१. नेपालको परराष्ट्रमन्त्रीका रुपमा यो मेरो पहिलो चीन भ्रमण हो। यो मेरो पहिलो द्विपक्षीय भ्रमण पनि हो। नयाँ संविधानअन्तर्गत संघीय व्यवस्थाको तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भइसकेपछि म चीन आएको छु। म र मेरो प्रतिनिधि मण्डललाई दिइएको निमन्त्रणा तथा न्यानो स्वागतका लागि म चीन सरकारप्रति कृतज्ञ छु।
२. स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले भर्खरै भन्नुभएजस्तै, हामीले नेपाल–चीन सम्बन्धका सबै महत्वपूर्ण विषयमा आज एकदमै फलदायी र विस्तृत छलफल गर्यौं। यो द्विपक्षीय वार्ताको परिणामबाट म सन्तुष्ट छु। नेपाललाई समृद्ध मुलुक बनाउने हाम्रो प्रयासमा भूमिका खेल्ने वास्तविक इच्छा मैले चीन सरकारमा पाएँ।
३. हाम्रो विदेशनीतिमा छिमेकले सबैभन्दा बढी प्राथमिकता पाउँछ। चीनसँगको सम्बन्धलाई हामी ठूलो महत्व दिन्छौँ। हाम्रो सिद्धान्तअनुसार नै म फेरि एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँछु। अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हाम्रो नीति छ। विनम्रता, मेलमिलाप, आपसी हित र सहभागितामा आधारित चीनको छिमेक कूटनीतिको हामी सराहना गर्छौँ। हाम्रो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तमा आधारित छ। मित्रता, सौहाद्र्रता, समझदारी, आपसी सहयोग र एकअर्काको आकांक्षा र संवेदनशीलताको सम्मान हाम्रो सम्बन्धको पहिचान हो।
४. हालैका वर्षहरुमा नेपाल र चीन दुवैले महत्वपूर्ण प्रगति गरेका छन्। नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उपलब्ध सबै अवसरलाई उपयोग गर्न हामी सहमत भएका छौँ।
५. हामीले मार्च २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित हालैका उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको क्रममा भएका प्रगतिको विस्तृत समीक्षा ग¥यौँ। पारवहन सम्झौता तथा नेपाल–चीन खुला व्यापारका लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन सुरु गर्ने समझदारी सो भ्रमणको मुख्य उपलब्धि थियो। हामीले पारवहन सम्झौताबारे विमर्श गर्यौं र आगामी दिनमा यसलाई अन्तिम रुप दिन छलफल अझ तीब्र बनाउन सहमत भयौँ। चीनसँगको व्यापारमा नेपालले बेहोर्नुपरेको ठूलो घाटामा सुधार गर्न सहयोगी उपाय अपनाउनका लागि मैले विदेशमन्त्री वाङसँग आग्रह गरेँ।
६. हामीले ‘बिआरआइ’ अन्तर्गतको समझदारी कार्यान्वयन गर्ने सम्बन्धमा पनि आआफ्ना विचार राख्यौँ। यो परियोजनाले भौतिक पूर्वाधार, रेलमार्ग, सडकमार्गसहित सीमापार ‘कनेक्टिभिटी’ को विकास, व्यापार विस्तार, पर्यटन, लगानी र जनस्तरको सम्बन्धमा योगदान दिने नेपालको अपेक्षा छ। हामीले सीमापार बहुआयामिक यातायात सञ्जाल विकास गर्ने विषयमा आआफ्नो विचार राख्यौँ।
७. गत एक दशकमा नेपालमा ऐतिहासिक परिवर्तन आएको छ। सबै तहको निर्वाचनलगत्तै केन्द्र तथा प्रदेशमा बहुमतको सरकार निर्माणपछि नेपालको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ। अब नेपाल शान्ति, स्थायित्व र विकासको युगमा प्रवेश गरेको छ।वर्तमान सरकारको अबको सबैभन्दा प्रमुख एजेन्डा जनताको समृद्धिका लागि आर्थिक विकास गर्ने हो। ‘समृद्ध नेपाल, खुसी नेपाली’ त्यसको मूल नारा रहेको छ। यी लक्ष्य प्राप्त गर्ने क्रममा वर्तमान नेपाल सरकारले ‘कनेक्टिभिटी’ लाई मुख्य प्राथमिकता दिएको छ, जसमा नेपाल र चीनबीच रेलमार्ग, राजमार्ग, सञ्चारमार्ग र ट्रान्समिसन लाइन पर्दछ। आगामी दिनमा हामी यी क्षेत्रमा आपसी फाइदाका लागि चीनसँग साझेदारी चाहन्छौँ।
८. हामी उच्चस्तरीय भ्रमण र स्थापित संयन्त्रबीच नियमित बैठकलाई निरन्तरता दिन सहमत भएका छौँ।
९. हाम्रो विकासको प्रयासमा लगातार सहयोग गरेकोमा मैले चीन सरकारलाई धन्यवाद दिएँ। हाम्रो संयुक्त प्रयासबाट २ अर्ब युआनको अरनिको राजमार्ग मर्मत, तातोपानी र रसुवागढी सीमास्थित पुल पुनर्निर्माण लगायतका महत्वपूर्ण सम्झौता भएका छन्। अरनिको राजमार्गलाई जोड्ने तातोपानी–झाङ्मु नाका चाँडै खोल्ने विषयमा हामीले जोड दियौँ। अहिलेका सीमा नाकाहरुको स्तरोन्नति गर्न पनि हामी सहमत भयौँ।
१०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा हामीले छलफल गर्यौं।
११. दुबै पक्षको हितमा रहेका परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनाहरुलाई प्रभावकारी रुपमा लागु गर्न एक संयन्त्र निर्माण गर्ने विषयमा हामीले सैद्धान्तिक सहमति गर्यौं।
१२. नेपालको पर्यटन प्रवर्द्धनमा संयुक्त प्रयास गर्न पनि हामी सहमत भयौँ। नेपालका मुख्य पर्यटन गन्तव्यबारे मुख्य चिनियाँ सहरमा चीन सरकारले प्रचार गर्ने हाम्रो अपेक्षा छ।
१३. साझा चासोका विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा हाम्रो सहकार्यलाई निरन्तरता दिनेबारेमा पनि हामीले आ-आफ्नो धारणा राख्यौँ।
१४. यो फलदायी बैठक थियो। यो अवसर उपलब्ध गराएकोमा म पुनः एक पटक स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीलाई धन्यवाद दिन्छु। हाम्रो संवादलाई अझ अगाडि बढाउन मैले विदेशमन्त्री वाङलाई सकेसम्म चाँडो नेपाल भ्रमणको निमन्त्रणा दिएको छु।
(परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीसँग ५ वैशाखमा बेइजिङमा भेटावार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दिएको लिखित मन्तव्यको अनुवाद)
Previous Articleनीति तथा कार्यक्रम पारित गर्न फोन गरेर बोलाइयो सांसद
Next Article किन काटियो मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन ?