कृष्ण प्रसाद शर्मा
चाहे गाउँमा होस्, चाहे शहरमा आजकाल भाषण दिँदा भनिन्छ महिलालाई हाम्रो समर्थन चाहिन्छ । अघि बढ्न हाम्रो बल चाहिन्छ । यो भाषणका कुरा भए । भन्न त कहानी त बनाएकै छन् प्रत्येक सफल पुरुषका पछाडी एउटी नारीको हात हुन्छ भनेर । तर यो कति सफल पुरुषले व्यक्त गर्छन थाहा छैन । हुन त “अनहर्ड मेलोडी आर स्विट देन हडकक मेलोडी’’ पनि भनिन्छ । नसुनाए पनि सुनाएभन्दा बढी माया दिए भैगो । पाँचतारेमा हुने महिला सम्बन्धी गरिने कार्यक्रममा धेरैले मदर टेरेसा, एङगेला मर्केलदेखी टेरेसा मेको उदाहरण दिन्छन् तर आफ्नै देशमा कति प्रभावकारी परिजात, तारादेवीदेखी पासाङ लामा शेर्पाका जस्ता हिम्मतिला महिलाहरू छन् त्यो छुटाएका हुन्छौं बोल्ने बेला । मेरो आशय माथी लिईएका नाम नलिउँ भन्ने होईन फेरी । हुन त लक्ष्मीप्रसाद देवकोटाले भनेझै उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्ने जस्तै ठुलैको नाम लिएर ठुलो हुन खोज्नु केही नराम्रो होईन ।
एउटा लेखमा लेखक निशा राईले आँटका कथा कसले लेख्ने भनेर लेख्नु भएको थियो । रक्सी खाएको फोटो आँट भित्र परेको कारण देखाएर पोष्ट गर्ने गरेको भन्ने पनि थियो । मेरो सोचाईमा त यो रक्सीको गिलास भन्दा अझै आँट जसलाई कुनै बेला सोच्दा सोच्नेलाई पनि सजाय हुन्छ की भन्ने डर भएका कथा अहिले हिमाल, पहाड र तराई जताततै छन् तर यसको उजार भने भएको छैन । बाँसका घारीमा झाँपो झार्दै गरेकी पहाडकी साईली दमिनीको आँट शहरमा क्याट वाकमा हिड्ने कान्छीको भन्दा कम हिम्मतिलो छैनन् नी । भारतको गल्ली गल्लीमा सिठ्ठी फुकेर चौकीदार गरेका गाउँका दाईहरूको कथा भन्दा बागलुङ ढोरपाटनमा चौकीनी काम गरेका चौकीनीका कथा कम हिम्मतिला छैनन । हरेक दिन हुने बलात्कारका घटनामा सकेको मलमपट्टी लगाउने र आवाज उठाएर आफ्नै छोराछोरी झै गरेर दजनौंलाई पालेकी काठमाण्डौकी मेनुका थापाका कथा कुनै मदस टेरेसाभन्दा कम छैन मात्र बुझ्न नसकेको हो ।
युवा सबै विदेश पसे गाउँमा बुढापाका मात्रै भए जसका कारण कुनै बेला मलाम जान समेत हुन्न भन्ने महिलाहरू अहिले लाश काँधमा झ्याप राखेर घाट पुर्याउने कुनै आमा समुहको हिम्मत कुनै आँटभन्दा कम छैन । गाउँ अहिले खास कसले धानेको छ । भन्ने नै होभने अहिले नेपालका गाउँ धान्ने परिवार पाल्ने हरेक घरमा तिनै हिम्मतिला आमा, दिदिबहिनी र बुहारीहरू छन् । सिराहका जंगलमा भोर्लाका पात टिपेर जीवन चलाएकी ती आमाहरू र तिनै पात टिपेर हाट बजारमा बेचेर पढ्न गएका त्यहाँ छोरीहरू कुनै अन्तरारष्ट्रिय विश्वविद्यालयले दिएको हिम्मतिलो प्रमाणपत्र भन्दा कम छैन । त्रिसुलीका किनारमा कति आमाहरू पालमुनी गिट्टी कुट्छन् तिनलाई आँटीला किन भन्ने सकेनौँ ? महिलाले गाडी चलाए अनिष्ट हुन्छ भन्ने समाजमा लक्ष्मी प्रतिष्ठान जस्तो परोपकारी संस्थामार्फत टेम्पो र टेक्सी चालक उत्पादन गर्ने ति प्रतिष्ठान विष्णु गौतमको सोचाई र अहिले काठमाण्डौमा टेम्पो गुडाउने हिम्मतिला आमाहरू कुनै फिलिमको लागी टेम्पोमा बसेको पोष्टर भन्दा कम ओजनदार छैनन् । आँटका कथा खानपानमा होईन काममै देखाएका गाँउका भित्र–भित्र छन् जसलाई निकाल्न मात्रै पर्यो । डाक्टरको पहुँच कति नै जनतामा छ र । अहिलेभन्दा बीस बर्ष पहिले गाउँमै बच्चा जन्माएका आमाहरूलाई कसले अस्पताल लग्यो र अहिले पनि सिटामोल लिन दुई दिन भन्ने समाचारका आमा पात्रहरू कसरी बाँचेका छन् । गाउँ–गाउँमा घरै बनाएका औषधीमुलोका जननी आमाहरूलाई आज पनि समाज शास्त्रमा ईथ्नो मेडिसीनका नाममा खोजी भईरहेछ । महिलाका आँटका कथा जति पनि छन् तर महिला आँटिला हुँदैनन् भन्ने भ्रमले जति आँटका काम भएका छन् त्यो लेख्ने आँटिला पुरुष समेत छैनन् । समाजले त्यसै आँटिलो भनेर नामका पछाडी झुण्डाई दिएपनि गाउँका झमककुमारीका कथा उनी आँफैले बाहिर नल्याएसम्म लेख्ने हिम्मत कसैको भएन । कुनै बेला बाहुनले हलो जोत्न हुन्न भन्ने कुसंस्कार भएको समाजमा आज महिलाले खेत जोतेका छन् यो आँट कुनै आँटभन्दा कम छ त ? घरको छानोमा चढ्न नहुने महिलाले घरका छाना भट्टभट छाईरहेको देख्दा अझै कति आँट देखाउनु पयोकक खोई । समाजले दिएको आँटको ट्याग एक्लै पुरुषले मात्रै प्रयोग गरेका छन् । महिलाले बिना ट्यागै पनि आँटिला काम गरेका छन् । मलाम जानु, खेतबारी जोत्नु, लाश बोक्नु मात्रै होईन । समाजमा कुरुतीविरुद्ध लड्ने छाउपडीका विरुद्ध लड्ने, दाईजोका विरुद्ध लड्ने, बोक्सीका विरुद्ध लड्ने हिम्मतिला नारीहरू कुना–कुनामा छन् बस समाजले बालेको लाईटले त्यो कुनामा के भईरहेको छ देखाईएको छैन । पोल मुनी हराएको उज्यालोको कथा जस्तै भएको छ । आँटका कथा जतिपनि छन् आँटीला कथा लेख्ने र देख्ने आँटी मात्रै कम भए ।