पोखरा, ५ वैशाख – प्रदेश ४ को सरकारले ल्याएको नीति तथा कार्यक्रम सांसदबाट पारित गर्न सांसदहरुलाई नै फोन गरेर बोलाउनु परेको छ । सांसदहरुलाई नै फोन गरेर वोलाएपछि बुधबार बसेको प्रदेश सभा बैठकले सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो ।
एमाले र माओवादी केन्द्रका केही सांसद अनुपस्थित भएपछि नीति तथा कार्यक्रम मुश्किलले पारित भयो । ६० जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो । तर, संसदमा त्यति सांसद पनि उपस्थित थिएनन् । नीति तथा कार्यक्रम नै फेल हुने भएपछि सचेतकदेखि मन्त्रीसम्मले फोन नै गरेर बोलाउनुपरेको थियो ।
फोन नै गरेर बोलाएपछि नीति तथा कार्यक्रम फेल हुनबाट जोगियो । सोमबार पेश भएर मंगलबार र बुधबार छलफल भएर नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । तर, पारित गर्न चाहिने सांसद नै अनुपस्थित रहेपछि केहीबेर एमाले-माओवादी मन्त्री तथा सांसदमा तनाब देखियो । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसमेत संसदमा उपस्थित थिएनन् । किरणसँगै एमालेका अन्य तीन र माओवादीका २ सांसद अनुपस्थित थिए ।
एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बहुमत नपुग्ने देखेपछि सांसदलाई फोन गरेर बोलाएका थिए । अर्थमन्त्री गुरुङ पारित गर्ने बेला अन्तिममा टुप्लुक्क आइपुगेका थिए । उनलाई एमाले प्रमुख सचेतक अधिकारीले मात्रै नभएर सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले फोन गरेर बोलाएका थिए ।
तनहुँका एमाले सांसद रामबहादुर गुरुङ संसद सकिएपछिमात्र प्रदेश सभामा उपस्थित भए । तर, उनले हस्ताक्षर गर्न पाएनन् । एमाले सांसद राजीव पहारी, मीनबहादुर गुरुङ र पुष्पा कसी भण्डारी संसदमा उपस्थित भएनन् भने माओवादी सांसद दीपक कोइराला र चन्द्रबहादुर बुढा पनि अनुपस्थित रहे ।
एमाले र माओवादीका सचेतकले पार्टीमा हृविप जारी नगर्दा नीति तथा कार्यक्रम पारितमै संकट उत्पन्न हुन पुग्यो । एमालेका २७ र माओवादीका १२ सांसद प्रदेश संसदमा छन् । माओवादीबाट नेत्रनाथ अधिकारी सभामुख छन् । संसदमा कांग्रेसका १५, जनमोर्चाका ३ र नयाँ शक्तिका २ जना सांसदको प्रतिनिधित्व छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ फरार छन् । एमाले-माओवादी गठबन्धनबाहेक अरु दल नीति तथा कार्यक्रमको विपक्षमा थिए ।
वाम गठबन्धनका ३८ जना सांसदमा नीति तथा कार्यक्रमलाई निणयार्थ प्रस्तुत गर्दा ७ जना सांसद अनुपस्थित रहेपछि दुबै पार्टीका सचेतकमाथि दबाब परेको थियो । ‘मंगलबार छलफलमा मैले पनि आˆनो मत राखेको थिएँ । बिहीबार पनि छलफलमात्र गर्ने भनेर हामीलाई खबर गरियो,’ एक सांसदले भने, ‘नीति तथा कार्यक्रम नै पारित गर्ने भनेर खबर नभएकै कारण म बिहीबार बिहानै काठमाडौं गएको थिएँ । फर्केर आउँदा ढिला भयो ।’
दलका सचेतकले हृविप जारी नै नगरिएका कारण सरकारलाई नै अप्ठेरो परेको एक नेताले बताए । माओवादी प्रमुख सचेतक गायत्री गुरुङले पनि हृविप जारी नगरेको एक माओवादी सांसदले बताए । दुबै दलका सचेतकले नीति तथा कार्यक्रम पारित गर्ने कुरालाई हल्का रुपमा लिँदा यस्तो अवस्था आएको उनले बताए ।
‘कार्यक्रम पारित नै गर्ने भएपछि हृविप जारी गर्नुपथ्र्यो । यही सरकारको नीति नै फेल भएको भए के हुन्थ्यो,’ एक नेताले भने, ‘बिहीबारको घटनाबाट पार्टी, सांसद र सरकारले पाठ सिक्न जरुरी छ । एमालेले यही विषयलाई लिएर शुक्रबार प्रदेश संसदीय दलको बैठक नै बोलाएको एक नेताले जानकारी दिए ।