बालविवाहको विकृत रुप हेर्न धेरै टाढा जानु पर्दैन । बागलुङ जिल्लाकै तमानखोला र निसीखोला गाउँपालिका पुगे काफी हुन्छ । जिल्लाका अति दुर्गम मानिने ति क्षेत्र बालविवाह हुने गरेको प्रचलनबारे मिडियामा लगातार समाचार सामाग्री आएपनि त्यसलाई रोक्नको लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन सकेको छैन । बालविवाह हुने त्यस्ता क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्थाले लाखौं खर्चिए पनि परिणाम भने सकारात्मक आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार, चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४÷०७५ को प्रथम चार महिना (साउनदेखि कात्तिक) मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३÷०७४ मा ६६ बालविवाह भएका घटना प्रकाशनमा आएका थिए । यसबाट बालविवाहको घटनामा झन् झन् वृद्धि हुँदै गएको देखिन्छ ।
बाहिर नआएका बालविवाहका घटना अझ बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी हुने गरेको छ । सोअन्तर्गत ५० प्रतिशत विवाह (२० घटना) बालबालिकाबीच भएको देखिन्छ । त्यसैगरी बालिका र वयष्क पुरुषबीच ४५ प्रतिशत (१८ घटना) विवाह भएको छ भने ५ प्रतिशत (२ घटना) अनमेल (वृद्धसँग) विवाह भएको छ । बालविवाहका ३२ घटनामध्ये अभिभावकद्वारा ३५ प्रतिशत (१४ घटना) र भागी विवाह ६५ प्रतिशत (२६ घटना) भएको छ । भागी विवाहका घटनालाई हेर्दा सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै विवाह हुने गरेका घटना प्रकाशमा आउने गरेका छन् । पछिल्लो चार महिनामा प्रकाशमा आएका ४० बालविवाहका घटनामध्ये बैतडीमा १२, बझाङमा सात, अछाम, जाजरकोट, मकवानपुर र कालीकोटमा तीन, स्याङ्जामा दुई, रुपन्देही, झापा, रोल्पा, सिन्धुली , डोटी , सोलुखुम्बुृ र दोलखामा एक एक बालविवाहका घटना भएका छन् । नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आव २०७३÷०७४ मा बालविवाह घटनासम्बन्धी २६ उजुरी परेका थिए ।
बालविवाहबारे उजुरी नै नहुने समस्या बालविवाह न्यूनीकरणका लागि मुख्य चुनौतीका रुपमा रहेको छ । केही नेपाल कानून संशोेधन तथा खारेज गर्ने ऐन, २०७२ द्वारा साविक मुलुकी ऐनको व्यवस्थालाई संशोधन गरी विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । बालविवाह उच्च रहेका मुलुकमध्ये नेपाल अग्रपंक्तिमा रहेको पाइन्छ । नेपाली समुदायमा प्रचलित कुप्रथा, सचेतनाको कमी र अशिक्षाका कारण बालविवाह बढ्दै गएको हो । नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ । बालविवाहले गर्दा निकै नै समस्याहरु सिर्जना भएका छन् । यसलाई रोक्नको लागि अब स्थानिय तहले प्रभावकारी भूमिका खेल्न जरुरी छ । स्थानिय निकायले अब यसतर्फ विशेष चासो दिन जरुरी छ ।