बागलुङ , ६ चैत –जिल्लाको पश्चिम ढोरपाटनमा यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् । बसमा सवार ७ जना सकुशल रहेकाछन् ।मध्यपहाडी लोकमार्ग हुँदै बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा मंगलबार बिहान दुर्घटना भएको हो ।
बस अनियन्त्रित भर्इ सडकबाट १५ मिटर तल बडिगाड खोलामा खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर बिक रहेका छन् ।
घाइते हुने अन्यमा १८ वर्षीय झकास बिक, भारत रामपुरका ३३ वर्षीय मुस्तेतार अली, सोही स्थानका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ का १५ वर्षीया चन्द्रमला बिक, २२ वर्षीय सुभाष बिक र ९ वर्षीया आशिका बिक रहेका छन । घाइतेको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । नाम थर नखुलेका एक जना भने हराइरहेको र खोजतलास जारी रहेको उनले बताए ।