पछिल्लो समय निजी विद्यालयमा विद्यार्थी तथा अभिभावकहरु लोभिन थालेका छन् । यसको पछाडि धेरै कारणहरु छन् । निजी विद्यालयहरु स्वतन्त्रपुर्वक विद्यालय संचालन गरेका हुन्छन् भने सामुदायिक विद्यालयमा पठनपाठनभन्दा बढी राजनीति हाबी हुने गर्दछ । निजी विद्यालयबीच हुने प्रतिष्पर्धाले शैक्षिक गुणस्तरदेखि विभिन्न रचनात्मक क्रियाकलापमा निकै सुधार आएको छ । निजीको तुलनामा सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरमा ध्यान दिन सकेका छैनन् । सामुदायिक विद्यालयहरुलाई नियमन गर्ने निकाय भएपनि त्यसको कार्य प्रभावकारी नहुँदा विद्यालयका भौतिकदेखि शैक्षिक गुणस्तर पनि खस्कदै गएको छ । केही सामुदायिक विद्यालय भने शिक्षक र अभिभावकको प्रयासमा निजीसंग प्रतिष्र्धा गर्न सक्षम समेत बनेका छन् । सामुदायिक विद्यालयमा पठनपाठनको लागि राम्रो वातावरण बनाउने होभने विद्यार्थीको अभाव कहिल्यै झेल्न समेत पर्दैन । त्यसको लागि केवल विद्यालय प्रशासन र अभिभावकले विशेष चासो दिन जरुरी छ ।
विविध समस्या झेल्दै आएका सामुदायिक विद्यालयलाई राम्रो बनाउनको लागि प्रयास पनि भईरहेको छ । यसै सन्दर्भमा जिल्लाका मावि प्रधानाध्यापकहरुको भेलाले विद्यालय तहको शैक्षिक गुणस्तर सुधार गर्न लगायतका १९ बुँधे घोषणापत्र जारी गरेको छ । विद्यालयको शैक्षिक र भौतिक अवस्था गुणस्तरिय बनाउनको लागि विद्यालयका शिक्षकहरुले चाहेर मात्रै हुँदैन त्यसको लागि अभिभावक पनि प्रतिबद्व भएर लाग्न जरुरी छ । निजी जस्तै सामुदायिक विद्यालय युग सुहाउँदो शिक्षा प्रदान गर्न सक्षम भएपनि अभिभावकले त्यसतर्फ चासो नदिँदा चर्काे मुल्य तिरेर निजीमा पढाउनु पर्ने अवस्था सिर्जना भएको छ । अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ । प्रअ नियुक्तिदेखि लिएर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कुन पार्टीकोलाई बनाउने भन्ने विषयमा महाभारत चल्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको हो । विद्यालयका शिक्षकलाई लगाम लगाउने काम विद्यालय व्यवस्थापन समिति भएको हुँदा अभिभावक सबैभन्दा प्रतिबद्व भएर विद्यालय सुधारमा लाग्न जरुरी छ ।
मावि शिक्षकको भेलाले विद्यालयको भौतिक पुर्वाधार सुधारका लागि गुरु योजना निर्माण गर्ने, विद्यालयको सेवा क्षेत्र एकिन गरी सबै बालबालिकालाई विद्यालय ल्याउने, शैक्षिक सत्रको अन्तसम्म भर्ना भएका सबै बालबालिका टिकाई राख्न बालमैत्री विद्यालय व्यवस्थान गर्नुपर्ने घोषणा गरेका छन् । घोषणा गर्नु मात्रै ठूलो कुरा होइन, यसको कार्यान्वयन ठूलो कुरा हो । जनचेतना र गरिबीका कारण अझैपनि धेरै बालबालिकाहरुले पढ्दा पढ्दै बीचमा छोड्न बाध्य भएका छन् । अझैपनि सडकमा बालबालिकाहरु कवडाी संकलन गरेर भोक मेटाईरहेका छन् । त्यस्ता बालबालिकाहरुलाई विद्यालयमा ल्याउनु चुनौतिपूर्ण छ । तर, असंभव भने छैन । त्यसैले घोषणा गरेका कुरालाई कार्यान्वयनमा ल्याउनको लागि शिक्षाको सर्वाेच्च निकाय, शिक्षक, विभिन्न संघ संस्था र अभिभावकले जिम्मेवार भूमिका खेल्नु पर्छ ।
Previous Articleदरबारियाको षडयन्त्रको चक्रव्यूहमा भारदारहरुको उत्थान र पतन
Next Article रोगको कारण नबनोस् दशै