कृष्णराज शर्मा
नरसँहारकारी घटनास्थलबाट हामी शहरको मधुर आलिंगनका लागि भित्र घुस्यौं । रात्रीको आठ बजिसकेको थियो । बर्षातमा उर्लेको कालीनदी जस्तो सडकमा गाडीको बहाव बढ्दो थियो । एकातिर गाडीका हेडलाईटले सेतो बत्ति र अर्को तिर गाडीको पछाडीका रातोबत्ति ( ब्रेक लाईट ) ले सडक रंगीन थियो । सडक पेटीमा पार्किङ स्पटमा रहेका रूख विरूवामा जडित झिलिमिलि बत्तिको सुन्दरताले लोभ्याउँथे । शहरका सपीङ सेण्टर,होटल,रेष्टुरेण्ट,सडक पेटीका डबलीहरूमा चम्केका संगीतमय झालरी बत्तिहरूका साथै विविध खाले ठूलाठूला विज्ञापनिक स्कृन बोर्डरूले लासभेगासको धपक्क बलेको रूप त्यस्तै थियो । मानौं,भएभरका सबै श्रृंगारले सजिएकि मोहिनी रूपको लासभेगासले यसरी आकर्षित गर्दै थियो कि हामी भुतुक्कै हुन्थ्यौं । सोचे भन्दा सुन्दरी बढी कामुक भईन् भने पुरूष नै ओइलाए झैं लासभेगासले उल्टो नर्भस गराउँथ्यो । त्यो समयमा जसरी लासभेगासलाई अजमाउनु पर्थ्यो,मोहिनी रूपले मुश्किल पार्यो । लासभेगासको मन पनि हामीसित राम्रै होला तर उसको रुपरंग हामीसँग म्याच् गरेको थिएन । रूपले मोहित बनाए पनि ‘दम’ देखाउन गाह्रो थियो । खैर,गाडीमा अगाडी बढ्दै रह्यौं । त्यसैले भित्रि कृयाक्लापमा सहभागिता जनाउन भने हाम्रो रूचीले मात्र काम गर्दैन्थ्यो । हामी लासभेगासमा उपलब्ध गतिबिधिलाई भोग्नु सर्वथा असंभव थियो । यत्ति हो कि,हामी रातकी रानी सुन्दरीलाई ‘आँखा मार्न’ मात्र सक्षम थियौं ।
त्यस बाहेक बाँकी हाम्रो बुता बाहिरको कोरा कल्पना थियो । जुवा खेल्नु,जुवा खेल्दा प्राप्त सुखभोग हाम्रो कल्पना मात्रै थियो । लासभेगासको रात्री आवरण चिहाउँदै एकघण्टा वित्यो । जति घुमेपनि शहरले सुत्ने तरखर कहिल्यै नगर्ने थाहा थियो । दिउँसो प्रकृतिको बीचमा मस्त उभिएको शहर माथी राती मान्छेले खौलन्थे । लडिबुडी खेल्थे । रातभरी खौलिएको शहरलाई बिहान कपाल नकोर्दै पुनः नजर लगाउने निश्कर्षमा हामी होटलको कोठा तर्फ जाने सोंच बनायौं । लासभेगासको छोटो बसाईमा धेरै अनुभव बटुल्नु थियो । हाम्रा शरिरका ईन्जिनहरू क्रमशः शिथिल बन्दै थिए । शरिरका विभिन्न कोषिकाहरूले उनका रूचि अनुसारका आहार खोज्न थालिसकेका थिए । लासभेगासको केन्द्र विन्दुमै हामी थियौं । रात बिताउने र खानाखाने होटल नजिकै थिए । आ-आफ्नो च्वाईस् अनुसार मगाएर खायौं । मेक्सिकन खाना यहाँ पायक परेन । अमेरिकन शैली र संस्कारका खाना खायौं । चिकेन भने नौलो स्वादमा पायौं । एकबित्ते भेज बर्गरले चित्त बुझायौं । र पनि हामीले फेरी प्याकिङ गरेर केही खाना कोठामा लिएर आयौं । कोठामा पुगेपछि हामी दुई बाहेक बाँकी जुवाको अखडा तर्फ लागे । छोराहरू स्लट मेशिनमा छिरे । छोराका ममीहरू सुनेका कुराहरूलाई साक्षात्कार गर्दै भुलेका थिए । हामी दुई भने होटलकी रिसेप्सनिष्ट युवतीले हातमा थमाएका दुईबुक तास कोठा भित्रै फिट्न थाल्यौं । हाँसो गर्दै कोठाभित्रको कौचमा गफिंदै खेल्यौं । जुवामा हारजीत हुनु स्वाभाविक हो । तास खेलेर हामी दुवै हार्नै चाहन्नथ्यौं । दुवैले जित्नै पर्ने यो तासको जुवा हो हाम्रो लागि । करोडौं डलर मुल्य बराबरको जीत हासिल गर्यौं । लामो समय देखि टाढा भएका हामी यो तासका माध्यम बाट धेरैकुरा जित्दै थियौं । मानौं,तासको म्यारीज् खेलबाट हामीले यौटा अर्को ‘म्यारीज्’गर्यौं । त्यस्तो जीत हासिल गर्यौं । केटाहरू पनि जुवा खेलेर फर्के । हाम्रै अनुमतिले गएका उनीहरूले यौटाले दश डलर हार्ने अर्कोले पन्ध्र डलर जीतेर फर्केछन् । कोरोना नामको पेय पदार्थले थोरै साथ दिएको पनि थियो । सबै प्रकारान्तरले हामीमा एक प्रकारको उमंग भरिएको थियो । कोठामा भेट भएर लासभेगासलाई रात्रीमा फन्को मारेका लगाएतका अनुभवको समिक्षा गर्यौं । भोली बिहान संसार प्रसिद्ध हूभर ड्याम ( Hoover Dam ) हेर्न जाने निष्कर्षमा पुगेर एकापसमा गूड् नाईट् गर्दै मध्यरातमा आ-आफ्ना बिच्छौना पक्ड्यौं ।
म त घुमन्ते न थिएँ । प्रि-प्लान हाम्रो कहीं थिएन । छोरा प्रज्ज्वलले नै लासभेगास पुगेपछि हुभर ड्याम् पुग्नु पर्छ भनेको थियो । ऊ पनि त्यो देख्न लालायित रहेछ । हामी सबै यो ठाउँ पहिलो पटक पुगेका थियौं । सबैलाई जाम्- जाम् भने भएकै थियो । त्यसै अनुसार गयौं । लासभेगास बाट घण्टा नलाग्दै पुग्यौं । बाटोको बीचमा निक्कै कम घरबस्ति देखिए । त्यसमा पनि उनै रिसोर्ट र क्यासिनो देखिन्थे । कतै रसै नभएको भूभागमा पनि रसिला रिसोर्ट देखेर दङ्गै पर्थ्यौं । मान्छे त कतै टुक्रो नदेखिने । मान्छेको टुक्रो नदेखिने ठाउँको रिसोर्टको आवरण देख्दा त्यति मनमोहक लाग्छ कि त्याहाँ कुनै रूम खाली छैन । पक्कै ति रूमहरूमा मान्छे र मान्छिको भरिभराऊ छ त्याहाँ । मनमनै घ्यूको लड्डु खाएँ । म सँग पनि मान्छि छ । म उसैसंग क्षण भरमै त्यो रिसोर्ट भोग गरें । र अगाडी बढें । त्यस्ता एक्ला रिसोर्ट भएर हामी गुडेको सडकको दायाँवायाँ बालुवा भन्दा मोटो ढुङ्गाका चिप्सले उकेरा लगाएको देखिन्थ्यो । चामल पखालेर भात पकाउन ठिक्क पारेका चामल जस्ता ति चिप्स् कसरी धोएर सफा बनाए होलान् । बुझ्नै नसकिने के हो के हो ? जहाँ पानीको सहजता नै छैन,त्यहीं पानीको उधुम् प्रयोग कसरी भयो होला ? हामी छक्क पर्यौं । यो सबै भएको यही हुभर ड्यामको करामत रहेछ । लासभेगासको जीवनको उत्पत्ति नै हुभर ड्याम रहेछ,ड्याममा पुगेपछि थाहा पायौं ।
कोलोराडो नदीलाई नै फर्काएर ल्याएको पानी एरिजोना र नेबादा राज्यको साँध सिमानामा निर्माण गरिएको बाँध नै हुभर ड्याम ( Hoover Dam ) हो । यसको निर्माण डिजाईन डा.एलवुड मिएड ( Dr.Elood Mead ) ले गरेका थिए । विश्वका थुप्रै देशमा यिनले जलसम्पदाको संरक्षण र विस्तारको काम गरेका थिए । यो हुभर ड्याम उनको जीवनको अन्तिम परियोजना थियो । हुभर ड्यामको काम समाप्ति पछि नै यिनको जीवनको अन्त्य पनि भएको थियो । यिनै सुनाइएका कुराले हामीलाई त्याहाँ आकर्षित गरेको थियो । सन् १९३१- १९३५ मा यसको कार्य सम्पन्न भएको थियो । हेरेपछि थाहा भयो,यो परियोजना अद्भूत नै रहेछ । परियोजनाको बारेमा सुनेका आधारमा नै अवलोकनका लागि संसारभरिका मान्छेको त्याहाँ ठूलो भीड लाग्ने रहेछ । चट्टानी भूभागमा निर्मित यो बाँधमा सयौं मजदुरले जीवन चढाएका रहेछन् । यति अग्लो बाँध बाधिएको छ त्यो चट्टानी पहाडमा यस्तो लाग्यो,असंभव त दुनियाँमा केही रहेनछ । हेर्दा हेर्दै सयौं को सँख्यामा गाडी पार्किङ गर्दै हजारौं मान्छे त्याहाँ झरे । प्रवेश शुल्क बुझाएर मात्र त्यहाँ प्रवेश पाईन्थ्यो । हामी पनि त्याहाँ पसेपछि त्याँहाको दृश्य लुट्नै चाहन्थ्यौं । सबैकुरा बुझ्न चाहन्थ्यौं । समय कम भएपनि कोशिश गर्यौं । बाँधको माथी रहेको अवलोकन स्थलबाट तल नियाल्दा कहाली लाग्दो गहिराईमा पानीको प्रवाह थियो । उत्तिकै उचाईमा मोटरेबल पुल निर्माण छ । निक्कै तलका चट्टान छेडेर भूमिगत सडक तयार छ । मुसाका दूला जस्तै सुरूङमार्ग बाट विद्युत गृहको दैनिक काममा लागेकाहरू ओहोर दोहोर गरेका छन् । परियोजनाको लागत कति होला । हाम्रो कोतुहलता मेटाउन त्यहीं राखिएका शीलापत्र र ताम्रपत्रमा देखिने अभिलेखहरूबाट थाहा पायौं । शुरूमा यसलाई बोल्डर ड्याम ( Boulder Dam ) को नाम दिईएको रहेछ । पछि अमेरिकी सरकारले नै यसको नाम परिवर्तन गरी पूर्व अमेरिकी राष्ट्रपति हर्बर्ट हुभर ( Herbert Hoover ) को सम्मान गर्दै उनकै नाममा औपचारीक नाम राख्ने निर्णय गर्दै ‘हुभर ड्याम’ भएको रहेछ । आजभन्दा ८४ बर्ष पहिला निर्माण सम्पन्न भएको यो ड्यामको लागत तत्कालिन समयमा ४९ मिलियन अमेरिकी डलर रहेछ । अहिले यसको लागत मूल्य तेह्र गुणाबढी ६५० मिलियन डलर हुन आउने रहेछ । त्याहाँ राखिएका विभिन्न अभिलेखहरू बाट यति बुझेपछि हामी फोटो लिनका लागि दौडादौड गर्यौं । मान्छेको भीडले शान्त भएर फोटो लिन मुश्किल थियो । माथी आकाश सफा नीलो थियो । आकाशमा हेलिकप्टरहरू निरन्तर उडिरहेका थिए । ड्यामको दृश्यावलोकन र प्रहरी गस्ती आकाशबाट भैरहेको रहेछ । यसको सुरक्षामा अमेरिकी सेनाका सिपाहीहरू अत्याधुनिक हातहतियारले सुसज्जित भएर ठिंग उभिएका थिए,मूर्ती जस्ता । कसैसंग बोल्दै नबोल्ने मात्रै आफ्नो कर्तब्यपालनमा ध्यान दिएका देखिन्थे । त्यो हुभर ड्यामको बनोट हेर्दाहेर्दै समय गएको पत्तै भएन । हामीलाई आज समयमै क्यालिफोर्नीयाको लसएञ्जलस फिर्नै पर्ने थियो । धीत मरूञ्जेल बस्न सकेनौं । लगभग शताब्दी पहिला पनि त्यस्ता संरचना बनिसकेका रहेछन् । जतिबेला हाम्रो देशमा बिजुलीको नामोनिशान थिएन । चन्द्रशमशेरले फर्पिङमा बालेको बत्तिको कुरागर्दै पार्किङ स्थलबाट गाडी निकालेर हाम्रो गन्तब्य तर्फ लाग्यौं । क्रमशः…….