बागलुङ, ८ चैत– टिकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई उन्मुक्ति नदिन बागलुङका संस्थाहरुले माग गरेका छन् । सत्कर्म नेपाल, महिला मानवअधिकार रक्षक संजाल र द्वन्द्वपिडित अधिकार समाजले संयुक्त विज्ञप्ती प्रकाशित गरेर कारवाहीको माग गरेको हो । लोकतन्त्रको रक्षा गर्ने आधारभूत दायित्व न्यायालयको भएकोले न्यायपालिकको सर्वोच्चतालाई कायम गर्दै संसदको गरिमामा समेत आँच आउन नदिनका लागि आत्मसमर्पण गरेर न्यायिक हिरासतमा रहेकालाई कानून अनुसार निर्णय दिनुको साटो उम्मुक्ति दिन खोजिनुले कानूनी शासनको खिल्ली उडाएको भन्दै कानूनी कारवाहीकै बाटो खोज्न आग्रह गरेको हो ।
२०७२ को भदौं ७ गते भएका थारुहट आन्दोलनको क्रममा मारिएका प्रहरी बरिष्ठ उपरिक्षक सहितको टोलीको हत्यामा संलग्न भएको आरोप लागेका चौधरी फरार थिए । फरार अवस्थामै उनी चुनाव लडेका थिए । गत फागुन १४गते अदालतमा पुगेर आत्मसमर्पण गरेका चौधरीलाई छुटाउन सरकारले प्रयास गरेको भन्ने सूचना आएपछि उक्त संस्थाले बिरोध गरेको हो । विज्ञप्तीमा सत्कर्मका तर्फबाट अध्यक्ष सिताराम थापा, समाजका तर्फबाट हरि शर्मा र रक्षकको तर्फबाट ज्ञानु थापाले हस्ताक्षर गरेका छन् ।
Previous Articleबागलुङमा भेटिएका बेवारिसे युवाको उद्वार
Next Article ८ चैत २०७४, ढोरपाटन दैनिक