बागलुङ, १८ असोज – गाउँ तहमै सचिवले दिंदै आएको सामाजिक सुरक्षा भत्ता लिन आएका बानपा ७ कालीमाटीका ७८ बर्षिय सर्वजीत विक चर्को घामले सडकमै ढले । ससुरालाइ लिएर आएकी बुहारीलाइ पानी खोजेर खुवाउन सास्ती भयो । बिहान उठ्ने वित्तिकै हिडेका उनीहरु ९ बजे बजारमा आएपछि कृषि विकास बैंकमा भत्ता लिनका लागि लाइन बसेका थिए ।
दिउसो १ बजेमात्र पालो आएपछि चार महिनाको ८ हजार सुरक्षा भत्ता पाएका दर्जीलाइ बेलुकी घर पुग्न उत्तिकै सास्ती प¥यो । लङगाउँकी ७५ बर्षिय पवित्रा थापाले पनि साथी लिएर आएर दिनभरी चर्को घाममा विताउँदा हैरानी भएको गुनासो गरिन् । बानपा–३ गुठीकी वृद्ध मसुरी सर्कीनीको च्यातिएको पास बुक भन्दै बैंकका कर्मचारीले फिर्ता पठाएपछि कता गएर कसरी कागज बनाउने भन्ने चिन्तामा परेकी छिन् ।सडकमा निस्केर उनले रुदै घरमा आफ्नो भन्ने कोही छैन, कसले कागज बनाइदेला भन्दै अलपत्र परेकी थिइन् । ‘सचिवले च्यातिएको कागज भएपनि ठम्याएर भत्ता दिएर फर्कन्थे ।
बैंकमा आएको पैसाले हामीले बुढेसकालमा दुःख पायौं’ सर्किनीले भनिन्, ‘यो दशैमा मैले पैसा पाउन सकिन भने हातमुख जोर्ने केही उपाया छैन ।’ शारिरीक रुपमा असक्त भएकोले हिड्न नसकेको उनले गुनासो गरिन् । नगरपालिकाले सामाजिक सुरक्षा भत्तालाइ बैंकमार्फत दिने व्यवस्था भन्दै कृषि विकास बैंकमा खाता खोलेर भुक्तानीको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाले वृद्धवृद्धालाइ भने सास्ती परेको छ । भत्ता लिनका लागि एक दिनभरी घरमा ढोका लगाएर आउन बाध्य भएको र एक जना सहयोगी समेत लिएर आएको उनीहरुले बताए । गाविस र नगरपालिकाका सचिवहरुले मृत्यु भैसकेका वृद्धहरु जीउदै छन् भन्दै केही रकम अनियमितता गरेको आरोप लागेपछि बैंक मार्फत भुक्तानी दिने व्यवस्था गरिएको हो । तर उक्त व्यवस्थाले ग्रामीण बस्तीका वृद्धवृद्धा तथा सहयोगी नभएकाहरुले बढी सास्ती खेप्न बाध्य भएका हुन् ।
बैंकले औपचारिक र कागजातमा सामान्य त्रुटी भएमा पनि भुक्तानी नदिने भएपछि अधिकांसले थप समस्या भोग्नुपरेको गुनासो गरेका छन् । ‘कागजमा के लेखेको छ हामीलाइ थाहा छैन, सचिवले यसैबाट सजिलै पैसा दिन्थे, अहिले पाउन गाह्रो प¥यो’ बानपा ८ की ८० बर्षिय गौमती केसीले भनिन्, ‘अक्षर नचिनेको कारण बुढेसकालमा दुःख पाइयो ।’ भत्ता लिनका लागि बैंकमा शनिवार पनि सेवा दिइएको थियो । सेवा दिएपनि औपचारिकता र कागजात मिलाउनुपर्ने भएपछि धेरैले सास्ती खेप्नु परेको गुनासो गरे ।
अघिल्लो बर्ष जिविसले सबै गाविसतहको पनि बैक मार्फत भत्ता वितरण गर्ने व्यवस्था गर्दा सिटिजन बैंकले जिम्मा पाएको थियो । बैकबाट भुक्तानी दिंदा अघिल्लो बर्ष झन विवाद र सास्ती खेप्नुपरेको गुनासो आएपछि हटाइएको थियो । यसैगरी बालबालिकालाई वितरण गरिने पोषणभत्ता भने दशैतिहार पछि मात्रै वितरण गरिने कृषि विकास बैंकले जनाएको छ ।