पर्वत, ९ चैत-युवाहरु चोरीका घटनामा श्रुङ्गलाबद्ध रुपमा लाग्ने गरेको घटना नौलो होइन तर पर्वतका एकजना ११ बर्षे बालक नै ठुलादेखि साना चोरीका घटनामा संलग्नता देखिएको छ । पर्वत जिल्लामा बिगत केही महिनादेखि बिभिन्न स्थानमा भएका चोरीका घटनामा ११ बर्षिय बालक कै संलग्नता पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार, ११ बर्षिय जीवन दमै (नाम परिर्वतन) नै बिभिन्न मितिमा भएका चोरीमा संलग्न भएको देखिएको छ ।
कुस्माको मेलमिलाप चोकमा जीपमा राखेको नगद चोरी गरेर भाग्दै गरेका अबस्थामा उनी पक्राउ परेपछि यसअघि पर्वत, बागलुङ र म्याग्दीमा भएका धेरै चोरीका घटनामा आफुँ संलग्न भएको उनले स्वीकार गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ४ बस्ने २२ बर्षिय हिरा पुनले सोमबार कुस्मा बजारमा रहेको प्रभु बैंकबाट झिकेर जीपमा राखेको ९० हजार रुपैयाँ नगदसहितको झोला चोरी गरेर भाग्दै गर्दा ती बालकलाई प्रहरीले पक्रेको थियो ।
बैंकबाट रकम झिकेर ग१ज ६६१५ नम्वरको जिपमा कुश्मा बजारको मेलमिलाप चोकमा राख्ने बेलासम्म पिछा गर्दै गएका ती बालकले कोही नभएको मौका छोपी गाडीबाट नगदसहितको झोला चोरी गरेर भागेका थिए । यसअघि माघ ७ गते राती जलजला गाउँपालिका वडा न.३ वारिबेनी बजारबाट भएको १ लाख २० हजार नगद, मोबाईल चोरीको घटनामा पनि ती बालक नै संलग्न थिए । चोरीमा संलग्न भएका ती नाबालकलाई अभिभावकको रोहवरमा अब आईन्दा यस्ता क्रियाकलाप नगर्न सम्झाएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यस क्षेत्रमा पटक–पटक भएका चोरीका घटनामा ब्यबसायिक रुपमा नै एक जना बालक संलग्न भएको अनुसन्धानबाट खुल्न आएको हुँदा यस्ता घटनाहरु अबका दिनहरुमा समेत घट्न भएकाले जिल्ला प्रहरी कार्यालयले सचेत हुन सबै नागरिकलाई अनुरोध पनि गरेको छ । ‘यस क्षेत्रमा भएका साना तथा ठुला चोरीका घटनामा एघार बर्षका उनै बालक संलग्न भएको देखिएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक थापाले भने ‘बालबालिका नै श्रृङ्गखलाबद्ध चोरीका घटनामा संलग्न भएको देखिएकाले सबै सचेत हुन जरुरी छ ।’
Previous Articleविद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य
Next Article अब घटना दर्ता अनलाइनमार्फत