बिन्जु खड्का
हिन्दुहरुको महान् चार्ड दशैं हामी सबैको घर–घरमा अइसकेको छ । सम्पूर्ण नेपालीहरु घुमधाम, हर्षोल्लासका साथ यस चार्ड मनाउँछन् । सामान्य अवस्थामा भन्दा मानिसले चाडपर्वको समयमा आफूलाई बढी नै मनोरञ्जन गर्न चाहन्छन् । नेपाली समाजको दशै महान् चार्ड, जहाँ वर्षभरिका दुःख बिर्सदै रमाइलो गर्ने प्रयास गरिन्छ । तर यी चाडपर्वमा गरिने खानपिनको लापरबाहीले विभिन्न रोग निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ । त्यसकारण हामीले यसका असरहरुको बारेमा जान्नु पनि उत्तिकै जरुरी छ ।
दशैको समयमा उक्त रक्तचाप, मुटु र पेटजन्य समस्याको बिरामीको संख्या ह्वात्तै बढ्ने गर्दछ । चाडपर्वको समयमा दिर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेका तर लक्षण नदेखिइसकेकाहरुमा एकैपटक लक्षण देखिन थाल्छ । दशैका समयमा आउने बिरामीको अधिकांश चाप खानपिनसंग सम्बन्धित हुन्छ भने अपच, पखालाजन्य र निन्द्रासंग सम्बन्धित समस्या पनि चार्डवाडकै कारण निम्त्याएका हुन्छ । नेपाली समाजमा अधिकांश चाडपर्व विशेष प्रकारका खानेकुरासँगै जोडिएर आउँछन् । नेपाली समाजमा दशैको बेलामा मासु–भात, मासु–चिउरा तथा मासुका अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लोपना भएका खानेकुरा बढी खाइन्छ ।
कति ठाउँमा मासु–भात खानाका लागि पहिलेदेखि नै खसी, बोका, सुंगुर आदि पालिएर राखिएको हु्न्छ । मिठा परिकारले समयलाई रमाइलो त बनाउँछ । तर खानामा विशेष ध्यान दिन सकिएन भने अस्वस्थ बनाउने समय पनि चाडपर्व नै बन्छ । पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना भएपनि लगातारको सेवन र अत्याधिक चिल्लोपनले ती खाद्यपदार्थ स्वास्थ्यमैत्री छैनन् ।
वयश्क र वृद्ध उमेरका अधिकांश मानिसमा मासुको सेवनले फाइदाभन्दा हानि नै बढी गरिरेहेको पाइन्छ । सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु उच्च कोलेस्टोरल, उक्त रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धि समस्या भएकाहरुलाई त अभिशाप नै बन्न सक्छ । विज्ञहरुका अनुसार, मासु प्रोटिनको राम्रो स्रोत भएपनि यसमा कोलेस्ट्रोल, चिल्लो पदार्थ, ट्राइग्लासिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रुपमा उपभोग गर्न नसक्दा यसले समस्या थप्छ । युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु र रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अनि सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।
रातो मासु अर्थात् खसी, बोका, राँगा, बंदेल र भेडा आदिको मासुमा प्रोटिनको साथै फ्याट्टी एसिड (Fatty Acid) पनि प्रशस्त मात्रामा हुन्छ । जसका कारण मासुमा भएको कोलेस्टेरोलले भन्दा यसमा भएको फ्याट्टी एसिडले (Fatty Acid) शरिरलाई हानी पु¥याउँछ । शरीरभित्र कोलेस्टोरोल फ्याट्टी एसिडसँग (Fatty Acid) मिलेपछि खराब चिल्लो बन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाएको मासु वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ ।
भित्री अंगहरु मुटु, कलेजो, मृगौला र फोक्सोमा कोलेस्टोरेलको साथै भिटामिन A,D,E, तामा, लौहतत्व, जिंकजस्ता खनिजतत्व पनि यी अंगमा प्रशस्त मात्रामा पाइन्छ । विज्ञहरुका अनुसार, कलेजो फलामको (Iron) राम्रो स्रोत भएपनि यसमा रासायनिक पदार्थहरु फोहोरको रुपमा जम्मा हुने भएकाले कलेजो उपभोग नगर्दा नै राम्रो हुन्छ । मासु खानै परेमा सेतो मासु उपयुक्त हुने सेतो मासुमा कुखुरा र हाँसको मासु प्रोटिनको उत्तम स्रोत हो । यसमा रातो मासुको दाँजोमा चिल्लो पदार्थ पनि कम हुन्छ । केहि वर्ष अघिसम्म मदिरा थोरै व्यत्तिले लुकेर खाने वस्तु मात्र थियो । अहिले सोसल (Social) बन्ने वा आधुनिक हुने बहानामा धेरै घरमा रक्सी छिरिसकेको छ । मदिरा थोरै पिउँदासम्म मन खुशी र आनन्दको अनुभूति भएपनि धेरै भएपछि चक्कर लाग्न, टाउको दुख्ने, वान्ता हुने र बेहोस हुने हुन्छ ।
मदिराजन्य पदार्थमध्ये वियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी, हिवस्की आदिमा अल्कोहलको मात्र बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरिरको सबै भागमा पुग्छ, रक्सीमा अत्याधिक मात्रामा क्यालोरी हुने भएकाले यसरी तौल बढाउँछ । तौल बढेपछि शरीरका विभिन्न अंगमा समेत असर गर्छ, मधुमेहको औषधी सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मृगौला खराब हुने सम्भावना बढी हुन्छ । रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकरात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ । रक्सीलाई पचाउने काम केलेजोको हो, कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिदै जल्दै जान्छ (Metabolism), यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो उर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकाले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट पार्दै जान्छ । अनि लिभर सिरोसिस हुन गई कलेजोले काम गर्न छोड्छ ।
रक्सीको अत्याधिक सेवनले कलेजो, मस्तिष्क, मुटुरोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पु¥याउँछ । रक्सीले रक्तचाप बढाउने र मस्तिष्क घात, ग्यास्ट्रोक, प्यारालाइसिस, मुटु सुन्निने र राम्रोसंग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । चाडपर्वको अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई Heart Failure हुनसक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ । साथै रगतमा युरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ । नेपाली भान्सामा स्वादका लागि मसला र तेलको प्रयोग नै बढी गर्ने परम्परा छ । अत्याधिक चिल्लोको सेवन पनि रोगको प्रमुख कारक हो । तेलमा ३ प्रकारका फ्याटी एसिड (Fatty Acid) पाइन्छ । स्याचुरेटेड, मोनोअन स्याचुरेटेड र पोलिअन स्याचुरेटेड । Saturated Fatty acids ले मुटुलाई हानी गर्छ । तेलमा प्रशस्त मात्रामा हुने Triglyceride ले कोलेस्टोरलको उत्पादन बढाउने र मुटुमा नकरात्मक असर गर्छ ।
चिल्लो पदार्थ शरीरका लागि आवश्यक छ । तेलमा कोलेस्टोरल हुँदैन तर unsaturated fat बढी हुन्छ । यस्तै घिउमा कोलेस्टोरोल र स्याचुरेटेड फ्याट बढी हुन्छ, जुन मुटुका लागि बढी हानिकारक हुन्छ । त्यसैले दशैमा भान्सामा सकेसम्म चिल्लो पदार्थको प्रयोग घटाउनु उपयुक्त हुन्छ । त्यसमा पनि विभिन्न मिठाई र मर मसाला बनाउन चिल्लो पदार्थलाई धेरैपल्ट तताएर समेत प्रयोग गरिन्छ । जति धेरैपटक ततायो उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ । जुन स्वास्थ्यका लागि धेरै हानिकारक छ । चाडपर्वको बेला चिल्लो बोसो, मासु धेरै खाने चलन छ । मुटुरोगीहरुले यस्तो परिकार खाँदा धेरै विचार पु¥याउने पर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टोरल धेरै हुन्छ । तेल वा चिल्लो पदार्थमा फ्राइ गर्दा यो झन् हानिकारक बन्छ । यस कारण बोसो र छाला नभएको मासु खाने प्रयास गर्नुपर्दछ । यसर्थ मासुलाई उसिनेर वा रोष्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा त्यससँगै हरियो सागपात र सलाद पनि खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
खाना मात्रै होइन, दशै लगायतका चाडपर्वमा गरिने अन्य खेलबाडले पनि रोग थप गरिरहेकै हुन्छन् । निन्द्रा बिगारेर रातभरि जुवातासमा बस्ने बानीले जित्नैपर्छ भन्ने तनाब थप्छ । रातभरी नसुत्दा अर्को दिनभरी मानिसमा ताजापन आउँदैन । दुई तीन दिन यहि अवस्था भएमा निन्द्राको चक्र नै खलबलिएपछि मानिस रिसाउने, चिडचिडापन बन्ने र झर्किने समस्या देखिन्छ । चाडपर्वको समयमा बढी मदिरा सेवन गर्ने र फुर्सदिलो हुने भएकाले मानिसहरु बढी यात्राको मुडमा हुने भएकाले दुर्घटनाको संभावना पनि बढी हुने गरेको पाइन्छ । चाडपर्वहरु सधै बाञ्चुन्जेली मनाउन पाउने विचार छभने एउटै चार्डको खानपीनले अरु आउने चार्डहरुको रमाईलोलाई नखोसोस् । हामीले एकदमै ध्यान दिनुपर्ने कुरा जिब्रोको स्वादलाई मात्र ध्यान नदिई अरुपनि हाम्रा महत्वपूर्ण अंग मुटु, कलेजो इत्यादिको हितलाई पनि ध्यान दिनुपर्छ । स्वस्थ रहनुहोस्, स्वस्थ खाना खानुहोस्, सधैं चाडबाड मनाउनुहोस् ।
(खड्का निलगिरी अस्पतालकी नर्सिङ इन्चार्ज हुन् ।)
Previous Articleशैक्षिक सुधारमा प्रतिबद्वताको खाँचो
Next Article टोलीद्धारा अखाद्य वस्तु बरामद