बागलुङ, १३ चैत– गाउँलेको अगुवाई मा खनिएको सडकमा लगानी नभएपछि हिउदमा पनि सडक जीर्ण भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । रिजालचोक देखि ताराखोला सम्मको ५५ किमी सडकको ट्रयाक श्रमदानबाट खुलाएपनि राज्यको निकायबाट सहयोग नपाएको स्थानीयले बताएका हुन् । सशष्त्र द्वन्द्वको समयमा भएकोले ढुंगा फोड्ने काममा युद्धरत माओवादीले बम पड्काएर सहयोग गरेर यो सडक बनाइएको थियो । हाल यो सडक अधिकांस स्थानमा ६ मीटर चौडाको छ । कम्तिमा १० मीटर चौडा बनाएर स्तरउन्नती गर्नुपर्ने स्थानीयको माग छ ।
छिमेकी म्याग्दी सम्म जोडिने यो सडकको नाम शहिदमार्ग नामाकरण समेत गरिएको छ । हाल यो सडकबाट काठेखोला गाउँपालिका देखि ताराखोला गाउँपालिका जोडिन्छ । छिमेकी म्याग्दीको रुम र ओखरबोट तर्पm पुग्न पनि यो सडक उपयोगी छ । ‘राज्यको लगानी गर्दा झण्डै ५० करोड खर्च हुने काम जनताले श्रमदानबाट ट्रयाक खुलाएका हुन्’ ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्तीले भने, ‘राज्यबाट अहिले सम्म कुनै साथ र सहयोग पाइएको छैन ।’ केन्द्रीय बजेट नभई यो सडकलाई चाक्लो बनाउने तथा अन्य स्तरउन्नती गर्न नसकिएको उनले गुनासो गरे । केही बर्षदेखि जिल्ला विकास समितिले मर्मतमा लगानी गरेको थियो । उक्त रकमले बर्षातमा भत्केको स्थानमा सम्याउने काम मात्र भएको थियो । यो बर्ष पनि गाउँपालिकाले ४० लाख रकम बिनियोजन गरेको छ । उक्त सडकले केही खण्डमा चक्ल्याउने काम मात्र संभव हुने घर्तीले बताए ।
बजेट अभावमा सडक चाहेजस्तो सुधार गर्न नसकिने उनले गुनासो गरे । ‘यो सडकलाई राष्ट्रिय योजनामा पार्न मैले धेरै पहल गरे, तर वास्तै भएन’ घर्तीले भने, ‘हाम्रो गाउँपालिकाको बिकासका लागि यो मेरुदण्ड हो, तर काठमाण्डौका कार्यालयले बुझिदिएनन् ।’ करोडौं लगानी नगरेसम्म सडक स्तरउन्नती हुन नसक्ने उनले बताए । कालोपत्रे नभएसम्म यो सडकमा सुरक्षित यात्रा गर्न समेत नसकिने स्थानीयले बताए । ‘साँघुरो र चिप्लो भएकोले कालोपत्रे नभएसम्म नियमित सवारी संचालन कठिन छ’ स्थानीय गोविन्द घर्तीले भने, ‘तुसारो पर्नाले हिउँदमा पनि जोखिम यात्रा गर्नुपर्छ ।’ गाउँपालिकाले अरु सबै काम आफ्नै पहलमा गर्न सक्ने आँट भएपनि सडकका लागि ठूलो लगानी गर्न नसकेको हो । बिरामी पर्दा समयमा उपचारका लागि सदरमुकाम पुग्न पनि सडकले सास्ती भोग्नुपरेको ताराखोलाकी बिष्णु रोकाले बताईन् । ‘खर्च र समयले गर्दा धेरैले गाउँमै रोग पालेर बस्न बाध्य छन्’ रोकाले भनिन् ‘एकै दिनमा पुगेर फर्कन पनि नसकिने भएपछि धेरै दुःख भोग्नु पर्छ ।’ सदरमुकाम पुगेर कुनै काम भ्याउन कम्तिमा ३ दिनको फुर्सद निकाल्नु परेको उनले बताईन् ।
ग्रामीण क्षेत्रमा प्रसुती सेवाका लागि बढी सास्ती पर्ने उनले बताए । ‘रुखबाट लडेर घाईते भएका एक बिरामीलाई हामीले एउटा जिपमा १० हजार रुपैयाँ तिरेर पठाउन बाध्य भयौं’ स्थानीय मनबहादुर बिकले भने, ‘सामान्य नागरिकले यतिधेरै खर्चेर कसरी उपचार पाउने ?’ उनले सडक सुधार गरेर नियमित सवारी चल्न थालेमा धेरै राहत पाईने उनले बताए । ताराखोलाबाट हरेक दिन ढुंगा, काठ, तरकारी, दूध र अन्य खाद्यान्न समेत सदरमुकाम तर्फ बिक्रि गरिन्छ । तर सडकको समस्याले समयमा पु¥याउन नसकेको समेत किसानले गुनासो गरे । अमरभूमी र अर्गलमा स्थानीय तथा लिमे र पाराकोटे जातका भैसी पालेर किसानले दूध उत्पादन गरिरहेका छन् । ‘सडक राम्रो नभएकोले समयमा दूध पु¥याउन नसक्दा फाट्ने गरेको छ’ अर्गलका तोपबहादुर रोकाले भने, ‘सडक राम्रो नभएसम्म धेरै किसानले विक्रि गर्न डराएका छन् ।’ फाटेको दूधबाट धेरै नोक्सानी व्यहोर्नु परेको उनले बताए । सडकैकारण स्थानियले अन्य पेशामा दुख पाएका छन् ।
Previous Article२०७४ चैत १३ गते मंगलबारको राशिफल
Next Article क्रिकेटको उपाधि आयोजक बागलुङलाई