म्याग्दी, १४ चैत– धौलागिरि गाउँपालिका–२ मा रहेको लमसुङ माविमा करीव रु २६ लाखको लागतमा दुईकोठे भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाअन्तर्गत भवन निर्माण भएको हो । परियोजनाको रु १९ लाख ५९ हजार ९१३ र स्थानीयवासीको रु छ लाख १७ हजार ४२७ बराबरको श्रम तथा वस्तुगत लगानीमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए ।
भूकम्प प्रतिरोधी क्षमताको उक्त भवनमा कम्प्युटर र विज्ञान प्रयोगशाला स्थापना गरिएको प्रधानाध्यापक तुलसीनाथ सुवेदीले जानकारी दिए । परियोजनाले विद्यालयलाई चार थान कम्प्युटर, प्रिन्टर र विज्ञान प्रयोगशालाका सामग्री उपलब्ध गराएको थियो । विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालनका लागि एक हजार ८९० वाट क्षमताको सोलार जडानका लागि रु दुई लाख २२ हजार ८५० अनुदान उपलब्ध गराएको संगम म्याग्दीका शिक्षा अधिकृत चिरञ्जीवी रेग्मीले बताए । सोलार खरिद गर्न गाउँपालिकाले रु दुई लाख २७ हजार २५० विनियोजन गरेको छ ।
भौगोलिकरुपमा विकट र ६० प्रतिशत दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने लमसुङ माविको शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण, प्रयोगशाला, सोलार जडान, बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्रीमा सहयोग गरिएको अधिकृत रेग्मीले बताए । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९५ जना विद्यार्थी अध्ययनरत छन् । सन् २०१३ देखि लागू भएको परियोजनाले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुदा, मुदी र मराङका सामुदायीक बिद्यालयका बालबालिकाको बिकाशको क्षेत्रमा सघाउँदै छ ।
Previous Articleहेल्प नेपालले जित्यो कालिका कपको उपाधि
Next Article बालबिकास केन्द्रमा अध्ययन गर्ने बालबालिकालाई बिदाई