नयाँदिल्ली, २५ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। तीन तहको निर्वाचनपछि नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’ भएको भन्दै उनले नेपालको यो उपलब्धिबाट भारत एकदमै खुसी भएको समेत बताए।
‘गत वर्ष नेपालका जनताले लोकतन्त्र र संघीय व्यवस्थाप्रति फेरि आफ्नो विश्वास व्यक्त गरे। स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नेपाल सरकार र नेपाली जनताको एकदमै ठूलो उपलब्धि हो। नेपालको राजनीतिक इतिहास एक नयाँ युगमा प्रवेश गरेको छ,’ नयाँदिल्लीमा शनिबार नेपाल–भारत द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने।
भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय बैठकअघि हैदराबाद हाउसमा करिब एक घन्टा ‘वान अन वान’ (दुई प्रधानमन्त्रीबीच मात्रै) भेटवार्ता भएको थियो। ओली र मोदीबीच शुक्रबार साँझ पनि नयाँदिल्लीमा ‘वान अन वान’ वार्ता भएको थियो। शनिबार ‘वान अन वान’ वार्ता सकिएपछि दुवै प्रधानमन्त्री नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी भएका थिए। बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल भएपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका थिए।
‘एक छिमेकी मित्रराष्ट्रका नाताले र विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालको इतिहासमा यस स्वर्णिम अध्यायको शुभारम्भ भारतका लागि पनि एकदमै खुसीको विषय हो,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुवैलाई हृदयदेखि नै अभिनन्दन गर्छु र उनीहरूलाई धेरैधेरै बधाई दिन्छु।’
दुई दिन भएका छुट्टाछुट्टै भेटमा प्रधानमन्त्री ओलीले नेपालको तीव्र आर्थिक विकास र समावेशी समाज निर्माणका लागि ‘बोल्ड भिजन’ आपूmलाई विस्तारमा जानकारी गराएको मोदीले बताए। ओलीको भिजन साकार पार्न भारत कसरी नेपालसँग सहकार्य गर्नसक्छ भन्ने विषयमा पनि छलफल भएको जानकारी उनले दिए।
‘म बुझ्छु भारतको विकासका लागि मेरो ‘सबैको साथ सबैको विकास’ मूलमन्त्र र नेपालका लागि प्रधानमन्त्री ओलीजीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भिजन एकअर्काका पूरक हुन्। यसैकारण जनकेन्द्रित भिजन, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख, शान्ति र समृद्धिको आशा र अपेक्षालाई साथ लिएर अघि बढ्नपर्छ भन्ने कुरामा हामी दुवै पूर्ण सहमत भएका छौं,’ मोदीले भने। उनले विकासको लक्ष्य प्राप्त गर्न दुवै देशका प्रधानमन्त्रीसँग एउटै भिजन रहेको बताए।
नेपालको विकासमा भारतको सहभागिताको लामो इतिहास रहेको उनले बताए। आउँदा दिनमा पनि नेपालको आर्थिक विकास र समृद्धि प्रयासमा भारतको पूर्ण सहयोग रहने भरोसा आपूmले प्रधानमन्त्री ओलीलाई दिलाएको मोदीले जनाए। ‘सधैंको जस्तै यो सहयोग भविष्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकता र आवश्यकताका आधारमा हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने।
शनिबार ‘न्यु कनेक्टिभिटी थ्रु इनल्यान्ड वाटरवेज्’ (अन्तरदेशीय जलमार्गमार्फत नयाँ कनेक्टिभिटी) मा नेपाललाई सहयोग गर्ने भारतले गरेको नयाँ प्रतिबद्धतालाई मोदीले महत्वपूर्ण उपलब्धि बताए। यसलाई उनले प्रधानमन्त्री ओलीसँग भारतले गरेको सहयोगको प्रतिबद्धताको महत्वपूर्ण परिणाम बताए। ‘हाम्रो यो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ र सगरमाथाको देश सीधा सागरसँग जोडिनेछ । मेरो बुझाइमा यो ऐतिहासिक सुरुवात हो,’ मोदीले भने। उनले नेपाल ‘ल्यान्डलिंक’ मात्र नभई ‘बोटलिंक’ राष्ट्र पनि हुने बताए।
पत्रकार सम्मेलनमा उनले नेपालसँग रेल कनेक्टिभिटी बढाउन भारतले चाहेको बताए। काठमाडौंबाट भारतलाई जोड्ने एक नयाँ रेल लाइनको संयुक्त रूपमा निर्माण गर्ने कुरामा नेपालको प्रधानमन्त्रीसँग सहमति बनेको उनले जनाए।
संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनुअघि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा वीरगन्ज–रक्सौल नाकामा रहेको एकीकृत चेक पोस्ट (आइसिपी) को भिडियो लिंकमार्फत हैदराबाद हाउसबाट उद्घाटन गरेका थिए। यस्तै उनीहरूले मोतीहारी–अम्लेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनसमेत उद्घाटन गरे। ‘ आइसिपी भारत र नेपालबीचको सदीयौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ,’ मोदीले भने।
दुई प्रधानमन्त्रीको भेटमा कनेक्टिभिटीका सबै परियोजनामा भएका प्रगतिको समीक्षा गरिएको जानकारी पनि उनले दिए। तेलको पाइपलाइन होस् या एकीकृत चेक पोस्ट या तराई सडक नै किन नहोस्, यस प्रकारका सबै कनेक्टिभिटी परियोजनालाई गति दिनुपर्नेमा दुवै प्रधानमन्त्री सहमत भएको मोदीले बताए। नेपाल र भारत दुवै कृषिप्रधान देश भएको उल्लेख गर्दै मोदीले कृषि क्षेत्रमा पनि नयाँ सहकार्यको सुरुआत भएको बताए।
‘भारत र नेपाल दुवै कृषिप्रधान देश हुन्। यसैकारण आज हामीले कृषि क्षेत्रमा नयाँ सहकार्यको सुरुआत गरेका छौं। यो सहकार्यबाट अर्गानिक कृषि, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान र कृषि शिक्षाजस्ता विषयमा हामी आफ्ना सहयोग बढाउनेछौं,’ मोदीले भने। भारत र नेपालबीच रक्षा र सुरक्षाका विषयमा एकदमै गहन सम्बन्ध रहेको समेत उनले बताए। खुला सीमाको दुरुपयोग रोक्न र साझा सुरक्षा हितलाई अघि बढाउन सहमति बनेको पनि प्रधानमन्त्री मोदीले जानकारी दिए। दुवै देशको बीचमा रहेको खुला सीमालाई उनले दुवै देशका सामान्य जनताका बीचको ‘जीवन्त पुल’ बताए। रामायण र बुद्धिस्ट सर्किटको विकास तथा क्षमता विकास शिक्षा, स्वास्थ्य आदि जनकेन्द्रित क्षेत्रमा पनि सहयोग बढाउने प्रतिबद्धता मोदीले गरे।
‘मलाई विश्वास छ, आज हामीले जुन ऐतिहासिक पहल गरेका छौं, त्यसले दुवै देशको विकासको भिजन साकार बनाउन महत्वपूर्ण योगदान हुनेछ,’ मोदीले भने।
नेपाल र भारत अन्तर्निभर – ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत एकअर्कामा अन्तनिर्भर रहेको बताएका छन्। नयाँदिल्लीमा नेपाल–भारत द्विपक्षीय वार्ता सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले दुवै देशले एकअर्कालाई केही दिइरहेको बताएका हुन्। ‘नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ। दुई देशबीच ऐतिहासिक सम्बन्ध छ। दुवै देशले एकअर्कालाई थुपै्र कुरा प्रस्ताव गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘पर्यावरणदेखि व्यापार, विभिन्न रूपमा दुई देशबीच अन्तरर्निभरता छ।
नेपाल भारतमाथि निर्भर रहेको कुरा पटकपटक उठ्ने गरेको छ। २०७२ असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि नेपालको भारतमाथिको निर्भरता छर्लंग भएको थियो। नेपाल सम्बन्धमा भारतीय जानकारहरू बेलाबखत नेपाल भारतबिना बाँच्न नसक्ने बताउने गर्छन्। भारतीय नेताहरूबाट पनि यस्तै धारणा बेलाबखत सार्वजनिक हुने गरेको छ। यसैबीच प्रधानमन्त्री ओलीले शनिबार संयुक्त पत्रकार सम्मेलनमा भारत पनि कतिपय क्षेत्रमा नेपालमाथि निर्भर रहेको जनाउ दिएका हुन्।
दुई वर्षअघि प्रधानमन्त्रीका रूपमा गरेको भारत भ्रमण स्मरण गर्दै उनले त्यसयता नेपालमा धैरै क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको जनाए। तीन चरणको निर्वाचन सम्पन्न गरी राजनीतिक स्थिरता कायम भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको उनले बताए। नेपाल सरकारको मुख्य नारा ‘समृद्ध नेपाल, खुसी नेपाली’ रहेको जनाउँदै उनले विभिन्न क्षेत्रमा दुई देशबीचको सम्बन्ध विस्तार गर्न र सम्बन्ध थप उचाइमा पु-याउने मिसन लिएर आफू भारत भ्रमणमा आएको बताए।
प्रधानमन्त्री ओलीले नेपालले तीन चरणको निर्वाचन सम्पन्न गरी महत्वपूर्ण संक्रमणकालीन अवधिको अन्त्य गरेको जानकारी दिए। उनले नेपाल आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको बताए। यो संक्रमणकालीन अवधिमा नेपाललाई मित्रको सहयोग र साथ आवश्यक परेको समेत बताए।
‘हामी दुई निकट छिमेकीबीच विश्वासमा आधारित सम्बन्धको बलियो संरचना अझ उचाइमा पु-याउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने। उनले दुई वर्षअघि प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग भएको गहन छलफल सम्झिरहेको पनि बताए। उनले भने, ‘छिमेकीसँगको सम्बन्ध अन्यसँगको भन्दा फरक हुन्छ। समानताको सिद्धान्त, न्याय, आपसी सम्मान र हितका आधारमा छिमेकीबीच शान्तिपूर्ण सहअस्तित्व हुन्छ।’
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को कार्यप्रति दुवै देशका प्रधानमन्त्री सन्तुष्टि व्यक्त गरेको उनले बताए। इपिजीले नेपाल–भारत सबै द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र सुझाव पनि दिने उनले जनाए। ‘इपिजीले उपयोगी सुझावसहितको प्रतिवेदन बुझाउनेछ भन्ने हाम्रो विश्वास छ,’ प्रधानमन्त्री ओलीले भने। इपिजीले अहिले नेपाल र भारतबीचका सम्पूर्ण सन्धिसम्झौताको समीक्षा गरी प्रतिवेदन बनाउने कार्य गरिरहेको छ। दुई वर्षको समयावधि पाएको इपिजीको अन्तिम बैठक आगामी महिना भारतमा हुँदैछ र त्यसपछि दुवै सरकारलाई प्रतिवेदन बुझाउनेछ।भारतीय प्रधानमन्त्री मोदीसँग इनर्जी बैंकिङ, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका ठूला परियोजना छिटो सम्पन्न गर्नुपर्ने सम्बन्धमा छलफल भएको उनले जानकारी दिए। नयाँ विद्युत् प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको उनले जानकारी दिए। ‘जलस्रोत व्यवस्थापनको कुरा हुँदा वर्षायाममा नेपालको होचो भूमि जलमग्न हुने गरेको छ जुन प्रत्येक वर्ष दोहोरिने गरेको छ। हामीले यसको उचित व्यवस्थापन र समाधान खोज्नुपर्नेमा जोड दिएका छौं,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका महत्वपूर्ण अजेन्डा पूर्वाधार र कनेक्टिभिटी रहेको बताए। नेपाल र भारत सहज तरिकाले भौगोलिक रूपमा जोडिए पनि अन्तरदेशीय पूर्वाधार भने अझै राम्रो बन्न नसकेको ओलीको भनाइ थियो। ‘हामीले अन्तरदेशीय पूर्वाधार राम्रो बनाउने विषयमा छलफल ग-यौं। नदीबाट जोडिने कुरामा पनि छलफल भयो,’ उनले भने। ल्यान्डलकबाट ल्यान्डलिंक देश हुने नेपालको चाहनालाई आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिले सघाएको प्रधानमन्त्री ओलीले बताए। ‘विकासका तीन महत्वपूर्ण क्षेत्रमा हामीले उपलब्धि हासिल गरेका छौं– कृषि, रेलवे र वाटरवे (जलमार्ग)। काठमाडौंबाट रक्सौल जोड्ने रेलसेवा निर्माण गर्न हामीबीच सहमति भएको छ, यसमा म निकै खुसी छु,’ प्रधानमन्त्री ओलीले भने।
संयुक्त वक्तव्यका मुख्य बुँदा
-दुई मुलुकबीचका बहुआयामिक सम्बन्धहरूमाथि बृहत् समीक्षा । दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत । समानता, आपसी विश्वास, सम्मान र लाभका आधारमा दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्न सहमत ।
-प्रधानमन्त्री ओलीद्वारा भारतको प्रगति र समृद्धिबाट लाभ लिन सक्ने गरी दुईपक्षीय सम्बन्धलाई विकास गर्ने चाहना व्यक्त । नेपाल सरकारको प्राथमिकताका आधारमा साझेदारी गर्दै सम्बन्धलाई बलियो बनाउन भारतका तर्फबाट प्रधानमन्त्री मोदीद्वारा प्रतिबद्धता ।
-दुवै प्रधानमन्त्रीद्वारा आफूहरूले लिएको मूल लक्ष्य ‘सबका साथ सबका विकास’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ बीच समानता रहेको उल्लेख । प्रधानमन्त्री मोदीद्वारा स्थानीय तह, प्रदेश र संघीय संसदको सफलतापूर्वक चुनाव गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाईका साथै स्थायित्व र विकासको लक्ष्य लिएकोमा प्रशंसा ।
-वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को दुवै प्रधानमन्त्रीद्वारा उद्घाटन ।
-दुवै प्रधानमन्त्रीद्वारा बटन थिचेर मोतिहारी-अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको शिलान्यास ।
-नेपालमा रहेका दुईपक्षीय नयाँ तथा पुराना परियोजना कार्यान्वयनलाई तीव्रता दिन र विविध क्षेत्रमा साझा एजेन्डाहरू प्रवद्र्धन गर्न दुईपक्षीय संयन्त्रहरू सक्रिय बनाउन जोड ।
-तीन क्षेत्रमा आपसी सहकार्य गर्ने-कृषिमा नयाँ साझेदारी, रक्सौलदेखि काठमाडौं रेलमार्ग विस्तार, नेपाल–भारतबीच जलमार्ग ।
-भ्रमणबाट दुई मुलुकबीचको बहुआयामिक साझेदारी नयाँ चरणको प्रवेश ।
-ओलीद्वारा मोदीलाई भारत भ्रमणको निम्तो । न्यानो आतिथ्यका लागि धन्यवाद ।
-मोदीद्वारा निमन्त्रणा स्वीकार । भ्रमणको मिति कूटनीतिक माध्यमबाट टुंगो लगाइने ।
नेपाल नयाँ युगमा-मोदी, नेपाल र भारत अन्तर्निभर-ओली
Previous Articleदिल्लीबाट शिलान्यास गरिएको पेट्रोलियम पाइपलाइनको विशेषता
Next Article बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी