देशका सुगम ठाउँमा आवश्यकता भन्दा बढी शैक्षिक संस्थाहरु खुलिरहेका छन् । जनघनत्व बढी भएको ठाउँमा शैक्षिक संस्था खुल्नु स्वभाविक पनि हो । शहरी क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थासंगै सामुदायिक शैक्षिक संस्था पनि संचालनमा आएका छन् । शहरका विद्यार्थीहरुले रोजीछाँटी विद्यालयमा पढ्ने अवसर पाएका छन् । सुविधा सम्पन्न भौतिक संरचनामा रमाउँदै शहरी क्षेत्रका विद्यार्थीहरुले गुणस्तरिय शिक्षा हासिल गर्ने अवसर पाएका छन् । उनीहरु विद्यालय जानको लागि पैदल हिड्नु पर्दैन । घर–घरमा निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी बोक्नको लागि सवारी साधनको व्यवस्था गरेका छन् । शहरी क्षेत्रका विद्यार्थीले आफ्नो रुची अनुसारका विषयमा उच्च शिक्षाको अध्ययन गरिरहेका छन् । शहरी क्षेत्रका सामुदायिक विद्यालय पनि गुणस्तरिय शिक्षा प्रदान गर्ने सवालमा निजी क्षेत्रभन्दा कम छैनन् । शहरका विद्यार्थीले सहज रुपमा गुणस्तरिय शिक्षा प्राप्त गरिरहेका बेला दुर्गम गाउँका विद्यार्थीले मावि तहदेखि उच्च शिक्षाको अध्ययन गर्नको लागि निकै नै सास्ती खेप्नुपर्ने विकराल अवस्था छ ।
जिल्लाका ग्रामिण क्षेत्र विद्यालयको संख्या कम हुँदा मावि तहदेखि उच्च शिक्षा हासिल गर्नको लागि घण्टौं पैदल यात्रा गर्नुपर्ने अवस्था छ । शहरमा केन्द्रित सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुँदा मर्ज हुने क्रम चलिरहेका बेला गाउँका बालबालिकाहरुले मावि तहदेखि उच्च शिक्षा अध्ययन गर्नको लागि घण्टौ हिड्नु पर्ने बाध्यता छ । हुने खानेका छोराछोरीले त होस्टेलमा बसेर पढिरहेका छन्भने आर्थिक अवस्था कम हुने बालबालिका भने घण्टौं पैदल यात्रा गरेर विद्यालय पुग्नु पर्छ । यस्तै बाध्यताबाट गुज्रिरहेका छन् सदरमुकामदेखि ३६ कोस टाढा तमानखोला गाउँपालिका–६ भित्रीवनका विद्यार्थीहरुले । भित्रीवनका बालबालिकाले बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो गर्नुपर्छ नत्रभने समयमै विद्यालय पुग्न सकिदैन । खोला, गल्छेँडा र भिरको बाटोहुँदै भित्रीवनका विद्यार्थीहरु तीन घण्टाको पैदल यात्रा गरेर विद्यालय पुग्छन् । शारीरिक र मानसिक थकान बोकेर विद्यालय पुग्ने उनीहरु घर फर्कदा साँझ परिसकेको हुन्छ ।
शहरका बालबालिकाहरु आलिसान महल जस्ता देखिन सुविधा सम्पन्न विद्यालयमा पढ्न पाईरहेका छन्भने विकट गाउँका विद्यार्थी कठिन शारीरिक परिश्रम गरेर जोखिमयुक्त भवनमा पढ्न बाध्य छन् । शहरमा आवश्यकता भन्दा बढी विद्यालय खोलिनु र विकट गाउँमा मावि र उच्च मावि तहका विद्यालय संचालन गर्न नसक्दा तमानखोलामा मात्रै होइन जिल्ला विकट गाउँका बालबालिका माध्यामिक तहबाट नै पढाई छाड्न विवश छन् । लामो समयपछि गाउँगाउँमा अहिले स्थानिय तहको चुनावमार्फत स्थानिय सरकार गठन भएका छन् । स्थानिय सरकारले अब आफ्नो गाउँका बालबालिकालाई गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था गर्न जरुरी छ । विकट गाउँमा नजिकमा विद्यालय नहुँदा बालबालिकाहरुले बीचमा नै अध्ययन गर्न छाडेर वैदेशिक रोजगारमा हिडेका थुप्रै उदाहरणहरु हाम्रो समाजमा छन् । पढ्ने उमेरमा विद्यालय छाड्ने कारण पनि बनेको छ पायक पर्ने ठाउँमा विद्यालय नहुनु । गाउँमै मावि तहको विद्यालय नभएपछि भित्रीवनका बालबालिकाहरु उनी तीन घण्टाको दूरीमा रहेको शान्ति मावि, खुङ्खानी जान बाध्य छन् । यि त उदाहरण मात्रै हुन् । यस्ता समस्या जिल्लाका विकट क्षेत्रका बेग्रल्ती छन् । अब बालबालिकाहरुले पायक पर्ने ठाउँमा विद्यालयको व्यवस्था गर्न स्थानिय सरकारले प्रभावकारी भूमिका खेल्नु पर्छ ।
Previous Article२०७४ चैत २१ गते बुधबारको राशिफल
Next Article बैंकको चर्काे व्याज र घरभाडाले थला परेका व्यवसायी