म्याग्दी, २४ चैत– जिल्लाका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । म्याग्दीको हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँशी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त हुने मह शिकधारीरू बताउँछन् ।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँढिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुण्डाउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन पनि यसको प्रयोग हुँदै आएको मह व्यापारीको भनाई छ । “महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने विशेष ध्यान पु¥याउनुपर्छ” मह शिकारी अनिल घर्ती भन्छन् । जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरू बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने उहाँ बताउनुहुन्छ मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । “मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारी जंगलमै आइपुग्छन् ।
बजारमा महको प्रतिलिटर रु. दुई हजारमा बिक्री हुुन्छ । अन्तर्राष्ट्रिय स्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यावसायिकरण बनाउँदै लैजानुपर्ने सो समूहका अगुवा समेत रहेका अनिल घर्तीको सोच छ । ‘हामी जिल्लाको अधिकांश ठाउँमा महको शिकार गर्न जान्छौँ, जहाँ मह निकाल्छौँ त्यहाँको आमा समूह वा क्लबलाई केही रकम दिन्छौँ अनि उहाँहरूको अनुमतिमा हामीले मह निकाल्छौँ । अहिले हाम्रो पाँच जनाको टोली छ । हाम्रो आम्दानीको मुख्य स्रोत नै यही हो’ उनको भने ।
Previous Article२०७४ चैत २४ गते शनिबारको राशिफल
Next Article २४ चैत २०७४, ढोरपाटन दैनिक