गत सोमबार बलेवा बिमानस्थलमा तारा एयरले परिक्षण उडान गरेपछि बागलुङको माहोल एकाएक तातेको छ । आगामी चैतको ९ गतेबाट सञ्चालन हुने नियमित उडान प्रयोगको बिषयलाई लिएर आम सर्वसाधारणले सामाजिक सञ्जालको प्रयोगमार्फत कतै बधाई त कतै असन्तुष्टि जनाई रहेका छन्भने यहाँका स्थानिय तहदेखी पुर्वसांसद र वर्तमान सांसदहरुले जहाज बिमानस्थल सञ्चालनमा ल्याउनुमा आफ्नो पहलकदमी सफल भएको गुनगान गाईरहेका छन् । जहाजको टिकटका बिषयमा सामाजिक सञ्जालमा आएका अभिब्यक्ति हेर्दा सर्वसाधारण आशाभन्दा निरास धेरै भएका छन् । जहाज चल्दा यहाँको आर्थिक विकासको ढोका खुल्ने आशामा रहेका सर्वसाधारण बलेवा–काठमाण्डौ यात्रा गर्दा तिर्नुपर्ने भाडाको बिषयलाई लिएर चरम असन्तुष्टि जनाईरहेका छन् । बागलुङदेखी काठमाण्डौ जाँदा ७ सय रुपैयाँ बस भाडा तिर्न आनाकानी गरेर बुढेसकालमा समेत बिद्यार्थी छुटको सुबिधा लिन परिचय पत्र बनाउने यहाँका सर्वसाधारणलाई एकतर्फी यात्राको जहाज भाडा ६ हजारभन्दा माथि भन्दा आश्चर्यमा पर्नु स्वभाविक कुरा हो । तर सर्वसाधारणमा चुलिएको चरम असन्तुष्टिले नगरपालिकाले लिएको बित्तिय जोखिम बहनको सम्झौतालाई आर्थिक भार पर्ने निश्चित छ ।
अर्कोतर्फ साना–तिना कार्यक्रममा भाषण गर्दादेखी सामाजिक सञ्जाल र आम सर्वसाधारणलाई भेट्दासम्म आँफुले बिमानस्थल सञ्चालन गर्न पहल गरेको भन्दै नेताहरुले बजाएको डम्फुको आवाज सुनी नसक्नु छ । २६ बर्षदेखी बन्द अवस्थामा रहेको बिमानस्थल हप्तामा दुई उडान गर्ने गरी बागलुङ नगरपालिका, नागरिक उड्यन प्राधिकारण र एयरलायन्स कम्पनीका बिच सहमति भएपछि सञ्चालनमा आउन लागेको हो । एयरलायन्स कम्पनीहरुले जहाज सञ्चालनमा ल्याउँदा यात्रु नभएको खण्डमा हुने घाटा पुर्तिको ग्यारेण्टी कोही कसैले गरेमा मात्रै नियमित उडान गर्ने जनाएपछि बित्तिय जोखिम उठाएर बागलुङ नगरपालिकाले जहाज सञ्चालनका लागि पहल गरेको कुरा सर्वसाधारणमा सर्वबिधितै कुरा हो । पार्टि तथा संगठनको तर्फबाट नेता बनेकाहरुको काम भनेकै समाज सेवा गर्नु हो । समाजसेवामा लाग्ने अभिप्रयाले नेता बनेको भाषण ठोक्नेहरुले सर्वसाधारणको हितको लागि भनेर गरेको कामको जस लिन गरेको होडबाजी लाजमर्दो अवस्थामा छ ।
पुर्वसांसद, वर्तमान सांसद, दलका स्थानिय तथा केन्द्रिय नेताहरु सबैले आ–आफ्नो तर्फबाट पहल गरेका होलान तर बित्तिय जोखिम बहन गरेर जहाज नियमित सञ्चालनमा ल्याउने काममा नगरपालिका र त्यहाँका जनप्रतिनिधिले खेलेको भुमिकाका बिषयमा आम सर्वसाधारण जानकार छन् । सर्वसाधारणमा रहेको असन्तुष्टि हटाएर यात्रुको ज्ञारेण्टी गरेको नगरपालिकालाई सहज बनाउनुपर्ने एउटा चुनौती छँदैछ । नेतृत्व तहमा जस लिने होडबाजी चलाएर अर्को चुनौती थप्ने काम तत्काल बन्द हुनुपर्छ । जबसम्म सर्वसाधारणमा रहेको शंका र असन्तुष्टि कम भएर बिमानस्थल र बिमानको उचित प्रयोग गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । अर्कोतर्फ भाडाका बिषयमा पनि सरोकारवालाबीच छलफल गरेर सर्वसाधारणको आर्थिक क्षमता र एयरलायन्स कम्पनीको आवश्यकताका आधारमा बैज्ञानिक भाडा कायम हुनु आवश्यक छ । बिमानस्थल सञ्चालन हुनु जिल्लाको आर्थिक विकासका लागि सकारात्मक पक्ष हो । यसको दिगो सञ्चालनका लागि आवश्यक सबै सबैखाले पुर्वाधारको निर्माण र स्तरोन्नती तथा जनगुनासोको सम्बोधन गर्न आवश्यक छ ।