राणा शासन कालमा जनताहरुले स्वतस्फुर्त रुपमा पुस्तकालय खोल्न खोज्नुलाई अपराध मानिन्थ्यो । सायद त्यसैले होला राणा शासनकालाई नेपालको शैक्षिक इतिहासमा कालो धब्बा रुपमा परिचित हुँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहबाट वि. सं. १८६९ मा पुस्तकालयको औपचारिक रुपमा स्थापना गरेको इतिहास छ । धेरै वर्षअघि केही जानकारी लिनको लागि पुस्तकालय धाउनु पर्ने बाध्यता थियो । त्यतिबेला पुस्तकालयको संख्या पनि निकै कम थियो । तर, अहिले जमाना बद्लिएको छ । अहिले हरेक ठाउँमा आधुनिक पुस्तकालयहरु संचालनमा आएका छन् । सूचना प्रविधिको विकास गर्दा विश्व एक गाउँमा परिणत भएको छ । किताब पढ्न अब लाइब्रेरी गईरहनु पर्ने झण्झट पनि हटेको छ । अर्काेतर्फ पुस्तकालयमा गएर किताबका ठेली नपल्टाई ईन्टरनेटको माध्यमबाट पढ्न र धेरै कुराको ज्ञान लिन सक्ने भएको छ।
बिसौं शताब्दीको अन्त्यतिर देखि हाल एक्काइसौं शताब्दीमा आइपुग्दा विद्युतीय पुस्तकालयको विकास तीव्र भएको छ । सूचना प्रविधिको तीव्र विकासको कारण अब घरैमा बसी–बसी संसारभरका पुस्तकहरु डिजिटल भर्सनमा खोजी गरेर पढ्न सक्ने अवस्था छ । पुस्तकालयमा पुस्तकहरुको मात्र भण्डारण हुन्छ भन्ने परिभाषा अब पुरानो भयो । समय सापेक्ष रुपमा पुस्तकका स्वरुपहरु विभिन्न प्रकारका हुन्छन् र कुनै पनि रुपमा ती संग्रह गर्न सकिन्छ भन्नु पर्ने बेला आएको छ । पछिल्लो समय श्रव्यदृष्य सामग्री, अडियो भिडियो क्यासेट, टेप, माइक्रोफिल्म, डिजिटल सामग्रीहरु, सिडि, डिभिडी आदि विद्युतीय उपकरणहरुको प्रयोग पुस्तकालयसम्म आईपुगेको छ। कम्प्युटरको माध्यमद्धारा इन्टरनेटको प्रयोगले वेवसाइटहरु तथा गुगल सर्चबाट संसारभरका ज्ञानका स्रोतहरु पहिचान गर्न सकिन्छ। यसले त विद्युतीय पुस्तकालयको आवश्यकता र महत्वलाई झनै बढाइदिएको छ ।
सूचना प्रविधिको विकास सबै भूगोल र सवै वर्गका नागरिकमा पहुँच नपुग्न पनि सक्छ । त्यसैले निम्न वर्गका नागरिकलाई सूचना आदान–प्रदान गर्नको लागि पुस्तकालयले ठूलो भूमिका खेलेको हुन्छ । त्यही महत्वलाई आत्मासाथ गर्दै जिल्लाकै पुरानो विद्यामन्दिर पुस्तकालयले आफुलाई समयसापेक्ष परिमार्जन गर्नको लागि सूचना प्रविधिसंग जोडिन चाहेको छ । पुस्तकालयलाई आधुनिक बनाउने अहिले ‘एक व्यक्ति एक हजार अभियान’ पनि संचालन गरिएको छ । पुस्तकालयको यो अभियान साँच्चिकै सह्रानिय छ । पुस्तकालयलाई सूचना प्रविधिमा रुपान्तरण गर्ने होभने पठनपाठनमा सहज हुनुका साथै पाठकका पहुँचमा नरहेका सामाग्रीहरु समेत प्राप्त गर्न सकिन्छ । पुस्तकालय ज्ञानको भण्डार हो, यसले पठन शैलीको विकास पनि गराउँछ । यसलाई समयसंगै गतिशिल बनाउने पनि हाम्रौ नै दायित्व हो । त्यसैले पुस्तकालयको यो महान् अभियानमा हामी सबैको साथ आवश्यक छ ।