बागलुङ, ४ बैशाख– जिल्लाको पर्यटकीय शिर घुम्टे लेकमा छैठौं गुराँस उत्सव सम्पन्न भएको छ । घुम्टे लेकमा २०७४ चैत ३० र २०७५ वैशाख १ गते गुराँस उत्सव विविध कार्यक्रमसहित सम्पन्न गरिएको गल्कोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिए । चैत वैशाखमा फुल्ने अनेकौ प्रजातिका गुराँसले घुम्टेलाई यतिबेला रातै बनाएको छ ।
घुम्टेलाई गुराँस पहाड घोषणा गर्न र वैशाख १ गतेलाइ लालीगुराँँस दिवस घोषणा गर्न माग गर्दै गल्कोट घुम्टे पर्यटन केन्द्रले गुराँस उत्सव गर्दै आएको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको बिचमा अवस्थित घुम्टे लेकको पर्यटन प्रवर्दन गर्न तथा अनेकौ प्रजातिका गुरांसको संरक्षणसंगै पर्यटन विकास र लालिगुरांसको महत्व झल्काउन प्रत्येक वर्ष गुराँस उत्सव गरिदै आईएको छ । धार्मिक ,प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकिय विकास र पर्यटन प्रवर्दनका लागि गुराँस उत्सवले टेवा पुराएको आयोजकको दाबी छ ।
यसपटकको छैठौँ गुराँस उत्सवलाई सम्वोधन गर्दै सांसद मन कुमारी केसीले पर्यटकीय स्थल घुम्टे पर्यटनको प्रचुर सम्भावना बोकेको लेक भएकोले यसको विकास र स्तर बृद्धिमा आफुले सक्दो सहयोग गर्ने बताईन । प्रकृतिको सुन्दर मनोरम दृश्य, विभिन्न हिम श्रृङखलाहरुको दृश्यावलोकन गर्न पाईनुका साथै विभिन्न जडिबुडी, अनेकौं प्रजातिका गुराँस फुल्ने घुम्टे लेकको महत्वलाई प्रचार प्रसार गरि व्यापक बनाउनका लागि आवश्यक पुर्वाधारका लागी केन्द्र देखि स्थानिय तहको सरकारले सहयोग गर्न आफुले पहल गर्ने साँसद केसीले बताईन । उत्सवको अवसरमा अवलोकन यात्रा, स्थानिय कला संस्कृतिको प्रर्दशन, नौमति बाजा, सूर्यास्त र सूर्योदयको अवलोकन, झन्डोत्तोलन, क्याम्प फायरसहित मुख्य समारोहको आयोजना गरिएको थियो ।
चैत मसान्तमा घुम्टेको लेकमै रात विताएर उत्सवमा सोरठी, सालैजो, यानिमाया, घुम्टे साइलो जस्ता मौलिक संस्कृतीसंगै विभिन्न झाकीसंगै रातभर क्याम्प फायर गरिएको थियो । समुन्द्री सतहदेखि १० हजार ९ सय ९३ फिटको उचाईमा अवस्थित प्रसिद्व घुम्टेमा सिद्ध र भैरवको मन्दिर समेत रहेका छन । मन्दिरमा पुजा गर्नको लागि वर्षभरी नै भक्तजनको चहलपहल हुने गर्दछ भनें वैशाख पुर्णिामामा विशेष मेला समेत हुँदै आएको छ । मध्यपहाडी लोकमार्गबाट मल्म पाण्डवखानी सडक, भैंसे हरिचौर टेउवा सडक, हटिया हरिचौर टेउवा सडक, हिलको सडक हुँदै झण्डै ३ घण्टाको पैदल यात्रापछि घुम्टे पुग्न सकिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकको सहजताको निम्ति हरिचौर टेउवाबाट पैदल मार्ग, अफ्ठ्यारो ठाउमा रेलिङ समेत लगाईएको छ । त्यहाँ जाने पर्यटकको निम्ति बस्नको लागि टहराको समेत व्यवस्था छ भनें गत वर्षदेखि अटो सोलार समेत जडान गरिएको छ । गल्कोट नगरपालिका वडा नं ७ मल्मका वसन्त केसीले झण्डै डेढ लाखको लगानीमा उक्त सोलार केन्द्रलाई सहयोग गरेका हुन । सोलार जडान पछि घुम्टेमा रहेका सिद्ध भैरव मन्दिरमा झलमल्ल हुने गरेको छ ।
Previous Article४ वैशाख २०७५, ढोरपाटन दैनिक
Next Article स्थानिय सरकार निर्माणसंगै शैक्षिक गुणस्तरको प्रश्न