अमृत सुवेदी
पोखरा, २२ चैत – प्रदेश ४ का सांसदले बुधबार भएको प्रदेशसभामा समसामयिक आवाज मात्र उठाएनन्, रोचक माग पनि राखेका छन् । संसदको शून्य समय तथा विशेष समयमा सांसदले आˆना कुरा राखेका हुन् । बुधबार शून्य समयमा ७ र विशेष समयमा ९ सांसदले बोले । बोल्ने सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणमा बोलाउनेदेखि प्रदेश सभा सार्ने र फेवातालको मापदण्ड कायम गर्नुपर्ने माग राखे ।
शून्य समयमा पहिलो वक्ताका रुपमा बोलेकी आशा खनालले पृथ्वी राजमार्ग बिस्तारमा ढिलाइ र त्यसले पर्यटकदेखि यात्रुसम्मलाई पारेको असरप्रति चिन्ता व्यक्त गर्दै तत्काल थाल्न माग गरिन् । संसदमा बिहे नगरी बसेका एकल महिलाका लागि भत्ताको व्यवस्था गर्न माग समेत गरे ।
सांसद इन्द्रधारा बिष्टले मुस्ताङको मुक्तिनाथ तथा दामोदर कुण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणका लागि निम्तो दिन आग्रह गरे । ‘मुक्तिनाथ तथा दामोदर कुण्डको प्रचारप्रसार गर्न प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाउन आग्रह गर्दछु,’ मुस्ताङका सांसद विष्टले भने । विष्टले मुस्ताङलाई विशेष पर्यटकीय क्षेत्रको विरुमा घोषणा गर्न आग्रह गरे ।
सांसद दीपक कोइरालाले प्रदेश सभा साविकको लेखनाथ नगरपालिकाको भवनमा सार्न संसदमा आवाज उठाएका छन् । अहिले नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेश सभा छ । नगर प्रशिक्षण केन्द्रमा सभा सञ्चालन गर्दा महिनामै लाखौं रुपैयाँ भाडा तिर्नु पर्ने, कार्यालयको अभाव अन्य समस्या पनि आएकाले कोइरालाले लेखनाथ क्षेत्रमा सार्न माग गरेका हुन् ।
पार्किङ, ट्राफिक जाम र सहरिकरणका हिसाबले पनि साविकको लेखनाथ नगरपालिकामा प्रदेश सभा सार्नुपर्ने उनको माग थियो । ‘साविकको लेखनाथ नरपालिकको अत्याधुनिक भवन छ । यहाँ पर्याप्त कोठा पनि छैनन्,’ कोइरालाले भने, ‘प्रशिक्षण केन्द्रमा प्रदेश सभा चलेपछि यहाँ क्रिकेट मैदान रोकिएको छ ।’
सांसद कोपिला बोहोराले उनले बिहे नगरी बाबुआमा र भाइबहिनी पालेर बसेका एकल महिलालाई भत्ताको व्यवस्था गर्न पनि माग गरिन् ।पोखरा-बागलुङ सडकखण्ड बिग्रेकाले लामो समयदेखि सास्ती खेप्नु परेकाले तीब्र रुपमा निर्माणको पहल गर्न आग्रह गरिन् ।
कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुल नारायणी किनारका बोटे, माझी लगायतका व्यक्ति जिबिकोपार्जनका लागि चितवन राष्ट्रिय निकुञ्ज जानुपर्दा समस्या भएकाले उनीहरुको जिविकोपार्जन र बसोबासको व्यवस्था गराइदिन सरकारको ध्यानाकर्षण गराए ।
बागलुङका सांसद ईन्द्रलाल सापकोटाले बागलुङको धौलागिरी अञ्चल अस्पताललाई व्यवस्थित बनाउन प्रदेश सभासँग माग गरे । ‘३ जनामात्रै डाक्टर, २ वटा नयाँ भवन निर्माणमा ढिलाई भएकोप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सापकोटाले भने । अर्का सांसद कृष्ण थापाले वषौंदेखि दुदर्शा भएको बागलुङ-कुश्मिशेरा सडकको तत्काल कि ग्राभेल कि पिच गर्नका लागि पहल गर्न आग्रह गरे ।
संसदमा विशेष समय मागेर गोराखाका सांसद हरिशरण आचार्यले पोखराको फेवातालको कुरा उठाए । प्रदेशकै राजधानी पोखराको मुख्य पर्यटकीय सम्पदा दोहन र खुम्चिँदै गएको प्रति उनले चिन्ता व्यक्तिमात्रै गरेनन्, सडक खुला गर्ने अभियान चलेजस्तै फेवाताल अतिक्रमण अटाउने अभियान चलाउनेपर्ने बताए ।
नयाँ शक्तिको सांसद आचार्यले फेवाताल खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै जनतालाई ऐन र सत्ता र शक्तिमा रहेका व्यक्तिलाई चैन भएको बताए । ‘ताल मिचेर बडेबबडे बिल्डिङ बनिरहेका छन् । ताल संरक्षण गर्न बनेको समितिबाट व्यक्तिगत जग्गामा घर बनाउन राक्ने काम भएको छ,’ आचार्यले प्रश्न गरे, ‘जनतालाई ऐन लाग्ने तर तर शक्तिका आडमा बिल्डिङ ठड्याउने ठूलाबडालाई नलाग्ने यो कस्तो राज्य व्यवस्था हो ।’ उनले सडकभन्दा तल ताल क्षेत्रका सबै घर तथा जग्गा सरकार मातहतमा आउनुपर्ने बताए । सरकारमा ९ सय ५० लालपूर्जा खारेज गर्न गरिएको सिफारिस कार्यान्वयन गर्न मागसमेत गरे ।
सांसदले लामो समयदेखि आन्दोलनको चपेटामा परेको पोखरा मनिपाल शिक्षण अस्पतालप्रति सरकारको ध्यानाकर्ष गराए । कास्कीका एमाले सांसद कृष्णबहादुर थापाले पोखराको मनिपाल शिक्षण अस्पतालको आन्दोलनप्रति ध्यानाकर्षण गराए । अस्पतालका चिकित्सक तथा कर्मचारीले गरेको आन्दोनमा प्रहरीले ज्याजति गर्दा केही घाइते र केहीलाई बन्दक बनाएको भन्दै सांसद थापाले सरकारको ध्यानाकर्षण गराए । थापाले सेती तथा फुस्रे खोलामा अनाधिकृत रुपमा क्रसर उद्योग चलेको भन्दै छानबिनका लागि आवाज उठाए । सांसद थापाले करोडौं लगानीमा बनेको पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल जोखिम अवस्थामा रहँदा तत्काल संरक्षणका लागि पहल गर्न आग्रह गरे ।
कांग्रेसका सांसद बिन्दु थापाले पनि मनिपालकै घटनामा घाइते चिकित्सक-कर्मचारीको निशुल्क उपचार र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । उनले विदेशी चिकित्सक र नेपाली चिकित्सकबीच असमान सेवासुविधा रहेकाले समान सुविधाका लागि पहल गर्न माग गरे ।
संसदमा बोल्ने सांसदले महिला तथा बालबालिकामाथि हुने जघन्य अपराधप्रति सरकारले विशेष नीति बनाउने पर्ने पनि बताए । जनमोर्चाकी सांसद पियारी थापाले महिला तथा बालबालिकामाथि जघन्य अपराध भइरहेकोप्रति चिन्ता व्यक्त गरिन् । प्रदेश सरकारको यससम्बन्धी नीति के हो भन्ने स्पष्ट हुनुपर्ने उनको आवाज थियो ।
सांसद चन्द्रमोहन गौचनले कोरला नाका खोल्न र नियमित सञ्चालन गर्न माग गरे । अर्का सांसद विनोद केसीले म्याग्दी मालिका गाउँपालिका- २ बेली रुमका धनबहादुर रोकार र तिलमती रोकाका ३ छोराले वैदेशिक रोजगारीमा ज्यान गुमाएको र बाबुआमा पनि अशक्त रहेकाले सहयोग गर्न प्रदेश सरकारसँग अपील गरे ।
सांसद जनकलाल श्रेष्ठले कोरला-त्रिवेणी सडक निर्माणलाई जोड दिए । अर्का सांसद भागवतप्रकाश मल्लले स्याङ्जाका अधुरा योजनालाई तत्काल पूरा गर्न प्रदेश सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
वैठकमा विधायन समितिका ज्येष्ठ सदस्य कृष्णचन्द्र नेपालीले लिखत प्रमाणीकरण विधेयक र स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धी विधेयक सामान्य हेरफेर गरी प्रतिवेदन संसदमा प्रस्तुत गरेका थिए । संसदको अर्को बैठक २३ गते १ बजे बस्नेछ ।