दिल निशानी मगर
उमेर पुगेको हिँडडुल गर्न नसक्ने, गालाहरु चाउरी परेको, आँखाको नानिले आफ्नै लुगाफाटो देख्न नसक्ने, आफै खान नसक्ने, आफ्ना मनका कुराहरु राम्रोसँग प्रस्तुत गर्न नसक्ने बुढी बज्यैलाई बाटोमा देख्दा ‘बोक्सी बज्यै’ आईन् भनेर स्कूले केटाकेटीहरु भाग्दा गणित पढाउने मास्टर पनि आफ्ना विद्यार्थीहरुसँगै भागेको देखेको थिए । विद्यार्थीलाई सम्झाई बुझाई गर्नुपर्ने मास्टर आफैं भागेको त्यो हाँस्यास्पद् दृष्य अझै पनि सम्झिन्छु । ती कथित बोक्सी बज्यैलाई जो कोहीले पनि नजिकबाट हेर्न चाहदैनथ्यो । उनको परिवारमा रहेका मुर्ख छोरा बुहारीको त कुरै छाडौं पढेलेखेका नातिनातिनाहरु समेत आफ्नो बज्यै बोक्सी नै हुन् भन्ने सम्झन्थे । बज्यैको खानपान, स्वास्थ्य र सरसफाईमा ध्यान दिने कोहि थिएनन् । बज्यैका श्रीमान ४० वर्ष पहिले नुन बोक्न भोट गएका थिए, फर्केर आएनन् । आफ्ना श्रीमान् फर्केर नआए पनि काखको छोरालाई बज्यैले नौनि घ्यूमा डुबाएरै लक्का जवान बनाइन् ।
गाँउका उप्रेत बाजेका अनुसार, जवानीमा यी बज्यै मस्त थिइन् । उनको सुन्दरताको चर्चा पुरै गाउँमा चलेको थियो । उनको लामो कपालको महिमा पल्लो गाउँसम्म चलेको थियो । लामो कपाल हेर्नको लागि पाहुना बनेर धेरै आए । गोठालाहरु उनकै घरको बाटो भएर जंगल हिँड्थे । त्यतिखेर उनको बोलाउने नाम बोक्सी बज्यै थिएन । सबैले सरला भाउजु भन्थे । उनको नागरिताको नाम ‘चन्द्रवती’ थियो । चन्द्रवती भाउजुको उमेर ढल्किँदै गयो । उनका दौतरीहरु सबै बित्दै गए । चन्द्रवती अब बिस्तारै बोक्सी बज्यै बन्दै गइन् । नुन बोक्न भोट गएर कहिल्यै नफर्केका श्रीमानको सम्झनामा बज्यैले भिरपाखामा चौतारो चिन्न थालिन् ।
एक्लै, एक्लै गीत गाउन थालिन् । रातमा चिच्चाउने, कराउने गर्न थालिन् । बज्यैमा देखिएको तिनै मानसिक असंन्तुलन स्वभाविक सम्झानहरुबाट पो निर्मित थिए । तर आफ्नै छोराले बोक्सी घोषणा गरिदिए । आजभोलि देशमा जहाँ, जहाँ बोक्सीका नाममा अमानवीय घटना घट्छन्, अखबार भरिन्छन् । म तिनै बोक्सी बज्यैको खुब याद गर्छु । बोक्सी बज्यैलाई देख्दा भाग्ने बटुवाहरुको अनुहार ससर्ती स्मरणमा आईहाल्छ । हिजोको अवस्था कस्तो थियो भने गाउँ नै उल्टिएर रातलाई दिन भन्यो भने त्यो दिन नै हुन्थ्यो । ठालूहरुको राज थियो । अनौपचारिक किताबहरुको अध्ययनले म भित्र भौतिकवादी दर्शनको शिक्षाले हस्तक्षेप गरेपनि बोक्सी बज्यैका पक्षमा बोल्ने हिम्मत थिएन । यो त पुरानो जमनाको कुरा थियो ।
मुलुकमा धेरै परिवर्तन भयो भनिन्छ । राजनीतिक रुपमा, सांस्कृतिक रुपमा, आर्थिक रुपमा साथै वैचारिक चेतना स्तरको रुपमा निकै परिवर्तन आयो भनिन्छ । वास्तबमा यो कुरा सत्य पनि हो कि मानिसहरुको सोच्ने र चिन्तन गर्ने क्षमतामा धेरै प्रगति भएको छ । सन्तोषजन छ यो कुरा । तर पनि समाजमा केहि कुरुपताहरु अझै पनि बाँकी छन्, ति बेला मौकामा दिल दुखाउने गरेर उपस्थित हुन्छन् । हामीले यी उपस्थतिहरुको प्रतिकार गर्नैपर्छ । केहि दिन अगाडि संसारभरिका महिलाहरुले १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका थिए । नेपाली महिलाहरु पनि के कम ? सडक किनारमा हिन्दी क्यासेट बजाएर नाँचिरहेका थिए । पाँच तारे होटलहरुको दिवा भोजका, जलपानका निमन्त्रणाहरु थिए । महिला अधिकारकर्मीहरुको चर्को भाषण थियो । हार्ड र सफ्ट ड्रिङ्क त त्यसै पनि हुने भयो । महिलामाथि हुने विभेद र हिंसा रोक्नुपर्ने गगनभेदी नाराका महिमाहरु मञ्चन गरियो ।
यसै दिन १८ औं शताव्दीको जस्तो देखिने एउटा यस्तो भिडियो बाहिर आयो । कैलाली जिल्लाको कुरा हो यो । घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया भन्ने गाउँमा फेरि अर्को बोक्सी बज्यैको सम्झना आउने गरि घटना घट्यो । निर्दोष राधा चौधरी, जस्ले बोक्सीको आरोपमा घण्टौसम्म कथित भोलेबाबा र पार्वती माताको कुटाई सहनुपर्यो । सिङ्गो गाँउ नै रमिते बनेर हेरिरह्यो । घोडाघोडी नगरपालिका मेयर समेत राधाको पक्षामा देखिएनन् । बोक्सी बज्यैलाई देख्दा आफ्ना विद्यार्थीसँगै भाग्ने गणितका शिक्षक जस्तै यी मेयर पनि पढेलेखेका रहेछन् । अंग्रेजी विषयमा डिग्री गरेका यी मेयरले बोक्सीको परिभाषा फेरेका छन् । यिनले गाँउको जनताहरुलाई सम्झाउनु पर्ने ठाउँमा उल्टै गैरजिम्मेवार भएर प्रस्तुत भए, उ बेलाका गणित शिक्षक जस्तै । शक्तिको चरम दुरुपयोग गरेर कथित भोलेबाबा र पार्वती मातासँग राधाको मिलापत्र गराउने यिनको हैसियत के हो ? खैर खुट्टामा गोली लागेर अस्पतालमा जीवनमरणको दोसाँधमा रहेका दुःखी मेयरको बारेमा धेरै आलोचना नगरौं ।
राधालाई बोक्सीको आरोपमा कुटपिट गरिएको र सिङ्गो गाउँ रमिते बनेर हेरिरहेको भिडियो मिडियामा आएपछि निकै पीडा भयो । रिस उठ्यो । सामाजिक संजालमा एकाएक यो विषयले चर्चा पायो । चारैतिर रमिते गाउँले जसमा युवायुवतीहरु पनि देखिन्छन्, जुन उमेर समुहलाई अलिक सचेत र जागरण पैदा हुने उमेर समुहको रुपमा मानिन्छ । तर आँगनमा रोइकराई गरिरहेकी राधाको बिलौलामा साथ दिने या त्यो ज्यादतीविरुद्ध बिद्रोह गर्ने कोही देखिएन । धिक्कार छ, तिनीहरुलाई जसले राधाको बिलौना सुनेनन् । बरु पर्व र उत्सवको रुपमा मानव आतंक सहिरहे । के पशु नै हुन् ति ? हुन त रमिता ति गाँउलेहरुले मात्र हेरिरहेका छैनन् । सिङ्गो महिला अधिकारकर्मीहरुले अहिलेसम्म रमिता हेरेर बसेका छन् । यो स्टोरी लेख्दै गर्दाको मितिसम्म यिनिहरुको संगठनबाट कुनैपनि किसिमको धारणा निस्केको छैन । माइतिघर मण्डलामा प्ले कार्ड बोकेर उभिएका छैनन् । सायद नारी दिवसको थाकनले निद्रा मै हुनुपर्छ ।
घण्टौसम्म राधाको शरीर लुछिए । कपालहरु तानिए । राधाको कुनैपनि अङ्ग बाँकी रहेन जहाँ दुखाई सहन बाँकी रहोस् । मुखले मन्त्र जपे जस्तो वा के–के अद्भुत कर्मकाण्ड जस्तो नाटक गरेर राधामाथि कथित पार्वती माता र भोलेबाबाले निरन्तर कुटपिट गरिरहे । कक्षा ११ की विद्यार्थी राधामाथि २६ वर्षीय भोलेबाबा र उनकी सहयोगी पार्वतीमाता चौधरीबाट भौतिक हलमा भईरह्यो । भोले बाबाहरुले बोक्सी भगाउन ६ घन्टासम्म दिएको पाशविक यातनाले अन्ततः राधा बेहोस भईन् । अस्पतालको शैयाबाट बिभिन्न मिडियाहरुलाई राधाले भनेकी छिन्, ‘मलाई किन सबैले चिच्याएर बोक्सी भन्दै लछापछार गरेर लिँदैछन् भन्ने मैले ठम्याउनै सकिन, मेरो केही गल्ती छैन ? के गल्ती गरेँ र ? नमार्नुस् भनेर दस औंला जोडेर बिन्ती गरेँ तर न भोलेबाबा न पार्वती माता अथवा अरूले कसैले पनि मेरो पुकार सुनेनन् । सबैले रमिता हेरेर बसिरहे । म एक्लैले केहि गर्न पनि सकिन, अनि बेहोस हुन पुगेछु । बाँच्छु जस्तो लागेको थिएन ।’
राधा बेहोस भएपछि डरका कारण केही व्यक्तिहरुले राधाको उद्धार गरेका थिए । र उनीहरुले पार्वती माता र भोलेबाबाको कर्तुतबारे बताउँदै प्रहरीसँग कारबाहीको माग गरे । तर प्रहरीसामु भोलेबाबाले उल्टै आफूलाई भगवान् भन्दै पुनः राधामाथि जाइलागे । प्रहरी पनि मूकदर्शक बनिरहे । उल्टै प्रहरीले रामबहादुरलाई ‘भोलेबाबा’ भन्दै खुट्टामा ढोग्न पुगे । दुखको कुरा यो छ कि राधालाई कुटपिट गर्ने आरोपीहरु घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया लगायतको रोहवरमा तत्कालै रिहा गरियो । रिहा पश्चात मिडिया र समाजिक संजालमा दाबाब बढ्यो । मेयरले लफङ्गा किसिमको टिप्पणी गरिरहे । शुक्रवार किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गर्यो । सुरुमा राधाकी आमा फूलकेसरीले भोलेबाबा र पार्वती माताविरुद्ध सुखड प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा प्रहरीले नै इन्कार गर्यो । प्रहरी, गाउँले कसैले पनि सहयोग गरेनन् । भोलेबाबा भने अहिले पनि आफूलाई ‘भगवान’को अवतार भएको धाक लगाइरहे ।
यो कहालीलाग्दो घटनामा सम्पूर्ण गाँउलेहरु रमिते बन्नु त स्वभाविक थियो । किनभने तिनिहरुका लागि भोलेबाबा सबथोक थिए । शिक्षाको हिसाबले पिछौटे र चेतनाविहीन समाज पक्कै पनि भोले बाबाहरु कै पकडमा हुन्छ । यो कुनै आश्चर्यको कुरा भएन । त्यो देशमा भोलेबाबाहरुको राज चलिरहन्छ जुन देशको शासकलले सिंहदरबार पस्दा कालो बोका काट्छ । जस्तो नेता र नीति हुन्छ फल, पनि त्यस्तै प्राप्त हुने न हो । त्यहाँका मेयर संवेदनाहीन बनेर प्रस्तुत हुनुको कारण पनि यहि हो । त्यहाँका पुलिसहरुले भोलेबाबाको खुट्टा ढोकेको सुन्नमा आएको छ । यो झुटो हो वा सत्य समयक्रमसँगै बाहिर आउला । तर प्रहरीका हाकिमहरुले नै अदृश्य शक्ति आर्जन गर्ने नाममा भारतका र स्वदेशका नाम कहलिएका सन्त जोगिहरुको पाउमा शिर झुकाउने गर्छन् । यस्तै एकजना माता छिन्, नाम याद भएन । तिनले धेरै पटक राज संस्था फर्कने घोषणा गरेकि छिन् । पूर्व राजा ज्ञानेन्द्र बेलाबेलामा ति मातालाई भेट्न पुग्छन् । र मोटो भेटी चढाउने गर्छन् ।
हुन त यो देशमा राजा माहाराजाहरुले पनि दैवी शक्तिलाई मान्दै आईरहेका थिए । हामी नेपालीहरुको वैचारिक लिगेसी यो वा त्यो बाहनामा दैव्य शक्ति नै हो । विकास निर्माणका कुराहरु भन्दा यो देशमा शक्तिपिठहरु धेरै हुनका पछाडि यिनै मान्यताहरुले काम गरेको हो । सामाजमा बोक्सी प्रथा अझै किन बढिरहेको छ ? किनभने समाजमा भूत पिचास, देत्व र देवीको अस्तित्व कडा हिसाबमा कायम देखिन्छ । बलिप्रथा, पुजाआजा, दान दक्षिणाको मान्यता कहिँ न कहिँ यिनै तत्वसँग जडिएको छ । तर हामी यस्तो रुढिवादी पुलिन्दालाई मान्नु हुँदैन । भाग्यवादको लिगेसीले मुलुकको अवस्था आज विश्व मै दयनीय देखिन्छ । घोडाघोडीको घटना पनि यिनै रुढिवादीको लोगेसी मात्र हो । अब हामीले यो घटनाको विरोधका लागि बिरोध मात्रै गर्ने कि, कानूनी राज्यलाई चुनौती दिने यस्ता ढोंगी बाबाहरुको, माताहरुको पर्दाफास गरेर, हदै सम्मको कारबाही गरेर समाजलाई एक समुन्नतको दिशामा अगाडि बढाउने भन्ने हो । रुढिवादलाई निर्मुल गर्न हाम्रा अगाडि चुनौतिहरु छन्, तर सकिन्छ ।
जस्तो कि घोडाघोडीको त्यो घटना वा राधामाथि गरिएको अमानवीय प्रयास एक किसिमको हत्याको प्रयास नै यो । राधा बेहोस भएका कारणले यो सार्वजानिक मुद्दा हुने, तर मरेको भए ज्यान मुद्दा हुने भन्ने हैन । सार्वजानिक स्थानमा शरीरका संवेदनशिल अंगहरुमा भौतिक हमला गर्ने भोलेबाबा र पार्वती माताको नियतलाई बोक्सी भगाउने भनेर मात्रै बुझ्न हुँदैन । विगतलाई हेर्यो भने बोक्सी भगाउने प्रयास गर्दा कैयौ निर्दोषहरुको ज्यान गएको छ । फेरि बोक्सी भगाउने कुरालाई कानूनको कुन धाराले मान्यता प्रदान दिन्छ ? भौतिक हमलाको पक्षलाई केवल बोक्सी भगाउनेसँग जोडेर नियाल्नु हुँदैन । त्यो राधा माथिको हत्या प्रयास नै थियो । राधामाथि जसरी बेहोस हुने गरि आक्रमण भयो, त्यो गर्ने हत्या प्रयास थियो । कथित भोलेबाबा र पार्वतीमाता सँगको मिलापत्रले यो प्रकणलाई सामसुम पर्नु हुँदैन । कानूनलाई हातमा लिने त्यो मेयरलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ । अब भन्नुहोस् त उनीहरुविरुद्ध ज्यान मुद्दा किन नचलाउने ?
Previous Articleबागलुङका आचार्य र ढकाल नेपाल म्युजिक अवार्डको टप ५ मा
Next Article आगलागीबाट बच्न पुर्व तयारी