बिद्यालय तहको फलामे ढोकाका रुपमा परिचित एसईई परिक्षा २०७४ चैतको ७ गतेदेखी सुरु हुँदै छ । बिद्यार्थी जीवनको महत्वपुर्ण परिक्षाको रुपमा रहेको यस परिक्षामा यसबर्ष देशभरबाट झण्डै पाँच लाख बिद्यार्थी सहभागी हुँदै छन् । उच्च तहको शिक्षाका परिक्षाहरु तुलनात्मक रुपमा एसईई भन्दा कठिन हुने भएपनि नेपालमा यो परिक्षालाई निकै महत्वका साथ हेरिँदै आएको छ । बिद्यालय तह उक्तिर्ण गरेर उच्च शिक्षाका लागि तायार बनाउने यो परिक्षालाई बिद्यार्थी मात्रै हैन बिद्यालयहरु, अभिभावक र आमशिक्षा क्षेत्रले समेत निकै महत्व दिने गरेको पाईएको छ । अहिले पनि बिद्यालयहरुले आफ्नो मुल्याङ्कन गर्ने कडीको रुपमा यो परिक्षालाई लिँदै आएका छन् । एसईईमा आएको प्रतिशतको आधारमा अझ भनौ बिद्यार्थीहरुले ल्याएको ग्रेडका आधारमा बिद्यालयहरुले आफ्नो स्तरीकरण गर्ने र सोही परिक्षाको लागि अन्य परिक्षाहरु भन्दा धेरै मेहेनत गर्ने गरेको तथ्य हाम्रा अगाडि छन् ।
देशका निजीदेखी सरकारी सेवामा प्रवेशको लागि उच्च शिक्षा आर्जन गरेको योग्यता आवश्यकता पर्ने ठाउँमा समेत उच्च शिक्षाको प्रमाण पत्रका अलवा एसईईको प्रमाणपत्र पेश गर्नुपर्ने कतिपय बाध्यात्मक अवस्था समेत रहेका छन् । देशमा मात्रै हैन पछिल्लो समय बिदेशको श्रम बजारमा समेत नेपालको एसईई परिक्षा पास गरेको प्रमाणपत्रको खोजी हुन थालेको छ । हुनतः पछिल्लो समय सरकारले कक्षा १२ सम्मको पढाईलाई माध्यामिक तहको पढाई भनेर घोषणा गरिसकेको छ तर पनि कक्षा १० उत्तिर्ण भएपछि दिईने एसईई परिक्षाको महत्व र गरिमा उत्तिकै रहेको छ । यो परिक्षा जति व्यवहारिक जीवनमा महत्वपुर्ण छ र बनाईएको छ । त्यसका कारण यो परिक्षामा सहभागी हुने विद्यार्थीको मस्तिस्कमा दबाव सिर्जना गर्ने परिक्षाको रुपमा विकास भैरहेको छ । बिद्यालय तहमा हुने अन्य परिक्षा र उच्च शिक्षाका परिक्षाको तुलनामा यो परिक्षालाई अलि फरक र देशव्यापी चर्चा हुने परिक्षाको रुपमा बिकास गर्दा बाल मस्तिकमा असर पर्न गएको हो ।
परिक्षा सबै तहका उस्तै र उत्तिकै कठिन हुन्छन् तर हामीले चर्चा एसईईको बढी गर्दा यो परिक्षालाई फलामे ढोकाको संज्ञा दिईएको छ । परिक्षालाई मर्यादित र शान्तिपुर्ण तथा बिद्यार्थीले सिकेको कुरालाई उतार्न सक्ने बनाउनु एउटा पाटो हो तर परिक्षाका नाममा बिद्यार्थीलाई आतंकित बनाउने कामको अन्त्य हुनुपर्छ । अर्को कुरा एसईई परिक्षा बिद्यार्थीले आफुले पढेको बिद्यालयबाट नै दिने व्यवस्था मिलाईनु पर्छ । एकातर्फ फलामे ढोकाको नाम दिईएको परिक्षा र अर्कोतर्फ १० बर्ष अध्ययन गरेको बिद्यालय छोडेर परिक्षा दिन अर्को बिद्यालय जानुपर्ने बाध्यात्मक अबस्थाका कारण विद्यार्थी थप सशंकित हुन सक्छन् । नयाँ ठाउँ र नयाँ परिवेश तथा निरिक्षणका लागि बसेका निरिक्षक शिक्षकहरु समेत नयाँ हुँदा विद्यार्थीको कलिलो मानसिकताले त्यो सिकेका कुरा समेत भुल्ने वातावण बन्न सक्छ । त्यसैले एसईईलाई बिद्यार्थीको सहज सहभागितामा देशव्यापी एकैपटक हुने परिक्षाको रुपमा विकास गरौं नकि बिद्यार्थी जीवनको फलामे ढोकाको रुपमा होईन । बिद्यार्थीको मनोभावना बुझेर उनीहरुले सिकेका कुरा परिक्षण गर्ने कडीको रुपमा एसईईलाई विकास गर्न बिद्यालय, शिक्षक, अभिभावक र शिक्षा क्षेत्रका सबै निकाय एक भएर लागौं ।
Previous Articleमहिलाका आँटका कथा नै छैनन् त ?
Next Article बागलुङ नगरपालिका वडा नं ५ को कार्यालयमा चोरी