बागलुङ, ७ चैत– यो बर्षको एसईई परीक्षा बिहिवारदेखि शुरु हुने भएको छ । यो परीक्षालाई म¥र्यादित र व्यवस्थित बनाउनका लागि जिल्ला शिक्षा, माध्यामिक शिक्षा परीक्षा समिति र जिल्लाका सरोकारवालाले अन्तिम तयारी गरेका छन् । जिल्ला शिक्षा कार्यालयले पत्रकार सम्मेलन गरेर परीक्षाको अन्तिम तयारी भैसकेको मंगलबार जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बागलुङका ५४ सय १३ परीक्षार्थीले भाग लिने बताएका थिए । उनका अनुसार परीक्षा दिने छात्रा २ हजार ३ सय ९३ र छात्र १ हजार ९ सय ५० जना छन् । केही बर्षदेखि होम सेन्टर हटाइएकोमा यो बर्ष पनि निरन्तरता दिइएको छ । जिल्लामा ३१ वटा परीक्षा केन्द्रमा ३१ जना केन्द्राध्यक्ष, ३३ जना सहायक केन्द्राध्यक्ष, २ सय ३८ जना निरिक्षक र १ सय २३ सहयोगी कर्मचारी तथा ४ सय ६५ जना सुरक्षाकर्मी समेत खटाइसकिएको छ । नियमित परिक्षा बाहेक जिल्लाका १ सय ३८ विद्यार्थीले प्राविधिक धारबाट कम्प्युटर, कृषि, भेटेनरी र सिभिल ईन्जिनियरिङको परीक्षा दिनेछन् ।
परीक्षालाई म¥र्यादित बनाउनका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३५ बुँदे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवस्यक कारवाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महिना सम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गराउन सकिने चेतावनी पनि दिएको छ । परीक्षालाई मर्यादित बनाउनका लागि कुनैपनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ । नारायणस्थानस्थित जनता–धन माविका एक जना दृष्टिविहिन विद्यार्थीलाई भने आफ्नै केन्द्रमा बसेर परीक्षा दिने व्यवस्था गरिएको हो ।
सदरमुकामको बिद्यामन्दिर माविमा बहिरा, खुला विद्यालय, नियमित र पुरानो शिक्षाका एक्जेम्टेट गरी ४ सय ५ विद्यार्थीले परीक्षा दिनेछन् । जिल्लामै सबै भन्दा धेरै परीक्षार्थी भएको केन्द्र पनि विद्यामन्दिर मावि नै हुनेछ । सबैभन्दा थोरै ४६ जना विद्यार्थी तंग्रामस्थित धारा मावि परीक्षा केन्द्रमा हुनेछन् । जिल्ला शिक्षाले परीक्षालाई मर्यादित बनाउनका लागि सरोकारवालासँग छलफल गरेर सबै केन्द्रका लागि आवस्यक सामाग्री समेत पठाइसकेको छ । परीक्षा नियमितहरुको १७ गते र प्राविधिक विषयका विद्यार्थीको २० गते सम्म चल्नेछ ।
एसईई परीक्षाको अन्तिम तयारी बागलुङका ५४ सय १३ परीक्षार्थीले भाग लिने
Previous Articleकारागारको आम्दानी घर पठाउँछन् बन्दी
Next Article चैत्राष्टमी मेलाको तयारी अन्तिम चरणमा– आयोजक