पोखरा, १७ असोज- पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट वागलुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको रात्री बस याम्दी पुल भन्दा करीब ५० मिटर माथि दुर्घटनामा भएको स्थानीय सोम भण्डारीले जानकारी दिएका छन् ।
एकै दिशा वागलुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई विहान ५ बजेर ४० मिनेटमा पल्टिएको स्थानीयबासीले जानकारी दिएका छन् । तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भएको प्रहरीको भनाइ छ ।
बस पल्टिएलगत्तैसँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको बताइएको छ ।दुर्घटनामा दुर्इ वर्षे एक बालककाे मृत्यु भएकाे कास्की प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । बस सडकबाट करीब १० मिटर तल खसेको छ भने बस कुच्चिएको अवस्थामा छ ।