बागलुङ, ४ बैशाख– जिल्लास्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु. २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु. १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट रु तीन लाख ३१ हजार संकलन भएको हो ।
यस्तै, ९३ पाथी चामल बिक्रीबाट रु ५८ हजार, सिक्का सटहीबाट रु १५ हजार आम्दानी भएको छ । बलिको राँगो, कुखुराको टाउको, भक्तजनले चढाएको तेल, कपडा बिक्रीबाट आउने रकम पनि भेटीमा जम्मा हुने गरेको समितिका अध्यक्ष राजु खड्काले बताए । सो अवधिमा रु दुई हजार ५५० नगद आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ ।
बलि चढाएका बोकाका टाउको, परेवा, चामल, तेल, कपडा बिक्री, नगद लगायतबाट उठ्ने सबै रकम मन्दिरको मूल भेटीमा जम्मा हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा गएको चैतमा रु तीन लाख ६३ हजारभन्दा बढी भेटी उठेको समितिले जनाएको छ । “चैतेदशैँमा भक्तजनको घुइँचो लाग्ने हुँदा भेटी बढी उठेको हो”, अध्यक्ष खड्काले भने । सोही बेला हुने चैत्राष्टमी मेलाका कारण पनि मन्दिर दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटीबाट आम्दानी गर्दै आएको छ । समितिले हरेक महिनाको आयव्यय विवरण सार्वजनिक गर्दै आएको छ । जसअनुसार गएको चैत महिनामा रु एक लाख ४४ हजार खर्च भएको जनाइएको छ ।
Previous Articleप्रदेश ४ को नीति तथा कार्यक्रम प्रस्तुत
Next Article भिक्षा निषेध कानुन लागू