बागलुङ, ६ वैशाख – ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय पाएर फरार रहेका अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) अन्ततः पक्राउ परेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङलाई सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए ।
तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो ।महानगरीय प्रहरी परिसर काठमाडाैंबाट खटिएकाे टाेलीले मनाङेलार्इ पक्राउ गरेकाे हाे । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए ।
दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो । सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।