बागलुङ, १६ चैत– रायडाँडामा धामीझाँक्रीको काम गर्दै आएका भीमनाथ गौतम र होमबहादुर केसीले बिरामी बालबालिकालाई स्वास्थ्य संस्थामा उपचारका लागि पठाउन सुझाव दिन थालेका छन् । झारफुकका लागि बालबालिका लिएर आएका अभिभावकलाई उनले चेतना बिकासको काम गराउँछन् । यो अभियानले अभिभावकमा समयमै स्वास्थ्य उपचार गराउनुपर्ने चेतना बढ्न थालेको छ । बिशेषगरी सुनौला १ हजार दिन भित्रका बालबालिकाका आउने जटिल स्वास्थ्य समस्यालाई समयमा उपचार नगरे हुन सक्ने जोखिम घटाउन धामी झाक्रीलाई दिइएको तालिमपछि यो परिवर्तन आएको हो ।
कुनै रोग लाग्दा धामीझाँक्रीलाई देखाएर धेरै दिनसम्म उपचार गराउने चलन ग्रामीण क्षेत्रमा कायम छ । तर त्यस्तो चलनले बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भन्दै समुदायमा आधारित नवजात शिसु तथा बाल रोग निवारणबारे एकीकृत व्यवस्थापन अभियानमार्फत सुआहारा परियोजनाले गाउँगाउँमा यस्ता अभियान संचालन गर्दै आएको हो । यो अभियानका लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, धामीझाँक्री र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष तालिम दिईन्छ । यो तालिमपछि अभिभावकलाई सबैले स्वास्थ्य संस्थामा पुगेर समयमै रोगको उपचार गराउने कुराको सुझाव दिन्छन् । शिशु अवस्थामा बढी रोग लाग्ने र समयमा उपचार नगर्दा शिशुको मृत्यु हुन सक्ने भएकोले यस्ता क्रियाकलाप बढी प्रभावकारी भएको पाईएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका रेशम नेपालीले बताए ।
युएसएडको सहयोगमा फाउण्डेसनले संचालन गरेको सुआहारा कार्यक्रममार्फत पोषण, मातृ तथा शिशु स्वास्थ्यमा सुधार लगायतमा काम गरिरहेको छ । कार्यक्रमले सुनौला एक हजार दिन भित्रका आमा र शिशुको स्वास्थ्य सुधारका लागि विभिन्न क्रियाकलाप सहितको काम गर्दै आएको छ । पहिलो चरणमा रायडाँडा, मुलपानी र मालिकाका स्वास्थ्य चौकीमा यस्ता तालिम सम्पन्न भैसकेका छन् ।
तालिमपछि जनप्रतिनिधिमा पनि तत्काल उपचारका लागि स्वास्थ्य संस्था पठाउनुपर्ने धारणा पलाएको पाईएको हो । ‘झारफुकमा विश्वास गर्नेलाई पनि हटाउन नसक्ने अभिभावकलाई दुवै काम गर्न लगाएर स्वास्थ्य अवस्था सुधारमा सहयोग गर्न थालेका छौं’ बानपा ७ का अध्यक्ष खगराज गौतमले भने, ‘जिम्मेवार व्यक्ति र धामीझाँक्रीले भनेको कुरा धेरै विश्वसनीय हुने रहेछ ।’ स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष रहने व्यवस्थापछि यो परिवर्तन गर्न अझै सहज भएको नेपालीले बताए । यो अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरु पनि सक्रिय बन्न थालेका छन् । ‘तालिमपछि हामीले पनि धेरै कुरा बुझ्ने मौका पायौं’ हर्राचौर स्वास्थ्य आमा समूहकी अध्यक्ष मिनकुमारी रेग्मीले भनिन्, ‘विभिन्न रोगका लक्षणबारे पनि थाहा भएपछि उपचारका लागि पठाउन सहज भएको छ ।’ विशेषगरी निमोनिया, झाडा पखाला, ज्वरो, श्वासप्रश्वास लगायतका रोगमा तत्कालै उपचारका लागि पु¥याउनुपर्ने सुझाव उनीहरुले दिन थालेको रेग्मीले बताईन् ।
फर्सीको खिर
पशुलाई मात्र खुवाउने गरिएको फर्सीलाई पोसिलो खानाको रुपमा प्रयोगमा ल्याउन सकिने भन्दै परियोजनाले गाउँगाउँमा फर्सीको खिर खुवाउने अभियान संचालन गरेको छ । फर्सीबाट भिटामिन पाउने कुरा थाहा नभएकोले नखाने चलन हटाउन गाउँमा आउने पाहुनालाई समेत फर्सीको खिर खुवाउने चलन थालिएको हो । भिटामिन ए शरीरले पाउँदा पोषणको अवस्थामा सुधार आउने तथा बालबालिका हस्टपुष्ट बन्न सक्ने सन्देश दिन पाहुनालाई समेत खुवाउने अभियान शुरु भएको हो । यो अभियानले जिल्लाका अधिकांस स्थानमा सकारात्मक प्रभाव परेको पाईएको हो । कार्यक्रमले सबै वडामा सचेतना अभियानमार्फत हरियो र पहेलो जातका तरकारी बढी खान सुझाव दिने गरेको कार्यक्रम अधिकृत विश्वराज आचार्यले बताए ।
झाँक्रीले स्वास्थ्य संस्था रिफर गर्छन
Previous Article२०७४ चैत १६ गते शुक्रबारको राशिफल
Next Article सुखौराको भित्रीवनमा खानेपानीको समस्या