नयाँदिल्ली, २४ चैत – भारतका राष्ट्रपति रामनाथ कोविन्दले शान्त, समृद्ध नेपाल भारतको चाहना भएको बताएका छन् । तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग शनिबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा कोविन्दले नेपालको विकास हेर्ने चाहना रहेको धारणा राखेका हुन् ।
भारतीय राष्ट्रपति कोविन्द र प्रधानमन्त्री ओलीबीचको शिष्टाचार भेटमा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए। उनले नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएका थिए।
यस्तै प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री सुष्मा स्वराजले पनि भेट गरेकी छन्। स्वराजसँगको भेटमा विगतमा भएका समझदारी सम्बोधन गर्दै अघि बढ्ने समझदारी भएको छ। यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत (गार्ड अफ अनर) प्रदान गरिएको थियो।