काठमाडौं, ३ वैशाख–विगत १ वर्षयता प्रहरीले छिटफुट मात्रामा गाँजा र चरेस फेला पारे पनि ठूलो मात्रामा बरामद गरेको थिएन । गाँजा खेती हुने क्षेत्रमा नै विशेष निगरानी बढाएपछि तस्करी कम भएको प्रहरी अनुमान थियो । तर प्रहरीको अनुमान विपरीत नयाँ वर्षकै दिन (वैशाख १ गते) ठूलो मात्रामा चरेस बनाउन तयार पारिएको गाँजा (चिप्पड) बरामद भयो, त्यो पनि इन्धन बोक्ने ट्याङ्ककरबाट ।
नेपाल आयल निगमको थानकोटस्थित डिपोमा इन्धन झारेर ना ४ ख ५३६८ नम्बरको ट्याङ्ककर पुनः इन्धन ल्याउन भन्दै थानकोटबाट नागढुङ्गाको ओरालो झ¥यो । तर काठमाडौंको चन्द्रागिरी–२ झ्याप्ले खोला पुग्नेवित्तीकै सडक किनारमा रोकियो । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोलाई सूचना आइपुगेको थियो, तेल बोक्ने ट्याङ्ककरमा गाँजा तस्करी हुँदैछ । सोही सूचनाको आधारमा ब्यूरोको टोली झ्याप्ले खोलामा पुगिसकेको थियो ।
ट्याङ्ककरमा गाँजा लोड हुन शुरु मात्रै भएको थियो, व्यूरोबाट खटिएको प्रहरी टोलीले ट्याङ्कर चालक र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लियो । ट्याङ्ककरको अगाडिको भागमा राखेर त्रिभुवन राजपथको बाटो भएर सर्लाहीको मलंगवा हुँदै भारततर्फ गाँजा तस्करी गर्ने योजना थियो । तर लोड गर्न नपाउँदै गाँजा कारोबारी इमानसिंह स्याङ्बो पक्राउ परिहाले । प्रहरीले ट्याक्टरबाट डोरिले बाँधिएका १७ पोका गाँजा बरामद गरिएको जनाएको छ । जसको कूल तौल १६० किलो रहेको छ । इमानसिंहसँगै ट्याङ्ककर चालक सोमबहादुर थोकरलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना मकवानपुरका स्थायी बासिन्दा हुन् ।
Previous Articleढुंगाखानीले लाखौं कमाई
Next Article चाउचाउ र चौडा बाटोमा अडेको विकास !