बागलुङ, १ वैशाख-बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाले वडाभित्र सञ्चालन भई करको दायरामा नआएका उद्योग तथा व्यवसायहरुलाई कार्वाही थालेको छ । वडा कार्यालय सिगानाले २०७४ साल साउन २५ गते गरेको उद्योगी व्यवसायीहरुको भेलाले गरेको निर्णय अनुसार कुनैपनि व्यवसायहरु करको दायरामा नआएपछि कार्वाही गर्न थालेको हो । वडाभित्र रहेका मदिरा पसल, किराना पसल, कुटनीपिसनी मिल, फर्निचर उद्योग जस्ता व्यवसायलाई करको दायरामा आउन पटक–पटक आग्रह गरिएको थियो । पटक–पटक करको दायरामा आउनको लागि उद्योगी व्यवसायीलाई आग्रह गर्दा पनि बेवास्ता गरिएपछि कार्वाही थालिएको बानपा ८ का वडा अध्यक्ष राजीन जिसीले बताए ।
वडा अध्यक्ष जिसीले भने– ‘राज्यको सेवा सुविधा लिने तर राज्यलाई नै कर तिर्न आनाकानी गर्ने व्यवसायहरु बन्द नै गराउने अभियानमा लागेका छौं । फलस्वरुप घरेलु मदिरा जफत गरी नष्ट समेत गरेका छौं ।’ शुरुमा साविकका वडाहरु १, २ र ३ मा मदिरा तथा किराना पसलहरुको अनुगमन समेत गरिएको छ । वडा कार्यलयका जनप्रतिनिधि, स्थानिय आमा समूह, रानेभूमे महिला बहुउदेश्यीय शहकारी तथा महिला सञ्जालको अगुवाई तथा प्रहरीको सहयोगमा मदिराजन्य पसलको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा घरेलु मदिरा बेच–विखनको समय अवधि उल्लघन गरेको, मदिरा बेचविखन गर्ने लाईसेन्स नल्याएको पाईएको थियो । अवैद्य रुपमा सञ्चालन गरिएका मदिराजन्य ८ वटा पसलबाट १ सय ५० लिटर मदिरा जफत गरी नष्ट समेत गरिएको महिला सञ्जाल सिगानाले बताएको छ । वडा कार्यालयले अबदेखि नियमित रुपमा अनुगमन गर्ने र करको दायरामा नआउने व्यवसायहरुलाई यसरी नै कार्वाही गर्दै लैजाने बताएको छ । मदिराजन्य पसल बढ्दै जाँदा विकृतीका घटना बढेको भन्दै वडा कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
Previous Articleनिसीखोला गापाको गाउँसभा सकियो
Next Article करोडको भवन बन्यो शिक्षक दरबन्दी छैन !