नेपाल सरकारले शनिबार बाहेक बर्षमा १५ दिन मात्रै सार्वजनिक बिदा दिन लागेका खबर सार्वजनिक भएका छन् । गृह मन्त्रालयले गरेको तयारीका बिषयमा आएका सामाचारलाई आधार मान्ने होभने मन्त्रि परिषदको बैठकबाट यो बिषय छिट्टै टुंगो लाग्ने छ । नयाँ बर्ष नजिकिँदै गर्दा बजारमा आएको पात्रो तथा भित्तेपात्रोमा रातो रंग रंगाईएका कतिपय महिनाका दिनहरु नेपाल सरकारले समयमा निर्णय गर्न सक्यो भने पुनः कालो मसिको लेपल लगाउनु पर्ने अवस्थामा जाने छन् । यसैपनि नेपालमा बिभिन्न दिवस, पर्व, चार्ड तथा जयन्तीका नाममा दर्जनौ बिदाहरु हुने गरेका थिए । त्यो बाहेक राष्ट्रिय शोक तथा राष्ट्रिय गौरवको रुपमा मन्त्रि परिषदले निर्णय गरेर गृह मन्त्रालयले सूचना निकालेर सार्वजनिक बिदाको घोषणा गर्ने गरेको थियो । यदि अहिले गृहले गरेको तयारीलाई मन्त्रि परिषदले निर्णायक कदम चाल्यो भने अब देश तथा आम सर्वसाधारणको लागि खुसीको कुरा हुने छ ।
एकातर्फ कर्मचारीतन्त्रको ढिलासुस्ती र अर्कोतर्फ हप्तैपिच्छे पर्ने सार्वजनिक बिदाका कारण नागरिक समयमा सेवा सुबिधा लिनबाट बञ्चित हुँदै आएका थिए । नेपाल जस्तो गाउँनै गाउँले बनेको मुलुकमा प्रशासनिक केन्द्रहरु निश्चित स्थानमा हुने र गाउँदेखी प्रशासनिक केन्द्रसम्म पुग्नका लागि घण्टौं समय लाग्नु स्वभाविक हो । घण्टौ समय खर्चेर सेवा लिनका लागि प्रशासनिक केन्द्रहरुमा पुगेका सर्वसाधारण कहिलेकाहिँ सार्वजनिक बिदाकै कारण हप्तौंसम्म सामान्य सेवाका लागि कुर्नुपर्ने अवस्था थियो । निश्चित समयमा मात्रै काम हुने सरकारी अड्डा र त्यसमा पनि बिदाका कारण लम्बिने समयका कारण सर्वसाधारणले खेप्नु परेको सास्ती यदि सरकारले बिदा घटाएको निर्णय ग¥यो भने कम हुनेमा शंका छैन् । अहिले सम्मको परिपाटीलाई हेर्ने होभने नेपालमा बर्षमा अकस्मात घोषणा हुने बिदा बाहेक २२ दिनको सार्वजनिक बिदा हुँदै आएको थियो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सरकारले बिदा कटौती गर्न गरेको तयारी स्वागतयोग्य छ ।
यस अघिका सरकारले निर्णय गरेका केही सार्वजनिक बिदा र वर्षौँदेखि दिँदै आएका सार्वजनिक बिदा समेत कटौती हुन लागेकाले यो सरकारको निर्णय कुनै सरकारले गरेका निर्णयको बिरुद्धमा नभई आर्थिक समृद्धिको यात्राको बाधक हटाउने काममा हुने कुरामा शंका छैन् । सरकारले कटौती गर्न लागेका केही महत्वपुर्ण दिवस तथा पर्वहरु रहेका भएपनि कतिपय बहकाउमा लागेर गरिएका निर्णयका उपज समेत छन् । जे जसरी भएपनि सरकारी सार्वजनिक बिदा कटौतीका कारण कर्मचारी, शिक्षक तथा राष्ट्र सेवकहरुलाई बिदाको सुबिधा कम भएपनि आम नेपालीको लागि भने फलदायी कदम हुने छ । सार्वजनिक बिदाका कारण सर्वसाधारणले खेप्नु परेको दुःखको एउटा पाटो कम हुने छभने सरकारी निकायबाट प्रवाह हुने सेवा सुबिधामा समेत सहजता आउने छ । सार्वजनिक बिदा कटौतीको लागि सरकारले चालेको कदमप्रति समर्थन गर्दै अन्य रचनात्मक कामको लागि राज्यका निकायलाई प्रोत्साहन गर्नु नागरिकको दायित्व हो ।
Previous Articleराष्ट्रिय आर्थिक गणना किन ?
Next Article २०७४ चैत १५ गते बिहिबारको राशिफल