बागलुङ, ६ चैत– कालिका भगवती दर्शनका लागि आउने भक्तालुले अब बन्यजन्तुको चर्तिकला समेत देख्न पाउने भएका छन् । कालिका भगवती मन्दिर परिसरमा चिडियाखाना सञ्चालनमा आउने भएपछि भक्तालुलाई यस्तो अबसर जुर्ने भएको हो । पश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर परिसरमा बन्यजन्तु पार्क (मिनी जु) निर्माणको काम सुरु गरिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले पाँच वर्षीय कार्ययोजना अन्र्तगत बन्यजन्तु पार्क निर्माणको कामलाई अगाडि बढाएको हो । पहिलो चरणमा बागलुङ कालिका भगवती मन्दिर परिसरमा जंगली मृग राखेर पार्क निर्माणको कामलाई अगाडि बढाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
(मिनी जु) निर्माणका लागि पहिलो वर्ष बागलुङ नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाले विनियोजन गरेको रकम मन्दिर परिसर भित्र रहेको जंगललाई तारवार लगाउने काममा खर्च गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अधयक्ष राजु खड्काले जानकारी दिए । बागलुङ बजार नजिकै रहेको कालिका भगवती मन्दिर परिसरमा निर्माण सुरु गरिएको बन्यजन्तु संरक्षण पार्कमा चितुवा, मृग, कालिज, मयुर, चित्रा लगायत स्थानीय जंगलमा पाइने पशुपंक्षीको संरक्षण गरी राख्ने योजना बनाएको छ । संरक्षण पार्क निर्माणको सुरुको चरणमा एउटा मृग ल्याएर राखिएको खड्काले जानकारी दिए ।
नेपाली सेनाको २३ नं. बाहिनी अड्डामा आएको मृगलाई नेपाली सेनाको सहयोगमा संरक्षण पार्कमा ल्याएर राखिएको खड्काले बताए । पहिलो वर्ष संरक्षण पार्कभित्र मृग, कालिज र मयुरका लागि उपयुक्त बासस्थान तयार भइसकेकाले केही दिनभित्रै चितवनबाट मयुर ल्याएर राख्ने तयारी गरिएको खड्काले बताए । बन्यजन्तु संरक्षण पार्क निर्माणका लागि राष्ट्रिय निकुञ्ज विभागका पुर्व उपमहानिर्देशक शेरसिँह ठगुन्ना नेतृत्वको टोलीले गरेको सम्भाव्यता अध्ययन अनुसार उक्त बन संरक्षण पार्क बनाउन उत्तम भएको निष्कर्ष निकालेको थियो । बागलुङ बजारदेखि करिब तीन किलोमिटर टाढा घना जंगलका बीचमा कालिका भगवती मन्दिर रहेको छ । दुवैतर्फ खोच र घना जंगलमा भएका कारण उक्त क्षेत्रमा चितुवा लगायत विभिन्न बन्यजन्तु तथा चराचुरुङ्गीहरु भेटिने गरेका थिए ।
कालिका मन्दिर परिसर लगायत आसपासमा सामुदायिक वन समेत भएकाले बन्यजन्तु संरक्षण पार्क निर्माणका लागि पर्याप्त सम्भावना भएको स्थानीयबासी तथा बागलुङ नगरकार्यपालिकाका सदस्य लक्ष्मी बोहराले बताइन् । आक्रमण गर्ने खालका हिंस्रक जनावरलाई तारवारभित्र राखी अन्य जनावर तथा पंक्षीहरुलाई खुल्ला रुपमा छाडेर संरक्षण गर्ने गरी योजना अगाडि बढाइएको जनाइएको छ ।
प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा मिनी चिडियाखाना
Previous Articleबागलुङ नगरपालिका वडा नं ५ को कार्यालयमा चोरी
Next Article २०७४ चैत ६ गते मंगलबारको राशिफल