताउँछन्।
ढोरपाटन शिकार आरक्षमा नाउर रतुवा मृत जस्ता दुर्लभ वन्यजन्तु पाइने आरक्ष कार्यालयका सिनियर गेम स्काउट सुवेदी बताउँछन्। सुवेदीका भनाईमा, पर्यटनको सम्भाव्य ठाउँ भएर पनि यहाँका जनताको हैसियत कमजोर हुनाका साथै भौतिक पूर्वाधारमा पनि कमी छ। हुनपनि पर्यटकलाई लक्ष्य गरी यहाँ होटल निर्माण हुन सकेको छैन। एउटै मात्र सामुदायिक होटलका कारण ठूलो संख्यामा पर्यटक आएमा होटल नपाउने समस्या छ।
सामुदायिक होटलमा हाल ४० शय्या छन्। होटलका सञ्चालक सुरज पौडेलका अनुसार जम्माजम्मी एकसय जना पर्यटकसम्मलाई एक रात बास दिन सकिन्छ। ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लालीगुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पति पाइन्छन्। यस क्षेत्रमा १८५ प्रकारका दुर्लभ वनस्पति पाइन्छन् भने ३२ थरीका स्तनधारी वन्यजन्तु देख्न सकिन्छ। त्यस्तै, १३० प्रजातिका चराचुरुङ्गी, ८५२ नाउर, २०० झारलसहित हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगूर लगायतका जंगली जनावर र पक्षी यहाँ छन्।गरिवीले आक्रान्त
विश्वका धनीमानीहरु शिकारका लागि आउने नेपालको एक मात्र शिकार आरक्षका आसपासका स्थानीयवासीको जीवनस्तर भने निकै दयनीय छ। यस क्षेत्रमा विस्तारै बाटाघाटा बन्ने क्रम बढ्दै गएपनि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका अत्यावश्यकीय सेवा सुविधाको अभाव रहेको स्थानीयवासीको गुनासो छ। पशुपालन र कृषि नै मुख्य पेशाका रुपमा रहँदै आएको ढोरपाटनका अधिकांश सर्वसाधारण अहिले पनि खोलाकै पानी पिउन बाध्य भएको ढोरपाटन नगरपालिका वडा नं ९ का ६७ वर्षीय भद्रमणि सुनार बताउँछन्।
ढोरपाटनमा बस्ने स्थानीय बासिन्दामा अधिकाँश दलित समुदायका छन्। ढोरपाटन नगरपालिका वडा नं ९ का अध्यक्ष नन्दे सुनारका अनुसार यहाँ लगभग ५ सय घरपरिवार दलित छन् । ‘यहाँका स्थानीयवासीे जीवनस्तर अत्यन्त कमजोर छ’ सुनारले भने, ‘अधिकाँश अझै पनि खोलाकै पानी पिउन बाध्य छन्। घरघरमा शौचालयसमेत बन्न सकेको छैन।’
देशी विदेशी पर्यटक आउने ढोरपाटन आसपासका बासिन्दाको जीवनस्तर उँचो बनाउन नसक्दासम्म यहाँ भएका विकासको लाभ स्थानीयवासीले लिन नसक्ने उनको भनाई छ। नेपाली सेनाको संरक्षणमा रहेको ढोरपाटन शिकार आरक्ष पश्चिम नेपालको धवलागिरि हिमशृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ। ढोरपाटनको समग्र विकासका साथै आसपासका स्थानीयसवासीको जीवनस्तर सुधार्ने कार्यक्रम ल्याउन पहल गर्ने बचनबद्दता बाग्लुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको छ।