बागलुङ, १ वैशाख-नेपाल पत्रकार महासंघको अगुवाईमा गत बर्षदेखि प्रदान गर्न थालिएको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका दुइजना पत्रकार पुरस्कृत भएका छन् । भक्तीलाल श्रेष्ठका परिवारको तर्फबाट व्यवसायी तीर्थप्रसाद श्रेष्ठ र उनका परिवारले बाबुआमाको नाउँमा स्थापना गरेको पुरस्कार कोषबाट नागरिक दैनिकका संगम घर्ती मगर र एभीन्युजका राजेशचन्द्र राजभण्डारीलाई १५ हजार रुपैयाँ नगदले पुरस्कृत गरेको हो । मगरलाई उत्कृष्ठ समाचार लेखनमा र राजभण्डारीलाई उत्कृष्ठ स्तम्भकारको रुपमा पुरस्कृत गरिएको महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । पत्रकार महासंघको आग्रहमा श्रेष्ठ परिवारले तीन बर्ष अघि ७ लाख रुपैयाँको अक्षय कोष बनाएर पुरस्कार स्थापना गरिदिएका थिए ।
उक्त कोषको व्याजबाट हरेक बर्ष उत्कृष्ठ पत्रकार, उत्कृष्ठ स्तम्भकारलाई पुरस्कृत गर्ने तथा हरेक बर्ष एकएक वटा पत्रकारिता तालिम संचालन गर्ने समेत योजना छ । गत बर्ष यो पुरस्कारबाट कान्तिपुरका प्रकाश बराल र स्तम्भकार दिल निशासी मगर पुरस्कृत भैसकेका छन् । श्रेष्ठ परिवारले विद्यामन्दिर माध्यामिक विद्यालयमा भक्तिलाल सदनको रुपमा ३ कोठे भवन निर्माण गरिदिएका छन् भने नेपाल परिवार नियोजन संघका लागि जग्गा समेत दान दिएका छन् । साथै हरेक बर्ष कुनै न कुनै कामका लागि श्रेष्ठ परिवारले आर्थिक सहयोग गर्ने तथा सामािजक योगदान गर्दै आएका छन् । शनिवार आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघको भवन निर्माण अभिायनमा श्रेष्ठ परिवारले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कोषका संरक्षक तीर्थप्रसाद श्रेष्ठ र उनका परिवारले उक्त रकमको चेक महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए । महासंघले आगामी बैसाख २२ गते विश्व प्रेस स्वतन्तत्रा दिवशको अवसरमा नयाँ भवनमा सरेर कार्यालय राख्ने योजना बनाएको छ । महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, उपाध्यक्ष उशा पौडेलको स्वागत र सहसचिव नविन शिसिर बिकको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्रलाल सापकोटा, संरक्षकहरुबाट बलराम श्रेष्ठ, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिनारायण गौतम, रामबहादुर जिसी, सल्लाहकार ज्ञानेन्द्र गौतम, नागरिक समाजका अगुवा काजी गाउँले, श्रेष्ठ परिवारका सदस्य कृष्ण शंकर श्रेष्ठ, धौलागिरी टिभीका अध्यक्ष राजकुमार श्रेष्ठ, पत्रकार ताराप्रसाद शर्मा, पुरस्कृतहरु राजेशचन्द्र राजभण्डारी र संगम घर्तीमगरले बोलेका थिए । कार्यक्रमको औचित्य, पुरस्कार स्थापना र पुरस्कार बितरणको कार्यक्रम बारे श्रेष्ठ परिवारका तर्फबाट श्रीजय श्रेष्ठ र महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले प्रष्ट पारेका थिए ।
हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत
Previous Articleशैक्षिक सुधारको नयाँ मार्गचित्र
Next Article २ वैशाख २०७५, ढोरपाटन दैनिक