राम थापा
बागलुङ, १८ चैत–तमानखोला गाउँपालिका–६ मा रहेको तामाखानी उत्खननको पर्खाइमा छन् । नर्जाखानी, भित्रिवन र पात्ले गाउँ नजिक अहिले पनि तामाखानीका सुरुङ र अवशेष बाँकी छन् । विसं १९८१ मा बन्द भएका तामाखानी उत्खनन हुन सकेका छ्रैनन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) चल्ती बसालेपछि स्थानीयवासीले तामा निकाल्न छोडेका थिए । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गर्थे । स्थानीय ७४ वर्षीया दिलबहादुर छन्त्यालले श्री ३ चन्द्र शम्शेरको पालाबाट खानी खन्न बन्द भएको बताए ।
उनकाअनुसार त्यस ताका छन्त्यालको मुख्य पेशा नै खानी खन्ने थियो । ‘बाजे, पुर्खाले माटो सुँधेर खानी पत्ता लगाउँथे’ उनले भने, “अहिले सबै हराएर गयो ।” तमानखोला क्षेत्रका थुप्रै ठाउँमा तामाखानी रहेको विष्णु आधारभूत विद्यालयका प्रअ ओमप्रसाद छन्त्यालले बताए । संरक्षण र उत्खनन हुन नसक्दा तामाखानीको अस्तित्व नै संकटमा पर्न थालेको उनको भनाइ छ । “खोज, अनुसन्धान र उत्खनन गर्ने हो भने उहाँ तामाखानीको प्रचुर सम्भावना छ”, उनले भने, “तर यसतर्फ कसैको ध्यान गएको छैन ।” करबापत तामा नै सरकारलाई बुझाउने प्रावधान आएपछि पुरानो पुस्ताले खानी खन्न छोडेको बताइन्छ । राज्यलाई तिर्नुपर्ने करलाई त्यसबेला भेजा उठाउने भन्ने चलन रहेको प्रअ छन्त्यालले बताए । “हाम्रो ठाउँमा कर उठाउने जिम्मा सात गाउँका डिठ्ठा वर्षवीर छन्त्यालले लिएका थिए,” उनले भने, “कर बढी लागेपछि गाउँलेले खानी खन्नै बन्द गरेका थिए ।” खानीबाट निकालिएको तामा महँगा भाँडावर्तन र सिक्का बनाउन प्रयोग गर्ने गरिन्थ्यो । खानीमा महिनांै बिताएर उत्खनन गरेको तामाबाट स्थानीयवासीले जीविकोपार्जन गर्दै आएका थिए । उनीहरूले एक पाथीकच्चा पदार्थबाट साढे ७ सय ग्रामसम्म तामा निकाल्ने गर्थे ।
तामा उत्खननको जिम्मा छन्त्यालले लिए पनि त्यसलाई आफर लगाउने काम दलित र बेच्ने काम थकालीले गर्ने गर्थे । तामाखानी उत्खननका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने वार्ड नं ५ का अध्यक्ष कुलबहादुर छन्त्यालले बताए । पहिले खानी खनेका ठाउँमा एक किलोमिटर भन्दा लामा सुरुङ रहेको उनको भनाइ छ । “सुरुङ रहेकै ठाउँमा उत्खनन गर्न सकिए तामाखानी भेटिन्छ”, उनले भने, “खोजमा आधुनिक प्रविधि र यन्त्रको प्रयोग गर्नुपर्छ ।’ तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउन सके रोजगारी सिर्जनाका साथै ठूलो आर्थिक लाभ लिन सकिन्छ । बजारमा अहिले पनि आयातित तामाका भाँडा बिक्रीवितरण भइरहेका छन् ।
Previous Articleअसिना पानीले करोडौको क्षति
Next Article बलेवामा सात जना स्रष्टालाई प्रतिष्ठानको सम्मान