म्याग्दी, ३० चैत– बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रूपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमति बिना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ ।
आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए । केही दिनयता अनुमतिबिना नदीको धार र स्वरूप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् । जथाभावी रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम बढेको छ ।
आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले रु. सात लाख ५० हजारमा ठेक्का दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा (माइकल)ले बताए । नगरपालिका, समन्वय समिति, जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटकपटक योजनाको माग गरेपनि बजेट विनियोजन नभएकाले बाध्य भएर नगरपालिकाका जनप्रतिनिधिहरूको सहमतिमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिएको थापाले दाबी गरे । जिल्ला समन्वय समितिका सूचना अधिकृत पद्म भण्डारीले स्थानीयबासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिल्ला समन्वय समितिले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का नलगाएको बताए ।
बस्ती जोखिममा पर्छ भनेर सरकारी निकायलाई उत्खनन गर्न नदिने तर स्थानीय बासिन्दाले जथाभावी रूपमा उत्खनन गर्नु उपयुक्त नभएकोे भण्डारीको दाबी छ । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले उत्खननमा प्रयोग भएका उपकरण र सवारी साधन मंगलबार दिउँसो नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिको जिम्मा लगाएको बताइन् । गत माघमा पनि बेनपा–१ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर समितिलाई बुझाएको थियो । प्रहरीले अवैध र जथाभावी रूपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रनाउ खड्काको गुनासो छ । बेनपा–५ को बगुवाखोलाका क्रसर सञ्चालकले समेत सम्झौता विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । जसका कारण नदी गहिरिएर बस्ती र जमिन कटानको जोखिममा परेको छ ।
Previous Articleमहिलाको पाठेघर खस्ने समस्या र बच्ने उपाय
Next Article २०७४ चैत ३० गते शुक्रबारको राशिफल