बागलुङ, २२ चैत– सामान्यतया जुनसुकै बिषयमा झगडा, बिबाद र द्वन्द्व भएमा अदालतमा पुगेर मुद्धा दायर गर्ने र लामो समय पछि अदालती प्रकृयाबाटै हारजीत मार्फत छिनोफानो गर्ने पुरानो चलन हो । तर छोटो समय, बिबाद कम गर्दै बिबादित पक्षलाई समेत मेलमिलापमा लैजाने र दुवै पक्षलाई जीत जीतको तहमा लैजाने प्रकृयाको रुपमा सामुदायिक मेलमिलाप शुरु भएको छ । केही समयदेखि मात्र नेपालमा प्रयोगमा आएको मेलमिलापको अभियानलाई प्रभावकारी बनाउन मेलमिलाप परिषदले बागलुङमा प्रदेश नम्बर ४ स्तरीय तालिम आयोजना गरेको छ । प्रदेशका अधिकांस जिल्लाका कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी तथा नागरिक समाजका सदस्यहरु समेत गरी २७ जनाका लागि यो तालिम दिइएको हो ।
मेलमिलाप परिषदको सहयोग र नेपाल महिला न्यायाधिस मंचको आयोजनामा शुरु भएको तालिमको बुधवार उच्च अदालत बागलुङका मुख्य न्यायाधिस शेषराज शिवाकोटीले उद्घाटन गरे । उनले तालिम शुभारम्भ गर्दै हरेक मुद्दाका दुवै पक्षलाई समुदायमै मिलाएर राख्न सक्ने अभ्यास भएकाले नेपालमा पनि प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले बिदेशका अभ्यासबाट नेपालीले पनि पाठ सिकेर मेलमिलाप मार्फत समाजलाई अग्रगतीमा हिडाउन सकिने धारणा राखे ।
बिषेशगरी मेलमिलाप मार्फत मुद्दालाई छिनोफानो गर्दा दुवै पक्षले जीतको महसुस गर्ने तथा उनीहरुको मनोभावना सकारात्मक बन्ने गरेको पाइएको छ । नेपालमा हालै मात्र यो प्रयोगमा आएकोले यकिन तथ्यांक नभएपनि मेलमिलापको प्रकृतिले समाजमा द्वन्द्व न्युनिकरणमा सहज अवस्था सिर्जना हुने समेत बताइएको छ । मेलमिलाप मार्फत सिंगापुर, श्रीलंका र बंगलादेशमा राम्रो प्रभाव परेको र ८५ प्रतिशत सम्म बिबादहरु अदालत नगई मेलमिलाप मार्फट टुंगोमा पुग्ने गरेका छन् ।
कार्यक्रममा नेपाल महिला न्यायाधिस मंचका अध्यक्ष शारदा श्रेष्ठ, अधिवक्ता ईश्वरीप्रसाद भट्टराई, मंचकै सचिव सरिता श्रेष्ठ लगायतले सहजीकरण गरेका छन् । उद्घाटनको अवसरमा उच्च अदालत बार ईकाईका अध्यक्ष केशवराज पराजुली, परिषदका शाखा अधिकृत देवीराम भण्डारी लगायतले बोलेका थिए । तालिम चैत २८ गते सम्म संचालन हुनेछ ।
Previous Article‘स्थानिय तहका काम र समस्या बाहिर आउनुप¥यो’
Next Article सहकारी युवा सम्मेलनबारे